मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क आम्दानी २.९८ प्रतिशतले बृद्धि, आईएमई लाइफ सबैभन्दा अगाडि, अन्यको अवस्था कस्तो (तथ्याङ्क सहित)

२२ पुष २०७९, शुक्रबार १५:५७

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को मंसिर महिनासम्ममा ५९ अर्ब ५१ करोड ६२ लाख १८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । १९ जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को तुलनामा यस आवमा २.९८ प्रतिशत बढीले बीमाशुल्क आर्जन बढाएका हुन् ।

गत आर्थिक वर्ष २०७८।७९ को मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ५७ अर्ब ७९ करोड ५६ लाख १८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।  गत आवको यसै अवधिको तुलनामा अधिकांश जीवन बीमा कम्पनीले बीमा शुल्क आर्जनमा प्रगति गरेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ मध्ये ६ जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन भने घट्न पुगेको छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सबैभन्दा प्रिमियम कलेक्सनमा प्रगति गर्ने कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आवको मंसिर महिनासम्म १ अर्ब २४ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेकोमा चालु आवको यसै अवधिसम्म १ अर्ब ४७ करोड ३१ लाख रुपैयाँ प्रिमियम कलेक्शन गर्न सफल भएको छ । जुन यो गत आवको तुलनामा १८.६८ प्रतिशतले बढी हो । आइएमई लाइफले यस वर्षमा आफ्नो बीमा ब्यवसाय बढाउँदै गएको छ । यसकारण पनि कम्पनीको गत आवको तुलनामा यस वर्ष व्यवसाय बढेको देखिएको हो ।

त्यस्तै, बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै नेशनल लाइफ इन्स्योरेन्सले गत आवको तुलनामा बीमा ब्यवसाय १५.७७ प्रतिशतले बढाएको छ । साथै महालक्ष्मी लाइफले पनि गत आवको तुलनामा १४.८५ प्रतिशत बीमा ब्यवसाय बढाउन सफल भएको छ ।

त्यस्तै रिलायबल लाइफको १४.८५ प्रतिशत, सानिमा लाइफको ७.१५ प्रतिशत, एलआइसी नेपालको ६.६४ प्रतिशत, सिटिजन लाइफको ६.४१ प्रतिशत, ज्योति लाइफको ५.४५ प्रतिशत, रिलायन्स लाइफको ५.३२ प्रतिशत, एशियन लाइफको २.८८ प्रतिशत, नेपाल लाइफको १.१६ प्रतिशत, सन नेपाल लाइफको ०.४२ प्रतिशत र सूर्या लाइफको ०.२४ प्रतिशतले बीमा ब्यवसाय बढेको छ ।

गत आवको तुलनामा चालु आवमा बीमा ब्यवसाय घट्ने ६ कम्पनी
गत आवको मंसिर महिनासम्मको तुलनामा १९ जीवन बीमा कम्पनी मध्ये ६ जीवन बीमा कम्पनीको यस आवको मंसिर महिनामा बीमा ब्यवसाय घटेको छ । गत आवको तुलनामा चालु आवमा कुल बीमा शुल्क आर्जन घट्ने कम्पनीमा गुराँस लाइफ, युनिय लाइफ, मेट लाइफ, प्राइम लाइफ, प्रभु लाइफ र राष्ट्रिय बीमा संस्थान रहेको छ ।

सो मध्य पनि सबैभन्दा बढी व्यवसाय खस्किने कम्पनीमा गुराँस लाइफ रहेको छ । कम्पनीको गत आवको तुलनामा चालु आवको मंसिर महिनामा बीमा ब्यवसाय १४.०७ प्रतिशतले घटेको छ ।

त्यस्तै, युनियनको ६.०१ प्रतिशत, मेट लाइफको ४.३९ प्रतिशत, प्राइम लाइफको ३.९४ प्रतिशत, प्रभु लाइफको २.९५ प्रतिशत र राष्ट्रिय बीमा संस्थाको १.५९ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*