जीवन बीमा कम्पनीहरुको मर्जर प्रक्रिया अप्ठेरो मोडमा, ७ जीवन बीमा कम्पनी एकीकृत कारोबार मिति अनिश्चित

१८ पुष २०७९, सोमबार ०९:३९

काठमाडौं । प्राविधिक त्रुटीबारे समयमा नै सचेतना नअपनाउँदा जीवन बीमा कम्पनीहरुको मर्जर प्रक्रिया जटिल मोडमा पुगेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक आर्थिक वर्षको वित्तीय विवरण र लेखा परिक्षण नै नगरी एकीकृत कारोबार गरेपछि उत्पन्न परिस्थितिले अन्य जीवन बीमा कम्पनीहरुको समेत मर्जर प्रक्रिया जटिल मोडमा पुगेको हो ।

भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक आवको लेखापरिक्षण नै नगरी वित्तीय विवरण समेत बार्षिक साधारणसभाबाट पारित नगरी मर्जर गरिएको सम्बन्धमा कारवाही गर्न बीमा प्राधिकरणलाई लिखित निर्देशन दिएको घटनाले अन्य जीवन बीमा कम्पनीहरुको समेत मर्जर अप्ठरो अवस्थामा पुगेको हो । आयोगले स्पष्ट निर्देशन दिँदै कारवाही गरी जानकारी गराउनु भन्ने स्पष्ट निर्देशनले बीमा प्राधिकरण समेत अप्ठेरो अवस्थामा पुगेको छ । कारवाही नगर्दा नियामकीय क्षमतामाथि प्रश्न उठ्ने तथा अख्तियारमा पुनः पुरक निवेदन परेको खण्डमा बीमा प्राधिकरणमाथि नै कारवाही हुनसक्ने भएकोले समेत यो विषय निकै पेचिलो बन्न पुगेको छ ।

अख्तियारको सो निर्णयले हाल मर्जरको प्रक्रियामा रहेका अन्य जीवन बीमा कम्पनीहरु समेत प्रभावित बन्ने भएका छन् । आव २०७७।०७८ को वित्तीय विवरणका कारणमा मर्जर तथा एकीकृत कारोबार गरेकोमा आयोगले एक आर्थिक वर्षको वित्तीय विवरण पास नगरिएको विषयलाई प्रश्नको रुपमा उठाएको छ ।

आयोगले सूर्यज्योति लाइफको प्रकरणमा प्रश्न उठाएकोले अब अन्य मर्जरमा रहेका जीवन बीमा कम्पनीहरुको समेत मर्जर प्रभावित हुनसक्ने देखिएको छ । हालसम्मको तयारी अनुसार महालक्ष्मी लाइफ–प्रभु लाइफ, गुराँस–प्राइम–युनियन लाइफ र रिलायन्स–सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७७।०७८ को वित्तीय विवरण तथा लेखा परिक्षण गरेर मात्रै मर्जरमा जाने तयारी गरेका छन् ।

 

एक आर्थिक वर्षको वित्तीय विवरण ग्याप राखेर मर्जर जाने तयारी गरेकाले अब सबै कम्पनीहरुले आव २०७८।०७९ सम्मकै लेखा परिक्षण, डिडिए तथा वित्तीय विवरण तयार पारी पछिल्लो आवको वित्तीय विवरणको आधारमा तयार पारिएको स्वाप रेसियोका आधारमा मर्जरमा जानुपर्ने अवस्था सिर्जना भएको छ । कम्पनीहरु भने दवाव परेका छन् । दवाव परेका कम्पनीहरु मध्ये रिलायन्स–सानिमा लाइफले आव २०७८।०७९ कै वित्तीय विवरण र डिडिए गर्नुपरेमा पनि सो सम्बन्धी प्रक्रिया पूरा गर्न आवश्यक तयारी गरिसकेको छ । गुराँस, प्राइम र युनियन लाइफलाई उक्त प्रक्रिया पुरा गर्नुपरेमा निकै कठिन पर्ने देखिएको छ ।

यद्यपि यस सम्बन्धमा औपचारिक कुनै निर्णय भएको छैन । पछिल्लो पटक उत्पन्न भएको नयाँ परिस्थितिपछि ७ वटा जीवन बीमा कम्पनीहरुको एकीकृत कारोबार अनिश्चित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*