ग्रिनहिल सिटीका अध्यक्ष भेषराज लोहनीद्धारा बैंकको धितो फुक्का नगरी इमाडोलको घर अन्यत्र बिक्री

काठमाडौं । ग्रील हिल सिटीका अध्यक्ष भेषराज लोहनीले त्रिपक्षिय करार बमोजिम चार वर्ष पहिले नै बैंकको नियन्त्रणमा हुनुपर्ने एक करोड ९४ लाख रुपैयाँ मूल्य पर्ने घर अन्यत्र नै बिक्री गरिदिएका छन् । नेपाल राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीको नाम लिँदै बैंकहरुलाई थर्काउँदै आएका लोहनीले सेन्चुरी बैंकमा एक करोड रुपैयाँ कर्जा रहेको इमाडोलस्थित ग्रिनहिल सिटी आवासको घर नं १५ को ६.१ आना जग्गा र सो बनेको घर अन्यत्र नै बिक्री गरेको उनी आफैले बैंकलाई जानकारी गराएका छन् ।
सेन्चुरी बैंकको प्रयासमा भोलिबाट हुने मर्जर अघि नै मिलाउने अन्तिम प्रयास गर्दै त्रिपक्षीयि वार्ता गरिएको थियो । सो वार्तामा ग्रिनहिल सिटीका अध्यक्ष लोहनीले घर दिन नसकिने र उक्त १५ नं को घर अन्य व्यक्तिलाई बिक्री गरिसकिएको जानकारी दिएको वार्तामा सहभागी ग्राहकका प्रतिनिधिले जनाएका छन् । घर कसलाई बिक्री गरेको हो भन्ने खुलाएका छैनन् । हाल सिटिजन्स बैंकको नाममा रोक्का रहेको विश्वास गरिएको सो घर उनले बढि पैसा पाएपछि अर्कैलाई बिक्री गरिसकेको आफैले बताएका हुन् । सेन्चुरी बैंककोे धितोमा रहनुपर्ने घर अन्यत्रै बिक्री गरेको खुलासा गरेपनि नामसारी भइसकेको हो वा बाँकी छ भन्ने विषयमा उनले प्रष्ट नपारेको वार्तामा सहभागी एक प्रतिनिधिले बताए ।
२०७५ पुस २९ गते हस्ताक्षर भएको त्रिपक्षीय सम्झौता अनुसार इमाडोलस्थित ग्रिनहिल सिटीको हाउजिङभित्रको १५ नं को घरका लागि सेन्चुरी बैंकले एक करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । मालपोत कार्यालयबाट नामसारी भएपछि धितो बन्धक रहने गरी उपलब्ध गराएको कर्जालाई जोखिममा पार्ने गरी ग्रिनहिल सिटीले बैंकको धितोमा रहेको घरलाई लोहनीले बैंक र ग्राहकलाई झुक्याएर अन्यत्रै बिक्री गरिदिएका हुन् ।
२०७५ साल पुस २९ गते सेन्चुरी बैंक, ग्राहक र ग्रिनहिल सिटी हाउजिङका बीचमा भएको त्रिपक्षीय करार सम्झौता बमोजिम एक करोड ९४ लाख रुपैयाँमा घर बिक्री गर्ने, ग्राहकको नाममा एक करोड रुपैयाँ सेन्चुरी बैंकले घर कर्जा बापत ऋण निकासी गर्ने र ग्रिनहिल सिटीले ७ दिनभित्र घर फिनिसिङ गरी हस्तान्तरण गर्ने सम्झौता भएको थियो । सो सम्झौता बमोजिम ग्राहकले सोही मितिमा एक करोड तीन लाख रुपैयाँ र सेन्चुरी बैंकबाट एक करोड रुपैयाँ कर्जा डिस्पर्स गरी सिधैं ग्रिनहिल सिटीको सिटिजन्स बैंकको खातामा जम्मा गरिएको थियो ।
एक करोड ९४ लाख रुपैयाँमा बिक्री गरेको घरको नामसारी गर्न आवश्यक पास खर्च समेत गरी दुई करोड तीन लाख रुपैयाँ बुझाइसक्दा समेत ७ दिनभित्रैमा नाम सारी भई बैंक धितो रोक्का हुनुपर्ने जग्गा हालसम्म पनि ग्रिनहिल सिटीले ग्राहकको नाममा नामसारी गरेर दिएको छैन ।
लामो समयदेखि धितोपास भई आउनु पर्ने जग्गा पास गरेर नदिए पछि सशंकित बनेको बैंकले आज पत्र काटेर नै त्रिपक्षिय बैठक बोलाएको थियो । आजको बैठकमा अध्यक्ष लोहनीले घर पास गरेर दिन नदिने अडान राखेपछि बैंक र ग्राहक आश्चर्य चकित हुन पुगेका छन् । घर बिक्री बापत सम्पूर्ण रकम भुक्तानी लिई घर तयार गरी नामसारी गरी दिनुको साटो उल्टै बाहना बाजी गर्न थालेपछि बैंक समेत झस्किएको छ । लामो समयदेखि इमान्दारपूर्वक व्यवसाय गर्दै आएको देशकै प्रतिष्ठित व्यापारिक ग्रुपले कानुन विपरित हुने गरी घर नदिने अडान राख्न थालेपछि बैंक आफैले बोलाएको मिटिङबाट बैंक आफै पछि हटेको छ । बैंकले एक करोड रुपैयाँको साँवा ब्याज असुली गर्दै आएको ऋणीले रकम नै नलिएको अवस्था छ । चार वर्ष अघि बैंकले ऋणीको नाममा डिस्पर्स गरेको ऋण सिधैं ग्रिनहिल सिटीको नाममा भुक्तानी दिएको अवस्थाले ऋणीले बैंकमाथि नै बैंकिङ कसुर मुद्दा हाल्न सक्ने र बैंकका दर्जनौं कर्मचारीहरु फस्न सक्ने अवस्था देखिएको छ । भोलिका दिनमा राष्ट्र बैंक वा अन्य कुनै राज्यका एजेन्सीहरुले एक करोड रुपैयाँको धितो खोज्दा के देखाउने ? एक करोड रुपैयाँ ऋण बापत एक रुपैयाँ पनि लाभ नपाएको व्यक्तिसँग के आधारमा ऋण असुली गर्दै सावा ब्याज लिइरहेको छ भनेर प्रश्न गर्दा के जवाफ दिने ? बैंकका कर्मचारीहरु गम्भिर नैतिक संकटमा परेका छन् ।
नाम चलेकै व्यापारिक समुहले बैंकका कर्मचारीहरुसँगै आफू पनि जेल जाने मार्ग रोज्न थालेपछि ग्रिन हिल सिटी र यसका अध्यक्ष भेषराज लोहनी प्रति बैंकका कर्मचारीहरु सशंकित बन्न पुगेका छन् । आजको वार्तामा बैंकको समेत धितोमा रहनुपर्ने घर सम्झौता बमोजिमको रकम प्राप्त गरिसकेपछि सम्पूर्ण तयार गरी नामसारी गर्नुपर्नेमा उल्टै घर अन्यत्र नै बिक्री गरिदिएको भन्ने जवाफसँगै भाँडिएको पीडित पक्षले जनाएको छ ।
लोहनीले आफू नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विशेष मानिस भएको भन्दै बैंकिङ कसुरमा मुद्दा चलाउन नसक्ने भन्दै बैंकका कर्मचारीहरुलाई थामथुम पार्ने प्रयास गरेको बुझिएको छ । स्रोतका अनुसार लोहनीले आफ्नो अर्बौ रुपैयाँ बैंकमा ऋण रहेकोमा सो सबै राष्ट्र बैंककै कर्मचारीका कारण सम्भव भएको बताउँदै सो घटनामा नियामक निकायलाई समेत मुछ्ने प्रयास गरेका छन् । स्मरणरहोस्, पीडितले एक वर्षअघि नेपाल राष्ट्र बैंकका ऋण रकम अपचलन भएको भन्दै दिएको उजुरी छानविन नै नगरी रद्दीको टोकरीमा फ्याकिएको थियो ।
तस्विर साभारः अनलाईन खवर