लाभांश र मर्जरप्रस्तावसहित नेपाल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै
काठमाडौं । लाभांश प्रस्तावसहित नेपाल इन्स्योरेन्स लिमिटेडको ७४औं वार्षिक साधारण सभा भोलि बस्दैछ । सभा पुष २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
सभाले गत आव २०७८।७९ को कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश गरी कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले हाल कायम रहेको चुक्तापुँजी एक अर्ब ३७ करोड ८९ लाख रुपैयाँ रहेकोमा बोनस शेयर जारी गरेपश्चात कम्पनीको कायम हुने चुक्तापुँजी एक अर्ब ४८ करोड ९३ लाख रुपैयाँ कायम गर्ने तथा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
यसका साथै अन्य निर्जिबन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धित विषयमा निर्णय गर्न संचालक समितिलाई दिइर्एको सम्पूर्ण अधिकारलाई निरन्तरता प्रदान गर्ने सभाको विशेष प्रस्ताव रहेको छ ।
यसका अलावा गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरण प्रयोजनार्थ पुष ८ गते एक दिन बुकक्लोज गरिसकेको छ । यसर्थ पुष ७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र लाभांश पाउनेछन् ।