प्रिमियर इन्स्योरेन्सको खुद नाफा १५ करोडमाथि, अधिकांश सूचकमा देखियो सुधार

२५ माघ २०७९, बुधबार ११:२०

काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा एक अर्ब ७ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको टोटल प्रिमियम कलेक्सन घट्न पुगेको हो ।

गत आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले एक अर्ब १० करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । बीमा ब्यवसायमा केही गिरावट आएतापनि कम्पनीले अन्य सूचाङ्कमा भने सुधार गर्न सफल भएको छ । यस अवधिसम्म कम्पनीको नाफा ०.३४ प्रतिशतले बढेर १५ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको यसै अवधिसम्म कम्पनीले १५ करोड ५६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको यता लगानी, कर्जा तथा अन्यबाट आय बढ्न पुगेको कारण कम्पनीको नाफामा सुधार देखिएको हो । यस्तो आय यस अवधिसम्म १८.५० प्रतिशतले बढेर २८ करोडढ ६८ लाख रुपैयाँ पुगेको छ । साथै व्यवस्थापन खर्च समेत २० प्रतिशतले बढेर १५ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिसम्म कम्पनीको बीमा कोषको आकार समेत १९.२३ प्रतिशतले बढेर कोषमा एक अर्ब ९ करोड ३० लाख रुपैयाँ संचित रहेको छ । तर जगेडा कोषका आकार भने ३५.५२ प्रतिशतले घटेर ३० करोड ८ लाख रुपैयाँमा सीमित भएको छ । यता महाविपत्ती कोषको आकार भने ३४.६८ प्रतिशतले बढ्न पुगेको छ । साथै कम्पनीको खुद दावी भुक्तानी समेत १९.२३ प्रतिशतले बढेको छ भने जारी बीमा पोलिसी संख्या १०.७५ प्रतिशतले घटेर ७५ हजार ६५ मा कायम भएको छ ।

समिक्षा अवधिसम्म कम्पनीको चुक्तापुँजी ३०.५३ प्रतिशतले बढेर १ अर्ब ४० करोड २६ लाख रुपैयाँ पुगेको छ भने कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी २२ रुपैयाँ २७ पैसा र प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ २३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*