प्रभु लाइफको बीमाङ्कीय मूल्याङ्कनमा समस्या, थप प्रमाणिकरण गर्न दोस्रो एक्चुरी थपियो

२० पुष २०७९, बुधबार ०७:३१

काठमाडौं । मर्जर प्रक्रियामा रहेको प्रभु लाइफको इन्स्योरेन्स कम्पनीको एक्चुरीले गरेको बीमाङ्कीय मूल्याङ्कनमा समस्या देखिएकाे छ । सो कम्पनीको तर्फबाट पेश गरिएको बीमाङ्कीय मूल्याङ्कनमा समावेश गरिएका कतिपय तथ्यहरु शंका लागेपछि थप अध्ययन सुरू भएकाे छ । एपोन्टेन्ट एक्चुरीले गरेको काम शंकास्पद देखिएपछि कन्सल्टेन्ट एक्चुरी (पेयर रिभ्युअर) मार्फत प्रमाणिकरण गर्न लागिएको हो ।

नियामकीय प्रश्नसँगै प्रभु लाइफले  बीमाङ्की थप गरी काम गराइरहेको छ । हरेक जीवन बीमा कम्पनीहरुको लेखा परिक्षण गर्नु अघि एक्चुरी (बीमाङ्की) मार्फत बीमाङ्कीय मूल्याङ्कन गराउनु पर्दछ । बीमाङ्कीय मूल्याङ्कनले कम्पनीले धारण गरेको जोखिम निर्धारण गरी सो बापत कोषको व्यवस्था गरी सही मुनाफा निकाल्न मद्दत गर्दछ । त्यस्तो बीमाङ्कीय मूल्याङ्कन गर्दा धेरै कोणबाट जोखिमको विश्लेषण गरिएको हुनु पर्दछ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी प्रभु लाइफ इन्स्योरेन्स कम्पनीसँ मर्जरमा जाँदैछ । नयाँ एक्चुरी नियुक्त गरी तेस्रो पक्ष प्रमाणिकरण प्रक्रिया सुरु भइसकेको स्रोतले जनाएको छ । नयाँ एक्चुरी नियुक्तसँगै दुई कम्पनीको मर्जर प्रक्रिया केही ढिलाई हुने भएको छ ।

आव २०७७।७८ को वित्तीय विवरणमा आधारित मर्जर प्रक्रियामा अर्को कानुनी जटिलता बाँकी छ । आव २०७८।०७९ को वित्तीय विवरण पास नगरी मर्जरमा जान मिल्ने कि नमिल्ने कानुनी जटिलता उत्पन्न भएको बेला कम्पनीले आफ्नो एक्चुरी फेरबदल गरेको हो ।

*यसअघि महालक्ष्मी लाइफको अनावश्यक रुपमा नाम मिसिन गएकोमा संसोधन गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*