नयाँ लघुबीमा कम्पनीलाई चुक्ता पुँजि जम्मा गर्ने पत्र दिने तयारीमा बीमा प्राधिकरण
काठमाडौं । बीमा प्राधिकरणले लघुबीमा कम्पनीलाई चुक्ता पुँजि जम्मा गर्ने पत्र दिने तयारी गरेको छ। प्राधिकरणले ४५ दिनभित्र हाल संचालनमा आउन लागेका कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजि पुराउने सम्बन्धी पत्र पठाउन लागेको स्रोतले जनाएको छ।
नेपाल बीमा प्राधिकरणले माग गरेको आवेदनमा ३१ लघुबीमा कम्पनीले प्रस्ताव पेश गरेका थिए । ३१ वटा कम्पनी मध्येबाट सात प्राधिकरणले लघुबीमा कम्पनीलाई प्राधिकरणले लाईसेन्स दिने निर्णय गरेको थियो ।प्राधिकरणले जीवन तर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिने निर्णय गरेको थियो ।
त्यस्तै निर्जीवन तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई अनुमति दिएको थियो । यी सात वटै लघुबीमा कम्पनीले कम्पनी रजिष्ट्रारमा कम्पनी दर्ता गरिसकेका छन् ।
यी कम्पनीहरुलाई बीमा प्राधिकरणले तोकेका समयावधिभित्र चुक्ता पुँजि पुराउनुपर्नेछ । बीमा प्राधिकरणले यस बिषयमा थप अध्ययन गर्दैछ । यी सबै प्रकृया अन्तिम चरणमा पुगेको हुनाले बीमा ऐन अन्तर्गत शेयरधनीहरुलाई पूँजी जुटाउन ४५ दिनको समय दिने तयारी भईरहेको स्रोतले जनाएको छ ।
प्राधिकरणले सातवटै प्रदेशमा केन्द्रिय कार्यालय रहने गरि लाइसेन्स दिएको हो । जसमा गार्डियन माइक्रो लाइफले प्रदेश एकको विराटनगरमा केन्द्रिय कार्यालय खोल्नेछ । त्यस्तै क्रेष्ट माइक्रो लाइफले कर्णाली प्रदेशको विरेन्द्रनगरमा र लिवर्टी माइक्रो लाइफले गण्डकी प्रदेशको पोखरा ८ कास्किमा केन्द्रिय कार्यालय खोल्नेछ ।
त्यस्तै, निर्जीवन तर्फ ट्रष्ट माइक्रोले लुम्बिनी प्रदेशको बुटवल २ मा केन्द्रिय कार्यलाय खोल्नेछ । त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सले बागमति प्रदेशको भरतपुर चितवन एकमा, स्टार माइक्रोले मधेष प्रदेशको जनकपुरधाममा र प्रोटेक्टिभ माइक्रोले सुदुरपश्चिम प्रदेशको धनगढी तीनमा केन्द्रिय कार्यालय रहेको छ ।
लघु बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकिएको छ । अहिले तत्काल सबै कम्पनीले ५२ करोड ५० लाख जुटाउनु पर्नेछ ।
लघुबीमा कम्पनीको लाइसेन्स लिँदा क्रस होल्डिङ हुने गरी लगानी गर्न नपाइने व्यवस्था गरिएको छ ।