सानिमा लाइफको बीमा कोषमा ४ अर्ब रुपैयाँ संचिती, शतप्रतिशतले बढ्यो बीमा पोलिसी संख्या

२५ माघ २०७९, बुधबार १०:५४

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ ।
चालु आवको दोस्रो त्रैमासम्म कम्पनीले ४ अर्ब ८ करोड ५३ लाख रुपैयाँ बीमा कोष खडा गर्न सफल भएको छ । गत आवको तुलनामा कम्पनीको बीमा कोषको आकार ४४.३८ प्रतिशतले बढ्न पुगेको हो । गत आवको यसै अवधिसम्म कम्पनीको बीमा कोषमा २ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ संचित रहेको थियो ।

यसकासाथै अन्य कोषको आकार समेत यस अवधिमा बढ्न पुगेको छ । सानिमा लाइफले जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै पुष मसान्तसम्ममा जगेडा कोषको आकार ८.०२ प्रतिशत र महाविपत्ती कोषको आकार २८.२५ प्रतिशतले बढाएको छ ।

साथै कम्पनीले चालु आवको ६ महिनासम्ममा १ अर्ब १७ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको गत आवको तुलनामा यस्तो आर्जन ०.८५ प्रतिशतले बढ्न पुगेको हो । साथै खुद दाबी भुक्तानी समेत १२६ प्रतिशतले बढ्न पुगेको छ ।

पुष मसान्तसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट आय ६३.९२ प्रतिशतले बढेर २८ करोड ३१ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्म कम्पनीको यस्तो आय १७ करोड २७ लाख रुपैयाँमा सीमित रहेको थियो । साथै आम्दानीसँगै व्यवस्थापन खर्च समेत ५.१० प्रतिशतले बढेको छ ।

कम्पनीले अधिकांश सूचकमा प्रगति गरेतापनि अभिकर्ता कमिशन भने २७.०९ प्रतिशतले घटेर १४ करोड ६१ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । तर कम्पनीले यस अवधिसम्म गत आवको तुलनामा मुनाफा २३.६३ प्रतिशतले बढेको छ । यस अवधिसम्म कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । साथै कम्पनीको जारी बीमा पोलिसी संख्या समेत शतप्रतिशतले बढेको छ ।

पुष मसान्तसम्म कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, सानिमा लाइफको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ १९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*