आत्महत्या दुरुत्साहन मुद्दामा भाटभटेनीका मिन बहादुर गुरुङ प्रहरीमा, तीन घण्टा बयानपछि छाडिए
काठमाडौ । नेपालकै चर्चित भाटभटेनी मार्टका सञ्चालक मिन बहादुर गुरुङलाई आज काठमाडौं प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएर बयान लिएको छ । नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम आचार्यका परिवारका सदस्यहरुले दर्ता गरेको किटानी जाहेरीका आधारमा प्रहरीले गुरुङसँग बयान लिएको हो ।
बालुवाटार काण्डको जग्गामा अर्बौ रुपैयाँ घोटालामा मुछिएका व्यापारी गुरुङको नाम प्रेम आचार्यका राज्यसत्ताविरुद्धको विद्रोहात्मक दस्तावेजमा उल्लेख थियो । भाटभटेनी सुपरमार्केटले समयमा उधारो नतिरेको र कर कार्यालयले पटक पटक कर तिर्न दवाव दिएको कुरा प्रेम आचार्यले आत्मदाहमार्फत विद्रोह गर्नुअघि लेखेको दस्तावेजमा उल्लेख छ ।
प्रहरीले सोही दस्तावेजलाई प्रेम आचार्यको मृत्युकालिन घोषणा मानेर आज चर्चित व्यापारी मिन बहादुर गुरुङसँग लामो बयान लिएको हो । सो विषय थप अनुसन्धानकै क्रममा रहेकोले प्रहरीले थप बताउन चाहेको छैन । उता, आजै सान कलेजका सञ्चालकसँग पनि बयान लिएको छ ।
भाटभटेनीका सञ्चालक गुरुङको अजोड इन्स्योरेन्समा समेत लगानी रहेको छ ।