मेट लाइफको खुद नाफा ३९ प्रतिशतले बृद्धि, २४ अर्बको कोष बनाउँदै अघि बढ्यो कम्पनी
काठमाडौं । अमेरिकी जीवन बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालय मेट लाइफले चालु आवको छ महिनाको अवधीमा १४ करोड ५३ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको खुद नाफा ३९.९२ प्रतिशतले बृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमार्फत कम्पनीको मुनाफा बृद्धि गरेको देखिएको हो । यद्यपि जीवन बीमा कम्पनीको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको समयमा हेरफेर हुनसक्नेछ ।
मेट लाइफ इन्स्योरेन्स कम्पनीले समग्र २४ अबै ९८ करोड ५५ लाख पाँच हजार रुपैयाँका शक्तिशाली कोष खडा गर्न सफल भएको छ । मेट लाइफले जीवन बीमा कोषमा २१ अर्ब ८७ करोड ९० लाख ४७ हजार रुपैयाँ जम्मा गर्न सफल भएको छ । गत आवको यसै अबधीमा कम्पनीको जीवन बीमा कोषमा जम्मा १९ अर्ब ६१ करोड रुपैयाँ संचिती थियो ।
कम्पनीले चालु आवको छ महिनाको अवधीमा दुई अर्ब ४० करोड ७६ लाख ४६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको यसै अवधीको तुलनामा ५ प्रतिशतले कमी हो । कम्पनीले गत आवमा दुई अर्ब १८ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।
कम्पनीको व्यवस्थापन खर्च १३.४० प्रतिशतले घटेको छ । गत आवको यसै अवधीमा २६ करोड रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा २३ करोड १६ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । त्यस्तै बीमालेख धितोमा कर्जा, लगानीबाट प्राप्त आय लगायतका अन्य आम्दानीमा २६.०६ प्रतिशतले बृद्धि भएको देखिएको छ । गत आवमा ९४ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको छ महिनाको अवधीमा एक अर्ब १९ करोड ७० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीको खर्च घट्नु र आम्दानीमा बृद्धि भएको विवरणले मेट लाइफको मुनाफा र जीवन बीमा कोषमा विशेष योगदान पुगेको देखिन्छ ।
त्यस्तै अभिकर्ता कमिशन सामान्य अंकले घटेर २३ करोड १६ लाख ८८ हजार रुपैयाँ रहेको छ । त्यस्तै हालसम्म कायम पोलिसी संख्या ११ लाखबाट घटेर नौ लाख ७९ हजार ३४० मा झरेको छ ।