सूर्यज्योति अब अझ बृहत, अझ सबल र अझ बिशाल
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेस्वर स्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य समुद्घाटन गरेको छ ।
सुर्यालाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । असार १२ ,२०७९ मा प्रारम्भिक सम्झौता गरेको कम्पनीले निकै चुनौतिका बावजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफल भएको हो ।
मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी ४.५४अर्ब रुपैयाँ पुगेको छ । यससँगै कम्पनी चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ । एकीकृत कारोबार पश्चात सूर्यज्योतिको जीवन बीमाकोष २२ अर्ब रुपैयाँ, लगानी २८ अर्ब रुपैयाँ र कुल शाखा संख्या १८१ पुगेको छ भने कुल कर्मचारीको संख्या ६७५ पुगेको छ ।
एक उज्जवल सुरुवात भन्ने नाराका साथ नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रमा अझ बृहत,अझ सवल र अझ विशाल उपस्तिथी सूर्यज्योतिको हुनेछ । सूर्य र ज्योतिमा सात रंग भएझैं सूर्यज्योति पनि शुरुवात, न्यायोपन, प्रष्ट, उज्जवल, प्रतिवद्ध, समय र उर्जाका साथ एकभई अगाडि बढ्ने कम्पनीको अठोट रहेको छ ।
उद्घाटन समारोहलाई संबोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललले तोकिएकै समयमा सफलतापुर्वक मर्जर सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । उनले कम्पनीको यस उपलब्धीलाई स्वर्ण अक्षरमा लेखिने प्रतिकृया दिएका थिए । जीवन बीमा क्षेत्रमा सूर्यज्योतिले ट्रेण्ड सेट गरेको भन्दै उनले यस उपलब्धीले अन्य कम्पनीहरुलाई पनि मर्जरको लागि प्रोत्साहन गर्ने बताए । साथै अध्यक्ष सिलवालले जीवन बीमा क्षेत्रमै ठूलो सफलता भएको र कम्पनीले नयाँ इतिहास रचेकोको बताएका छन् ।
कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टाइले मर्जरका लागि जति जटिल हुन्छ भनेर सोचिएको थियो सोचे अनुसार जटिल नभएको बताए । मर्जरकका क्रममा दुबै पक्षले निष्पक्ष रुपमा काम गरेको हुँदा समस्या नपरेको समेत उनले प्रष्ट पारे । अधक्ष्य भट्टराईले यो मर्जर सफल बनाउन अहम भूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरु ,कर्मचारी साथीहरु ,मार्ग निर्देश गर्नुहुने बिमाप्राधिकरण तथा शेयरधनी महानुभावहरुलाई हृदय देखि धन्यवाद व्यक्त गरेका थिए ।
मर्जरका क्रममा विश्वमा चलेका राम्रा अभ्यासलाई पछ्याउदा धेरै सहजताका साथ मर्जर गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए । दुबै कम्पनीको एक्चुरीयल मूल्याङ्कन, लेखापरीक्षण प्रतिवेदनलाई पियर रिभ्यु गरेर काम गरिएको उनले प्रष्ट पारे । सूर्या लाइफ जस्तो १५ वर्षको परिपक्व कम्पनी र ५ बर्षको छोटो समयमै आफूलाई अव्वल साबित गरेको ज्योतिलाइफ कम्पनि बीच भएको संयोजनले राम्रो प्रतिफल दिने खत्रीको विश्वास छ । मर्जपछि कम्पनीले टेक्नोलोजीमा लगानी गर्नुपर्ने र बजारमा आफ्नो प्रडक्ट मोडिफाई गर्नमा ध्यान दिनुपर्ने र कम्पनीले आउने दिनमा व्यवसाय बढाउने र सूर्यज्योतिलाई बीमा क्षेत्रकै बेञ्चमार्क बनाउने कम्पनीको प्रण रहेको सीईओ खत्रीले बताए ।
सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ समेत रहेका जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, सगरमाथा इन्स्योरेन्सका सीईओ समेत रहेका बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले, कम्पनीको प्रगति तथा सफलताको कामना दिनुका साथै आ आफ्ना तर्फ बाट शुभकामना व्यक्त गरे ।साथै कम्पनीका ब्राण्ड एम्बेस्डर राजेश हमालले नामजस्तै काम गरेर बीमा क्षेत्रमा प्रकाश छर्दै अघि बढ्न शुभकामना दिएका छन ।
कम्पनीले एकिकृत कारोबार सुभारम्भ भएको दुई दिनमै एक हजार भन्दा धेरै पोलिसी जारी गरेको छ ।