बीमा रकम बाँडफाँडमा कुरा नमिल्दा लाठी र लोहोराले हानेर सुस्मिताको हत्या गरेको मकवानपुर जिल्ला अदालतको ठहर
काठमाडौं । बीमा दाबीको रकम कुम्ल्याउन आफ्नै बुहारीको हत्या गरेर हत्यालाई आत्महत्या भनेर प्रचार हुँदै आएको मकवानपुरको एउटा घटनाको अन्तिम छिनोफानो भने जिल्ला अदालतको इजलाशले दुई वर्षपछि गरेको छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाकी २४ वर्षीया सुस्मिता केसीको हत्या भएको करिब साढे २ वर्षपछि अभियुक्तहरू दोषी ठहर भई कारागार चलान भएका छन् । सुरुमा आत्महत्या भनिएको उक्त काण्ड विस्तारै श्रीमान पक्षका मानिसले आवेशमा हत्या गरेको सम्म भनियो ।
तर, लामो बहस, छलफल र प्रहरीको सुक्ष्म अनुसन्धान पछि बीमा दावी भुक्तानी बापत प्राप्त रकम बाँडफाँडमा कुरा नमिलेपछि उनको हत्या भएको तथ्य ठहर भएको छ । कानुन व्यवसायीहरूले चार दिन निरन्तर बहस गरे । पीडितको पक्षबाट लडेका कानुन व्यवसायीहरूले लगातार बहस गरेको थिए । अन्ततः पाँचै जना अभियुक्तलाई जिल्ला अदालतले दोषी ठहर गरेको हो ।
जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको गत शुक्रबार बसेको ईजलासले ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सुस्मिताकी सासूलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला सजाय फैसला गरी कारागार चलान गरेको हो ।
घटनाको पृष्ठभूमि भने मृतकको श्रीमान रुपन्द्र थापाको बीमा बापत प्राप्त हुने रकम बाँडफाँडमा झगडा उत्कर्षमा पुगेर हत्या भएको ठहर गरिएको हो । सुष्मिताको श्रीमान अर्थात प्रकाश थापाको छोरा रुपेन्द्र थापासँग सुष्मिताको विवाह भएको थियो । बिहे भएको छ महिनापछि नै ससुरालीबाट हेटौडा फर्कने क्रममा नवलपरासीको दाउन्ने भन्ने स्थानमा दुर्घटनामा परेर उनको निधन भएको थियो । नेशनल लाइफमा बीमा गरिएको रुपेन्द्रको आश्रित परिवारलाई कम्पनीले भुक्तानी गर्ने रकम कसले लिने भन्नेमा विवाद भएर सुष्मिताको हत्या भएको खुलेको हो । छोराको बीमा दाबीको रकम बुहारीले लिने हो कि भनेर रात दिन मानसिक यातना दिएर हत्या गरेको आरोपमा उक्त परिवारलाई जन्मकैदको सजाय सुनाएको हो ।
सुस्मिताले हेटौंडाका रुपेन्द्र थापासँग विवाह गरेकी थिइन् । विवाह गरेको ६ महिनापछि ससुरालीबाट हेटौंडा फर्किंदै गर्दा नवलपरासीको दाउन्नेमा मोटरसाइकल दुर्घटनामा परेर रुपेन्द्रको मृत्यु भएको थियो । उनको मृत्युपछि सुस्मिताकै कारण आफ्नो छोरोले ज्यान गुमाएको भन्दै घर पक्षले मानसिक तनाव दिँदै आएका थिए ।
घटना मृतक थापाको बीमा दाबी गरेपछि प्राप्त पैसाको निहुँमा भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
मकवानपुर प्रहरीका अनुसार ससुरा प्रकाशले बुहारी सुस्मितालाई घरको बाथरुममा बलात्कार प्रयास गरेका थिए । ससुराले घरमा रहेका बेला सुस्मिताको गोप्य अंगहरूमा छुने र यौनजन्य दुर्वर्यवहार गरेको प्रहरी बयानमा खुलेको थियो । यसरी बलात्कार प्रयास गरेपछि घटना लुकाउन ससुराले हत्याको योजना बनाएको प्रहरी अनुसन्धानमा खुलाइएको थियो ।
रुपेन्द्रको मृत्युपछि हकवाला मृतक सुस्मिताले पाएको क्षतिपूर्ति वापतको ५ लाख रुपैयाँ पाउनुपर्ने माग घर पक्षले राखेपछि विवाद सुरु भएको प्रहरीले जनाएको छ । रुपेन्द्र काम गर्ने हेटौंडास्थित क्लोजर सिस्टम इन्टरनेशनल प्रालि (सिएसआई) बाट मृत्यु पश्चात पाउने बीमा, बोनस र तलबभत्ताको बाँकी रकम ३८ लाख २८ हजार ४ सय ७२ रुपैयाँ भुक्तानी लिने विषयमा हकवाला ससुरा प्रकाश, सासू तुलसा र मृतक सुस्मिताबीच विवाद भएको प्रहरी अनुसन्धानमा २ वर्षअघि नै खुलेको थियो ।
प्रहरी अनुसन्धानबाट सामाजिक सुरक्षा कोषबाट १ लाख ७७ हजार ९ सय ४८ रुपैयाँ मृतक सुस्मिताको खातामा अनलाइन पेमेन्ट भएको देखिन्छ । रुपेन्द्रको जीवन बीमा रहेको नेशनल लाइफ इन्स्योरेन्सबाट ससुरा प्रकाशले (इच्छ्याएको व्यक्ति) १० लाख ६३ हजार ९ सय १४ रुपैयाँ लिएका थिए । सबै रकम निकालेर घरमा ससुरालाई दिनुपर्छ भन्दै घरपरिवारबाट सुस्मितालाई बारम्बार दबाब दिँदै आएको प्रहरीले जनाएको छ ।
योजनाबद्ध हत्यालाई २०७७ मा १३ दिन लामो अनुसन्धानपछि मकवानपुर प्रहरीले घटनाको रहस्य पत्ता लगाएको थियो । घटनाको विषयमा अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो । घटनाको अनुसन्धानमा प्रहरीले प्रदेश प्रमुख प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेको थियो ।
प्रहरीको स्रोतका अनुसार क्षतिपूर्ति बापतको ५ लाख रुपैयाँ र सामाजिक सुरक्षा कोषको रकम मृतकको श्रीमती सुस्मिताले लिएको निहुँमा परिवार उनलाई यातना दिएर अन्त्यमा हत्या गरिएको थियो ।
गत असार १ गते बेलुकी खाना खाँदै गरेकी सुस्मितालाई ससुरा प्रकाश थापाले टाउकोमा काठको लौरोले प्रहार गरेका थिए । लौरो प्रहार पश्चात भुँइमा लडेकी सुस्मितालाई नन्द सिता थापाले लोहोरो ढुङ्गाले प्रहार गरेकी थिइन् । प्रकाश र सिताको प्रहारबाट सुनिताको मृत्यु भएपछि आत्महत्या गरेको देखाउन प्रमाण नष्ट पारेका थिए । तर प्रहरी अनुसन्धानले आत्महत्या नभई हत्या भएको खुलेपछि सपरिवारलाई नै हिरासतमा राखिएको थियो ।
अन्त्यमा, उनीहरुले अभियोग प्रमाणित गरी कारागार चलान गरिएको हो ।
२०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित घरमा केसीको हत्या गरिएको थियो । केसीको ससुरा प्रकाशले भान्सा कोठामा खाना खाइरहेकी केसीको टाउकोमा पछाडिबाट काठले हिर्काए घाइते बनाएको र ज्यान बचाउन गुहार माग्दा कान्छी नन्द सीताले मसला पिन्ने लोहोरोले टाउकोमा हिर्काएर हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।
घटना भएको भोलि पल्ट मात्र हत्या गरिएको अवस्थामा केसीको शव फेला परेको थियो । केसीको हत्यापछि ससुरा प्रकाश, नन्द सीता, सासुले आत्महत्या देखाउने प्रयास गरेको प्रहरीको अनुसन्धानमा देखिएको थियो । प्रहरीका अनुसार उक्त घटनामा केसीकी जेठी नन्द दुर्गा र ज्वाइँ अरुणको संलग्नता देखिएको थियो ।
केसीको २०७६ वैशाख १८ गते प्रकाशका छोरा रुपेन्द्र थापासँग विवाह भएको थियो । विवाह गरेको छ महिनामा नै रुपेन्द्रको मृत्यु भएपछि बिमा बापतको रकमका लागि केसीको हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । कपिलवस्तु वाणगंगा नगरपालिका माइती भएकी केसीको पति रुपन्द्रको गत २०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।