मंसिर महिनामा अधिकांश जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन घट्यो, रिलायबल लाइफको देखियो प्रगति (तथ्याङ्कसहित)

२० पुष २०७९, बुधबार १५:२६

काठमाडौं । मंसिर महिनामा जीवन बीमा कम्पनीहरुले नविकरणमार्फत ११ अर्ब ३५ करोड १० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क आर्जन एक महिनामा ३८.२१ प्रतिशतले बढेको हो ।

अघिल्लो महिना कात्तिमा जीवन बीमा कम्पनीहरुले ८ अर्ब २१ करोड २९ लाख रुपैयाँ नविकरणमार्फत प्रिमियम कलेक्शन गरेका थिए । एक महिनाको अन्तरालमा नविकरण बीमाशुल्क आर्जनमा सबैभन्दा बढी प्रगति गर्ने कम्पनीमा राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानको एक महिनाको तुलनामा रिन्यु प्रिमियम कलेक्सन १११९.४० प्रतिशतले बढेर ३ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ पुगेको छ । कात्तिम महिनामा संस्थानले ३२ करोडमात्रै नविकरण बीमाशुल्क आर्जन गरेका थियो । संस्थानले नागरिक लगानी कोष र संचय कोषको साउनको रकम मंसिर महिनामा थप गर्दा नविकरण बीमा शुल्क आर्जनमा बृद्धिदर देखिएको हो ।

त्यस्तै, बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै रिलायबल नेपाल लाइफले पनि कात्तिक महिनाको दाँजोमा मंसिर महिनामा २६.५३ प्रतिशत प्रगति गरेको छ । कम्पनीले एक महिनामा सो प्रतिशत नविकरण बीमा शुल्क बढाएर १९ करोड ७ लाख रुपैयाँ नविकरणमार्फत प्रिमियम कलेक्सन गर्न सफल भएको छ ।

त्यस्तै, आइएमई लाइफले पनि मंसिर महिनामा नविकरण बीमा शुल्क आर्जन ९.६१ प्रतिशत बढाउन सफल भएको छ । साथै ज्योति लाइफको ४.२८ प्रतिशत, सिटिजन लाइफको १.३३ प्रतिशत र एलआइसी नेपालको ०.५० प्रतिशतले बढेको छ ।

नविकरण बीमा शुल्क घट्ने १३ कम्पनी
१९ जीवन बीमा कम्पनीमध्ये १३ वटा जीवन बीमा कम्पनीको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नविकरण बीमा शुल्क घटेको छ । अधिकांश जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क घट्दा सिँगो बीमा इन्डस्ट्रि नै धरापमा पर्न गएको छ ।

बीमा कम्पनीहरुमा धमाधम बीमा सरेन्डर हुन थालेसँगै अधिकांश कम्पनीको नकिवरणमार्फत बीमा शुल्क आर्जन घट्न पुृगेको देखिएको हो । सबैभन्दा बढी नविकरण बीमा शुल्क घट्ने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा रिन्यु प्रिमियम कलेक्सन २८.७५ प्रतिशतले घटेको छ ।

त्यस्तै, रिलायन्सको २८.३३ प्रतिशत, प्राइम लाइफको १८.५८ प्रतिशत, युनियन लाइफको १५.७ प्रतिशत, सानिमा लाइफको १४.४७ प्रतिशत, सन नेपाल लाइफको १३.१५ प्रतिशत, गुराँस लाइफको १२.३६ प्रतिशत, सूर्या लाइफको १२.३६ प्रतिशत, नेशनल लाइफको ८.१६ प्रतिशत, प्रभु लाइफको ७.६२ प्रतिशत, मेट लाइफको ७.४३ प्रतिशत, एशियन लाइफको ६.२८ प्रतिशत र नेपाल लाइफको ४.४४ प्रतिशतले नविकरण बीमा शुल्क आर्जन घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*