धमाधम ६ बीमा कम्पनीको वार्षिक साधारण सभा हुँदै, के–के छन् प्रस्तावहरु ?
काठमाडौं । माघ र फागुन महिनामा ६ बीमा कम्पनीहरुको साधारण सभा हुँदैछ । जसमध्ये तीन जीवन बीमा कम्पनी रहेका छन् भने तीन निर्जीवन बीमा कम्पनी रहेका छन् ।
युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सभा फागुन महिनासम्ममा बस्ने भएको हो । ६ मध्ये चार बीमा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् भने दुई जीवन बीमा कम्पनी रिलायन्स र सानिमा लाइफले सभामा लाभांश प्रस्ताव राखेका छैनन् ।
साथै सो मध्ये युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले सभामा मर्जरको समेत प्रस्ताव रोखका छन् भने शिखर इन्स्योरेन्सले सभामार्फत वित्तीय विवरण लगायत लाभांश प्रस्ताव पेश गर्नेछ ।
युनियन लाइफ इन्स्योरेन्स
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौ वार्षिक साधारण सभा माघ २६ गते टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा बिहान साढे १० बजे सुरु हुनेछ । सभाले कम्पनीले सेयरधनीलाई ८.९७% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, कम्पनीको सेयर संरचना ५१% संस्थापक र ४९% सर्वसाधारण समूहतर्फ परिवर्तन गरी संस्थापक र सर्वसाधारण सेयर अनुपात ५१ः४९% कायम गर्ने प्रस्ताव समेत पारित गर्नेछ । हाल यस इन्स्योरेन्सको उक्त सेयर अनुपात ७०ः३० रहेको छ ।
सभाले गुँरास र प्राइम लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गर्नेछ । सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १६ गते बुक गरिसकेको छ । माघ १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
रिलायन्स लाइफ इन्स्योरेन्स
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालन समितिको बैठकको निर्णयले सभा फागुन १२ गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बोलाएको हो ।
सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७।७८ को बार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस्तै, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७७।७८ को वासलात, नाफा नोक्सन हिसाब लगायतका विवरणहरु स्वीकृत गर्ने छ ।
सभाले सानिमा लाइफ इन्स्योरेन्स संग एक आपसमा गाभ्ने, गाभिने सम्बन्धि प्रस्ताव पारित गर्ने छ लगायत अन्य महत्वपुर्ण प्रस्ताव पारित गर्ने छ । यसका साथै सो सभाले रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिएपश्चात् बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड’ कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । साथै डीडीएपश्चात कायम हुन आएको १ः१ अनुपात निर्धारण गरी गाभ्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
कम्पनीको हालको शेयर संरचना बमोजिम कायम रहेको चुक्तापुँजी अनुरुप संस्थापक समूहतर्फ ७०% र सर्वसाधारण समूहतर्फ ३०% हिस्सा रहेकोमा संस्थापक समूहतर्फको ७०% मध्ये कम्पनीको १९% संस्थापक शेयर बीमा प्राधिकरणको स्वीकृति लिई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने र तदअनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गरी यथावत् पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीको दर्ता पुस्तिका माघ २९ गते १ दिनको लागि बन्द गरिने छ । यसर्थ माघ २८ सम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने छन् ।
सानिमा लाइफ इन्स्योरेन्स
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठले पाँचौ सभा फागुन १२ गते कुण्डलीनी दरबार बैंक्वेट, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
सो सभाले रिलायन्स लाइफ इन्स्योरेन्ससँगको मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित गर्नेछ । सानिमा लाइफ र रिलायन्स लाइफ एक आपसमा गाभ्ने।गाभिने प्रयोजनका लागि डीडीएपश्चात निर्धारण गरिएको १ः१ अनुपात कायम हुनेगरी एकआपसमा गाभ्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताप पारित गर्नेछ ।
साथै मर्जपछि बन्ने कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड हुनेगरी संसोधन गर्ने, एकआपसमा गाभिएपश्चात कम्पनीको जारी पुँजी समेत जोडी जारी पुँजी तथा चुक्तापुँजी कायम हुने हुँदा सानिमा लाइफको प्रबन्धपत्र संशोधन गरी जारी पुँजी तथा चुक्तापुँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सानिमा लाइफको शेयर संरचना हाल संस्थापक शेयर ७० र सर्वसाधारण शेयर ३० प्रतिशत रहेकोमा शेयर संरचना परिवर्तन गरी संस्थापक तर्फको ७० प्रतिशत मध्ये १९ प्रतिशत संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने र तदनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
सो सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै संचालक समितिद्वारा थप गरिएको कम्पनीको संस्थापक समूह तर्फको संचालकहरुको कार्यकाल अनुमोदन गर्नेछ ।
शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारण माघ २५ गते कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथलीमा बिहान ११ बजे बस्नेछ ।
नेपालकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सको सो सभाले आव २०७८।७९ को बार्षिक साधारणसभामार्फत १६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, अन्य कुनै बीमा कम्पनीसँग मर्जर वा एक्विजिशन सम्बन्धि प्रस्ताव समेत पास गर्नेछ ।
त्यस्तै, बार्षिक साधारणसभाले आव २०७८।०७९ को लेखा परिक्षण प्रतिवेदनसहितको बार्षिक वित्तीय विवरण पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्तिबारे बीमा ऐन २०७९ बमोजिम साधारण सभामा जानकारी दिने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ १७ गतेदेखि साधारण सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुकक्लोज गर्ने निर्णय गरेको थियो । यस अनुसार माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउनुका साथै इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
सगरमाथा इन्स्योरेन्स
सगरमाथा इन्स्योरेन्स लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा फागुन ११ गते बिहिबार लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो ।
सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आवको मुनाफाबाट कायम चुक्तापुँजीको १२.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै सो सभाले लु्म्बिनी जनरल इन्स्योरेन्ससँगको मर्जरसम्बन्धि सम्बन्धी सम्पूर्ण प्रस्तावहरु पारित गर्नेछ । कम्पनीमा संस्थापक शेयरधनी समूह अन्तर्गत नेपाली संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत संयुक्त साझेदार, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाको २० प्रतिशत गरी संस्थापक शेयरधनी स्वामित्व ७१ प्रतिशत रहेकोमा नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमति बमोजिम नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१% शेयर मध्ये २०% शेयरहरु समानुपातिक रुपमा सर्वसाधारण शेयरधनी समूहमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ माघ २७ गते एकदिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
लुम्बिनी जनरल इन्स्योरेन्स
लुम्बिनी जनरल इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले फागुण ११ गते बिहीबार, बिहान १० बजे, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान काठमाडौंमा १८ औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ६.९९ प्रतिशतले हुन आउने ९ करोड १७ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशतले हुन आउने ४८ लाख २९ हजार रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।
यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच भएको मर्जर सम्बन्धी भएको अन्तिम सम्झौतालाई अनुमोदन गर्ने तयारी पनि गरेको छ । मर्जर पश्चात बन्ने कम्पनीको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कायम गर्ने तथा नयाँ बन्ने कम्पनीको दर्ता नम्बर, प्रबन्धपत्र नियमावली मू.अ.क दर्ता प्रमाणपत्र, बीमकको इजाजतपत्र नम्बर समेत साविक सगरमाथा इन्स्योरेन्सको कायम रहेने प्रस्ताब पारित पारित गर्नेछ ।
दुई कम्पनी एक आपसमा गाभिए पश्चात डिडिए मूल्यांकन प्रतिवेदनको आधारमा कायम हुन आएको सगरमाथाको १०० कित्ता बराबर लुम्बिनी जनरलको ८० कित्ता कायम हुने गरी स्वाप रेशियोलाई स्वीकृत समेत गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७८।७९ को बार्षिक प्रतिवेदन उपर छलफल गरेर पारित गर्ने र नयाँ लेखा परिक्षक नियुक्त गर्ने भएको छ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले माघ २७ गते बुक क्लोज बन्द गर्ने जनाएको छ । त्यस अनुसार माघ २६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।