निर्जीवन बीमा बजारमा जोखिम र जोखिम मुल्यांकनको अवस्था

नारायण खनाल
३ माघ २०७९, मंगलवार १३:४०

बीमा भनेको आर्थिक नोक्सानी हुँदा दिइने क्षतिपूर्तिको सुनिश्चतता हो । बीमा करार गर्दा बीमा गर्ने व्यक्ति (बीमित) र बीमा सेवा गरिदिने संस्था (बीमक) बीच लिखित सम्झौता हुन्छ । त्यो सम्झौताका आधारमा बीमा कम्पनीहरूले नोक्सानी भएको बखत नोक्सानी मूल्याङ्कन गरी क्षतिपूर्ति रकम दिने गरिन्छ। भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ कुन समयमा कस्तो प्रकृतिको दुर्घटना हुन्छ, कसैलाई पनि थाहा हुँदैन सूनिश्चितता पनि गर्न सकिदैन।

त्यसैले भोलिको दिनमा हुन सक्ने सम्भावित जोखिम बाट हुने क्षतिको न्यूनीकरण गर्न तथा भविष्यमा भैपरी आउने जोखिम बाट हुने क्षतिको हस्तान्तरण गर्नका लागि अपनाइने दुई पक्षीय कानुनी सम्झौता वा बीमा कम्पनीहरूसँग भविष्यमा भैपरी आउँदा हुने हानि नोक्सानी र जोखिमबाट मुक्त हुनका लागि गरिने करार सम्झौता नै बीमा हो ।

नेपाल भूपरिवेष्ठित राष्ट्र भएतापनि भुधरातलको आधारमा एकै किसिमको भुधरातलमा समेत फरक फरक प्रकारको जोखिम रहेको पाउन सक्छौं ।पहाडमा होस्, तराइमा होस् या हिमालि भेगमा तर त्यसलाई कहाँ के कस्तो जोखिम र त्यसबाट भविष्यमा कस्तो जोखिम हुन सक्छ र भविष्यमा कस्ता प्रकृतिको राष्ट्रिय बिपत्तिहरु आउन सक्छन त्यस बाट बीमा कम्पनी, पुनर्बिमा कम्पनि र नेपाल सरकार पनि जोखिम व्यवस्थापन मा कुनै खास नीति आंकलन नगरी बीमा दर रेट निर्धारण गरेको पाउन सक्छौं ।

खोलाको डिलमा बनेको घरको बनावट र सम्म मैदानमा बनेको घरको वर्गिकरण गर्ने प्रावधान एउटै छ ।बाटो, उद्योग, पुल तथा स्टकको प्रकृति, स्टक रहेको स्थान, बीमामा उच्च जोखिम तथा भविष्यमा आउन सक्ने जोखिमको कारणबाट आर्थिक नोक्सानिको बारेमा आवश्यक मुल्यांकन नगरी कम्पनीका जोखिम मूल्यांकन कर्ता तथा बजार बिभागका कर्मचाररुले बीमालेख जारी गर्ने गरेको पाउन सक्छौं ।

हरेक वीमकले कसरि जोखिम न्युनिकरण गरि बीमा जारी गर्ने भन्दा पनि पहिला कसरी व्यापार व्यवसाय बृद्धि तथा प्राप्ति गर्ने दौडमा बीमा कम्पनीमा अस्वस्थ प्रतिस्पर्धा देखिन्छ। बीमा कम्पनीमा कार्यरत बजार बिभागका कर्मचारीहरुमा पनि जोखिम मूल्यांकनको आधारमा भन्दा पहिला कसरि व्यापार प्राप्ति गरि आफ्नो लक्ष्य पुरा गर्ने र सेवा सुविधा प्राप्त गर्ने भन्ने तर्फ केन्द्रित भएको पाइन्छ। नेपालका बीमा बजारमा दक्ष नैतिक तथा पारदर्शी जनशक्तिको चरम अभाव पाउन सक्छौं। बीमा सम्बन्धि अध्ययन, अनुसन्धान तथा शैक्षिक सामाग्रीहरु पनि निकै कमी भएको पाउन सक्छौं ।

विकसीत देशमा बीमालाई पहिलो प्राथमिकताका साथ लिइन्छ साथै आफ्नो सम्भावित जोखिम भएको बखत उनिहरुमा बीमाले जोखिम बहन गर्छ र आर्थिक नोक्सानिबाट मुक्त भईन्छ भन्ने विश्वास को सिद्धान्तमा आधारित हुन्छ।नेपालामा बीमा सम्बन्धि जनचेतना तथा विश्वाशनियतामा पनि निकै कमी रहेको पाइन्छ। साथै बीमा एउटा दक्ष जनशक्ति अभावले बीमा बजारलाई राम्रो सम्भावना भएर पनि विस्तार गर्न सकेको छैन। सरकारले पनि उच्च प्राथमिकतामा राखेको पाईदैन । सबै समस्याहरु न्युनिकरण गर्न सकिने खालका छन् ।

बीमा कम्पनीहरुले बीमालाई स्वच्छ , शुद्ध र पारदर्शी बनाउन पर्ने हुन्छ । व्यवसायी तथा बीमितहरुले आफ्नो व्यवसाय संचालनमा मध्यम र उच्च जोखिम आकलन गरी बीमालेख लिनु पर्दछ । क्षति मुल्यांकन कर्ताहरुले दाबी मूल्यांकन गर्दा व्यवसायिक नैतिकता पालना गरे भने जटिलता आउँदैन।
नेपाल सरकारले पनि बीमा एउटा महत्वपुर्ण आर्थिक क्षेत्र हो र यसलाई उच्च प्राथमिकतामा राख्नु पर्दछ ।

बीमाका यस प्रकारको सिद्धान्तमा आधारित भएतापनि, 

१ परम सद्बिश्वश्मा आधारित
२ बीमा योग्य हितमा आधारित
३ क्षति पूर्तिमा आधारित
४ योगदानमा आधारित
५ प्रतिस्थापनमा आधारित

बीमालाई केवल एउटा बाध्यकारी बैंक तथा वित्तीय संस्थाहरूले आफूले प्रवाह गरेको ऋणको सुरक्षाका रूपमा लिने गरेको पाइन्छ ।साथै जोखिम मूल्याङ्कन गरी जानेर बुझेर बीमा गरेको पाइँदैन ।

२०७२ सालको विनाशकारी भूकम्प, बिश्वब्यापी महामारी कोरोना, वेमौसमी बाढी पहिरो, दैनिक जसो हुने र सुन्ने गरेका सवारी दुर्घटना, बीमान दुर्घटना, त्यसबाट हुन र पर्न गएको ठुलो आर्थिक र मानवीय क्षति लगायत बिपदपछी नेपालीहरुले सोच्ने बिचारमा सकारात्मक रुपमा परिवर्तन आएको पाइन्छ, तर पनि जुन गतिमा अघि बढ्नुपर्ने थियो त्यहि गतिमा अघि बढ्न सकेको छैन।नेपाल सरकारले सवारी साधनको अनिवार्य बीमा लागू गरेसँगै घर तथा सम्पत्ति र स्वास्थ्य बीमा पनि त्यसरी नै अनिवार्य वा बाध्यकारी कारणबाट बीमामा आकर्षण हुने देखिन्छ। बीमाको पहुँच बढाउन सबैभन्दा पहिला त बीमासम्बन्धी साक्षरता तथा जनचेतना अभिवृद्धि गर्नुपर्ने हुन्छ ।

बीमा किन, केका लागि, केके फाइदा हुन्छ र बीमा को द्वारा गरिन्छ भन्ने कुरा बुझ्नु र प्रस्टसँग बुझाउनु पर्दछ । नेपालमा बैंकिंग क्षेत्रमा प्रविधिको प्रयोगमार्फत उक्त सेवाको डिजिटलीकरणमा निकै फड्को मारिरहेको अवस्थामा बीमा क्षेत्रमा पनि प्रविधिको प्रयोगमार्फत सेवा विस्तार गर्न सकिने प्रशस्त सम्भावनाहरू छन् ।

त्यसैले बीमा क्षेत्रमा प्रविधिको प्रयोगमार्फत सेवा विस्तार गर्न सकिने र बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरू पनि प्रविधिको प्रयोगमा अभ्यस्त हुनुपर्ने हुन्छ।हाल बीमा प्राधिकरणले पनि दक्ष जनशक्ति उत्पादनका लागि बीमा कम्पनीहरूसँगको सहकार्यमा इन्स्युरेन्स इन्स्टिच्युट अफ नेपाल संस्थाको स्थापना गरी सो मार्फत समय, समयमा तालिम सञ्चालन गरी कर्मचारीहरूको दक्षता, कार्यक्षमता अभिवृद्धि गर्दै आएको छ । यसले गर्दा बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुनुका साथै उनीहरूको कार्यक्षमता अभिवृद्धिले बीमा सेवाप्रवाह गुणस्तरमा पनि अभिवृद्धि हुँदै जाने गर्छ ।

बीमा कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा घट्दै जाने र नयाँ नयाँ बीमालेख ल्याउँदै जानाले पनि बीमाको क्षेत्र फराकिलो बन्दै जाने र सम्पूर्ण व्यवसाय वा सम्पत्तिको बीमामा आकर्षण हुने देखिन्छ ।हालको बीमा दाबी प्रक्रिया केही जटिल तथा झन्झटिलो भए तापनि त्यसलाई समयसापेक्षिक सरलीकृत ग्राहक केन्द्रित बनाउँदै लैजानुपने हुन्छ । हाल बीमा प्राधिकरणले उधारोमा बीमालेख जारी गरी बिक्री भइरहेको वा बिमितको खातामा पर्याप्त मौज्दात नभई चेक दिई बीमालेख लिने गरेको पाइएकोमा मौज्दात सुनिश्चत नभई बीमालेख जारी नगर्न निर्देशन गरेको छ ।

जोखिम बढ्नु दैवी प्रकोप, महामारी, द्वन्द्व, अपराध, जलवायु परिवर्तन, भूकम्प, ज्वालामुखीजस्ता कारणहरूबाट दैनिक मानवीय र भौतिक सम्पत्तिको ठूलो जोखिम र क्षति हुँदै गएको छ । नेपालमा विगतदेखि हालसम्म हेर्ने हो भने यस्ता दैविक र प्राकृतिक जोखिम उच्च स्थानमा रहेको र ठूलो क्षति भएको पाइन्छ ।

विपत् अनुमान र आंकलन गर्न नसकिने हुनाले विपद अनपेक्षित र अनिश्चित अवस्था हो । मानव जीवन र सम्पत्तिमा हरेक क्षण हरेक समय जोखिमको सम्भावना रहिरहन्छ, त्यसैले कुनै पनि क्षेत्र वा मानिस जोखिममुक्त छैन ।
त्यस्तै, विपदको क्षतिलाई न्यूनीकरण गर्न राम्रोसँग जानेर, बुझेर जोखिम न्यूनीकरण गर्ने माध्यम नै बीमा हो र त्यस्ता विपदबाट बच्न वा हुन सक्ने सम्भावित क्षतिका लागि उच्च जोखिम व्यवस्थापन गर्ने काम बीमामार्फत हुँदै आएको छ ।

हाल नेपालमा प्रचलनमा रहेका मुख्य,मुख्य बीमालेखहरू यस प्रकार छन् ।

१.मोटर बीमालेख,
२.सम्पत्ति बीमालेख,
३.सामुन्द्रिक तथा पारवहन बीमालेख,
४.ठेकेदारी तथा इन्जिनियरिङ बीमालेख,
५.स्वास्थ्य तथा औषधोपचार बीमालेख,
६.बाली तथा पशुपन्छी बीमालेख,
७.दुर्घटना बीमालेख
८.बैंकर्स क्षतिपूर्ति बीमालेख ।

लेखक आइएमई जनरल इन्स्योरेन्स कम्पनी, केन्द्रिय कार्यालयमा प्रबन्धकको रुपमा कार्यरत छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*