रवि लामिछानेको नागरिकता पुनःप्राप्तिको अवधि थपियो, अन्ततः रविले पाए नागरिकता (अपडेट )

अपडेटः 14:12
यसैबीच, रवि लामिछानेले नागरिकता दोस्रो पटक प्राप्त गरेका छन् । यसअघि नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका रवि लामिछानेले आज पुनः प्राप्तिको विधि अनुसार दोस्रो पटक नेपाली नागरिकता प्राप्त गरेका छन् । उनको नागरिकतामा पुनः प्राप्ति भनेर लेखिएको छ । उनको यसअघिकै नागरिकता नम्वर कायम भएको छ ।
…………………………..00………………………………………..
काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेको नागरिकता प्राप्तिका लागि केही ढिलाई हुने भएको छ । नागरिकता बनाउनुअघि रवि लामिछानेले राष्ट्रिय परिचयपत्र पनि बनाउने भएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका अधिकारीले पत्रकारहरुलाई जानकारी दिएका छन् ।
शुक्रबार सर्वोच्च अदालतले सांसद तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो । सोही अनुसार लामिछाने अहिले नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेपनि जिल्ला प्रशासन कार्यालयले नागरिकतासँगै राष्ट्रिय परिचय पत्र पनि बनाउन सुझाव दिएसँगै लामिछानेले राष्ट्रिय परिचय पत्र पनि बनाएर नागरिकता लिन लागेका हुन् । राष्ट्रिय परिचय पत्र तत्कालै प्राप्त हुने छैन । तर, त्यसको नम्वर निर्वाचन आयोगमा मतदातादा नामावली समेत अद्यावधिकका लागि अनिवार्य हुनेछ ।