शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, लाभांश र मर्जर सम्बन्धी विशेष प्रस्ताव
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज बस्दैछ । आव २०७७।७८ र २०७८।७९ को साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथलीमा बिहान ११ बजे बस्नेछ ।
नेपालकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सको सो सभाले आव २०७८।७९ को बार्षिक साधारणसभामार्फत हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै, अन्य कुनै बीमा कम्पनीसँग मर्जर वा एक्विजिशन सम्बन्धि प्रस्ताव समेत पास गर्नेछ । त्यस्तै, बार्षिक साधारणसभाले आव २०७८।०७९ को लेखा परिक्षण प्रतिवेदनसहितको बार्षिक वित्तीय विवरण पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्तिबारे बीमा ऐन २०७९ बमोजिम साधारण सभामा जानकारी दिने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ १७ गतेदेखि साधारण सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुकक्लोज गर्ने निर्णय गरेको थियो । यस अनुसार माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउनुका साथै इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।