गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा साढे १३ अर्ब संचिती, आय बढ्दा मुनाफा ७४% ले बृद्धि
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा अधिकांस सूचकमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको जीवन बीमा कोषको आकार सहित जगेडा र महाविपत्ती कोषको आकार बढेको देखिएको हो ।
चालु आर्थिक वर्ष पुष मसान्तसम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोषमा १३ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ संचिती रहेको छ । यो कोषको आकार १८.८५ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिसम्म कम्पनीको यस्तो कोषमा ११ अर्ब ४८ करोड रुपैयाँ संचित रहेको थियो ।
साथै यता जगेडा कोषको आकार समेत ९.२३ प्रतिशतले बृद्धि भई कोषमा ५४ करोड ७१ लाख रुपैयाँ र महाविपत्ती कोषको आकार ३४.१९ प्रतिशतले बृद्धि भई कोषमा ८ करोड ७८ लाख रुपैयाँ संचिती रहेको छ ।
यता कम्पनीको खुद बीमा शुल्क आर्जन भने गत आवको तुलनामा ११.५७ प्रतिशतले घटेको छ । यस अवधिसम्म कम्पनीले एक अर्ब ४२ करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, कम्पनीको लगानी, कर्जा तथा कमिशन वा अन्य आय भने यस अवधिसम्म उल्लेख्य बढ्न पुगेको छ । यसकारण कम्पनीको नाफामा ग्रोथ देएिको छ । समिक्षा अवधिसम्म कम्पनीको लगानी कर्जा तथा अन्य आय ३१.१० प्रतिशतले बढेर ८० करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिसम्म कम्पनीको दावी भुक्तानी ३२.९३ प्रतिशत र व्यवस्थापन खर्च १.३३ प्रतिशतले घटेको छ । आम्दानी बढेर खर्च कम भएसँगै कम्पनीको खुद नाफा ७४.२६ प्रतिशतले बढेर एक अर्ब १३ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यसका साथै कम्पनीको जारी बीमा पोलिसी संख्या यस अवधिसम्म ४.६८ प्रतिशतले बढेर १ लाख ६४ हजार ५६३ पुगेको छ ।
समिक्षा अवधिसम्म कम्पनीको चुक्तापुँजी ७.४४ प्रतिशतले बढेर दुई अर्ब २३ क रोड ९३ लाख रुपैयाँ पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानी ११.३९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२८.३५ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ७५९.६८ पैसा रहेको छ । गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ र युनियन लाइफ इन्स्योन्सबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्झौता भइसकेको छ । यी तीन कम्पनीलाई एकआपसमा गाभ्न बीमा प्राधिकरणले सैद्दान्तिक सहमति दिइसकेको छ ।