१३ बीमा कम्पनीको मर्जर अझै बाँकी, चैत्र ११ नजिकिँदै जाँदा थप दवावमा बीमा कम्पनी
काठमाडौं । बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजि बृद्धि गर्ने समयावधी आगामी चैत्र ११ गते सकिदैछ । सो अवधी नजिकिँदै जाँदा बीमा कम्पनीहरु मर्जरका लागि थप दवाव अनुभव गर्दैछन् । अधिकांश बीमा कम्पनीहरुले मर्जरको लागि विशेष चासो देखाउन थालेका छन् । नेपाल बीमा प्राधिकरणको निरन्तर मर्जरको ताकेता गरेपछि बीमा कम्पनीहरु एक आपसमाअझ लागिपरेका छन् ।
हालसम्म ६ वटा बीमा कम्पनीहरुले एकीकृत कारोबार थालीसकेका छन् । निर्जीवन बीमा व्यवसायतर्फ हिमालयन जनरल, एभरेष्ट इन्स्योरेन्स र सानिमा जनरल र जनरल इन्स्योरेन्स एक आपसमा मर्ज भई एकीकृत कारोबार शुरु गरेका छन्।
त्यस्तै, जीवन बीमातर्फ भने सूर्या लाइफ र ज्योति लाइफ एक आपसमा मर्ज भई एकीकृत कारोबार शुरु गरेका छन् । अब १३ वटा कम्पनी मर्जर प्रक्रियामा रहेका छन् ।
प्रिमियर र सिद्धार्थले मर्जरको विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरिसकेका छन् । यि दुईले साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गर्ने वित्तिकै एकीकृत कारोबारको लागि तयारी गर्ने छन् ।
जीवन बीमा कम्पनीतर्फ यूनियन, प्राइम, गुँरास लाइफ, महालक्ष्मी र प्रभु लाइफ, सानिमा र रिलायन्स लाइफ मर्जरको प्रक्रियामा रहेका छन् । यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ लुम्बिनी र सगरमाथा, प्रिमियर र सिद्धार्थ, प्रभु र अजोड इन्स्योरेन्स मर्जरको प्रक्रियामा छन् ।
नेपाल बीमा प्राधिकरणबाट मर्जरको लागि स्वीकृति लिएका कम्पनीमध्ये ६ कम्पनीले मात्रै एकीकृत कारोबार शुरु गरेका छन् । अन्य कम्पनीहरुको मर्जर प्रक्रिया भने बाँकी नै छ । जीवन बीमा कम्पनीहरुको मर्जर प्रक्रिया निकै नै झन्झटिलो भएकोले अझै समय लाग्ने देखिएको छ ।
गत जेठ ३ गते प्राधिकरणबाट मर्जरको स्वीकृति लिएका प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया अझै अन्यौलमै छ । कम्पनीहरुले आगामी पुस मसान्तसम्म एकीकृत कारोबार गर्ने विवरण प्राधिकरणमा बुझाए पनि मर्जर प्रक्रियामा नै अलमलमा परेको प्राधिकरणको बुझाइ छ ।गुराँस लाइफ तीन वटा कम्पनीमध्ये पुरानो कम्पनी हो, प्राइम लाइफको पोर्टफोलियोे ठुलो छ । त्यस्तै, युनियन लाइफको व्यवस्थापन समूह बलियो छ ।
तीनवटा कम्पनीको आ–आफनै बिशेषता भएका कारण पनि मर्जरमा समस्या भएको हुन सक्ने प्राधिकरणको बुझाई छ । तीन वटै कम्पनी आ–आफनै अडानमा छन् । जसका कारण मर्जर प्रक्रिया अगाडि बढ्न अप्ठेरो परेको छ ।
त्यस्तै, महालक्ष्मी लाइफ र प्रभु लाइफको मर्जरको प्रक्रियामा पनि समस्या देखिएको छ । दुवै कम्पनी बीच तादम्यता नमिल्दा मर्जर भाँडिन सक्ने देखिएको जानकारहरु बताउँछन् । कम्पनीहरुले भने फागुनदेखि एकीकृत कारोबार गर्ने विवरण प्राधिकरणमा पेश गरेको छ ।
प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच पनि मर्जरको प्रकृया अघि बढिरहेको छ । मर्जरपछि कम्पनीको नाम राख्ने बिषयमा नै सहमति जुट्न सकेको छैन । प्रभु इन्स्योरेन्स कम्पनीले मर्जरपछि कम्पनीमा प्रभु नाम छुट्न नहुने शर्त राखेको छ । जुन अजोड इन्स्योरेन्सका सञ्चालकलाई स्वीकार्य नभएको बताउँदै आएका छन् ।
यद्यपी कम्पनीले अगामी फागुनको अन्तिम देखि एकीकृत कारोबार शुरु गर्ने विवरण प्राधिकरणमा पेश गरेको छ ।रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्स बिच भने मर्जरका लागि डिडिए भै रहेको छ । कम्पनीले पुस देखि एकीकृत कारोबार गर्ने विवरण प्राधिकरणमा बुझाएको छ ।
प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीचमा पनि डिडिए भै रहेको छ । कम्पनीले आगामी फागुन देखि एकीकृत कारोबार गर्ने जनाएको छ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले माघ देखि एकीकृत कारोबार गर्ने गरी प्राधिकरणमा विवरण पेश गरेका छन् ।
त्यस्तै, प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्स, आइएमइ जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स बिच मर्जरको लागि मर्जर कमिटि गठन भएको छ । तर प्रगति उन्मुख छलफल हुन सकेको छैन ।तर अन्तिम टुगो नलागि प्रकृयामा वाधा आएको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले मर्जरको पहिलो थलानी गरेपनि आ आफनो अडानको कारण प्रकृया सम्भव भने देखिएको छैन ।
सिटिजन लाइफ, सन लाइफ र आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले भने प्राथमिक शेयर निष्काशनमार्फत चुक्ता पुँजि पुर्याउने योजना अघि सारेका छन् । यी कम्पनीहरुले पुँजी इन्जेक्ट गर्ने विवरण पेश गरेका छन् । साथै एनएलजी इन्स्योेरेन्स, एशियन र रिलायबल इन्स्योरेन्स कम्पनीले पनि पुँजी इन्जेक्ट गर्ने योजना बुझाएको प्राधिकरणले जनाएको छ ।
तर, युनाईटेड इन्स्योरन्स भने आफै अलमलमा छ । पुँजि वृद्धिको लागि कम्पनीले नयाँ कम्पनीसँग अघि बढाउन सकेको छैन । साथै कम्पनी पुँजि थप गर्न समेत तयार छ ।नेपाल लाइफ र शिखर इन्स्योरेन्सले चुक्ता पुँजिको सीमा पुरा गरिसकेका छन् । नेको इन्स्योरेन्स, एलआईसी, नेशनल लाइफलाई चुक्ता पुँजि पुर्याउन कुनै समस्या छैन ।विदेशी कम्पनीको शाखाको रुपमा कार्यरत, नेशनल, ओरियण्टल र मेट लाइफको लागि भने प्राधिकरणले असाइन क्यापिटल तोकेको छ ।