जीवन बीमक संघका पदाधिकारी र उपप्रधान तथा अर्थमन्त्री पौडेलबीच भेटवार्ता, संस्थागत निक्षेपमा समान ब्याजदरको माग

२१ पुष २०७९, बिहीबार १०:०२

काठमाडौं । नेपाल जीवन बीमक संघका पदाधिकारी र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलका बीचमा जीवन बीमा क्षेत्रका समसामयिक विषयमा छलफल भएको छ । हिजो अपरान्ह अर्थमन्त्रालयमा भेटघाटको क्रममा जीवन बीमा व्यवसाय, समग्र बीमा क्षेत्रको बारेमा छलफल भएको हो ।

संघका अध्यक्ष पोषक पौडेलको नेतृत्वमा गरेको टोलीले अर्थमन्त्री पौडेललाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै जीवन बीमा क्षेत्रका समस्याका विषयमा जानकारी गराएको थियो । जीवन बीमक संघका निवर्तमान अध्यक्ष निर्मलकाजी श्रेष्ठ, अध्यक्ष पोषक पौडेल, महासचिव प्रकाशविक्रम खत्री र कोषाध्यक्ष दिनेशलाल श्रेष्ठको टोलीले मन्त्री पौडेलसँग भेटवार्ता गरेको थियो ।

सो क्रममा जीवन बीमा क्षेत्रका समस्या र यसलाई हेर्ने सरकारी दृष्टिकोणका बारेमा छलफल भएको थियो । जीवन बीमक संघले जीवन बीमा कम्पनीहरुले गाउँ गाउँमा पुगेर संकलन गरेको ससानो रकमलाई देशको लागि पुँजि निर्माण गर्ने भएकोले यसलाई हेर्ने सरकारी दृष्टिकोण बदल्नुपर्ने माग अघि सारेको छ । त्यस्तै, संघले संस्थागत निक्षेपको नाममा बीमा कम्पनीमा रहेको निक्षेपलाई दुई प्रतिशत कम ब्याजदर दिने व्यवस्था हटाउन माग गरेको छ । जीवन बीमा क्षेत्रमा चार खर्बभन्दा बढि अर्थात कूल निक्षेपको १० प्रतिशत हाराहारीमा पुँजि जम्मा भएको छ ।

सो क्रममा संघको तर्फबाट बीमा क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, सरकारले कोषको रुपमा हेरेर सोही अनुरुप व्यवहार गर्नुपर्ने, सरकारको जोखिम बहन गर्ने टुलको रुपमा उपयोग गरी जनतालाई राहत दिन बीमाको उपयोग गर्नुपर्ने लगायतका लिखित सुझाव पेश गरेको छ ।

गाउँ–गाउँमा पुगेर, संकलन गरेको रकम संकलन गरी राष्ट्रिय पुँजि निर्माण गर्दै आएको विषयलाई सरकारले उच्च प्राथमिकता र महत्वका साथमा हेर्नुपर्ने सुझाव अर्थमन्त्री पौडेलसँग राखेको छ । छलफलमा मन्त्री पौडेलले जीवन बीमा क्षेत्रको महत्व सरकारले बुझेकोले सहकार्य गरेर अघि बढ्ने जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*