हिमालयन डिष्टिलरीसहित ७ कम्पनीको साधारण सभा भोलि बस्दै, कुनले कति लाभांश पारित गर्दैछ ?

काठमाडौ । हिमालय डिष्टिलरीसहित ७ कम्पनीको वार्षिक साधारण सभा भोलि (पुष २७) गते बस्दैछ । नेप्सेमा सूचीकृत यी ७ कम्पनीको साधारण सभा भोलि छुट्टाछुट्टै बस्ने भएको हो ।
सातमध्ये दुई कम्पनी बाहेकका सबै कम्पनीले सभामार्फत गत आवको मुनाफाबाट संचालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । हिमालयन डिष्टिलरीको २२औं, बोटलर्स नेपाल (तराई) लिमिटेडको ३६औं, बोटलर्स नेपाल (बालाजु) लिमिटेडको ४४औं, युनाइटेड इन्स्योरेन्सको २९औं, मितेरी डेभलपमेन्ट बैंकको १७औं, माउन्टेन हाइड्रो नेपाल लिमिटेडको ७औं र दिव्यश्वरी हाइड्रोपावरको सातौं, आठौं, नवौं र दशौं वार्षिक साधारण सभा भोलि बस्ने भएको हो ।
हिमालयन डिष्टिलरी
हिमालयन डिष्टिलरीको सभा भोलि कम्पनीको रजिष्टर्ड कार्यालय, विरगञ्जमा बिहान १० बस्नेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित गरी १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने, लेखारीक्षक नियुक्त गर्ने, वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गते बुकक्लोज गरिसकेको छ । यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
बोटलर्स नेपाल (तराई), (बालाजु) लिमिटेड
बोटलर्स नेपाल लिमिटेड (बालाजु) र बोटलर्स नेपाल (तराई) ले पुस २७ गते साधारण सभा आह्वान गरेको छ । यी दुबै कम्पनीले होटल र्याडिसन, लाजिम्पाट, काठमाडौँमा साधारण सभा बोलाएका हुन् ।
बोटलर्स नेपाल (तराई) को छत्तीसौँ वार्षिक साधारण सभा बिहान १० बजे शुरु हुनेछ भने बोटलर्स नेपाल (बालाजु)को दिउँसो ३ बजे शुरु हुनेछ ।
बोटलर्स नेपाल (तराई)को साधारण सभाले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ भने बोटलर्स नेपालले प्रतिशेयर २० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ यी दुबै कम्पनीले पुस २० गते बुकक्लोज गरिसकेको छ । यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
युनाइेट इन्स्योरेन्स
युनाइटेड इन्स्योरेन्सको बार्षिक साधारणसभा सभा भोलि अनमोल ब्याङ्कवेट, शंखमुलमा बिहान ११ बजे बस्नेछ ।
कम्पनीले सञ्चालक समितिको प्रस्ताव अनुसार हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने ५ करोड १४ लाख ८ हजार रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले पुस १७ गते, एक दिनका लागि बुकक्लोज गरिसकेको छ । यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
मितेरी डेभलपमेन्ट बैंक
मितेरी डेभलपमेन्ट बैंकको सभा भोलि सुनसरी उद्योग वाणिज्य संघ, धरान १ सुनसरीमा बिहान ११ बजे बस्नेछ ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १२.३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश पारित गर्नेछ ।
यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि कार्य अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सो आवको वित्तीय विवरण पारित गर्ने र संस्थापकबाट प्रतिनिधित्व गर्ने ३ जना संचालक निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुष १४ गतेदेखि पुष २७ गतेसम्म बुकक्लोजको मिति तोकेको थियो । यसर्थ पुष १३ गतेसम्म कायम शेयधरनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।
माउन्टेन हाइड्रो नेपाल लिमिटेड
माउन्टेन हाइड्रो नेपाल लिमिटेडको वार्षिक साधारण सभा भोलि कालिमाटी ब्याङ्क्वेटमा बिहान १० बजे बस्नेछ ।
सभाले गत आवको वार्षिक प्रतिवेदन, सोही आवको वित्तीय विववरणमाथि छलफल गरी पारित गर्नेछ । साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लााभांश प्रस्ताव गरेको छैन ।
दिव्यश्वरी हाइड्रोपावर
दिव्यश्वरी हाइड्रोपावरको चारवटा आर्थिक वर्षको वार्षिक साधारण सभा भोलि बस्ने भएको हो । सभा स्काई दरबार ब्याङ्कक्वेट प्रा.लि. बग्गीखाना छेउ, सिंहदरबार काठमाडौंमा बिहान १० बजे बस्नेछ ।
सभाले चारवटा आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै आव २०७५।७६, २०७६।७७, २०७७।७८ र २०७८।७९ को वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्नेछ । साथै चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
साथै समूह क र ख बाट प्रतिनिधित्व गर्ने संचालकहरु निर्वाचित गर्ने प्रस्तावहरु रहेका छन् । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।