बीमाका नविनतम प्रवृत्ति
जीवन र जगत जोखिममुक्त छैन । संभावित घटना दुर्घटना टार्न सकिदैन तर घटना दुर्घटनाबाट सृजना हुने जोखिमको व्यवस्थापन गर्न सकिन्छ । जीवनको सट्टा अर्को जीवन पाउन सकिदैन तर एउटा जीवनको अनुपस्थितिमा हुन सक्ने संभावित जोखिमको व्यवस्थापन गर्न सकिन्छ । त्यस्तै बस्तु र व्यवसायमा हुन सक्ने हानी नोक्सानीको पनि व्यवस्थापन गर्न सकिन्छ ।
आधुनिक वीमा व्यवसायको विकास हुनु भन्दा सयौं वर्ष अगाडि नै हिन्दु धर्मग्रन्थ, मनुस्मिृति, मेसोपोटामियाको सभ्यता आदिमा हानी नोक्सानीलाई क्षतिपूर्ति दिने परम्परा रहेको थियो। समाजमा आपत विपत पर्दा एक अर्कालाई मानवताको आधारमा सहयोग गर्ने परम्परा हरेक सभ्यतामा कुनै न कुनै रुपमा रहेको पाईन्छ ।
यहि मौलिकतामा व्यवसायीक रुपमा दैविक विपद (जनजीवनमा रहेको विश्वास), प्राकृतिक विपद, पूर्वानुमान गर्न नसकिने हानी नोक्सानी, चोरी, आगलागी, नाशिने विग्रने जस्ता जोखिमहरुबाट जीवन र व्यवसायको निरन्तरताको लागि क्षतिपूर्तिको व्यवस्था गर्ने व्यवसायको रुपमा वीमा व्यवसायको विकास हुदै आएको छ । वीमाले व्यवसायीक निरन्तरतामा सुरक्षा र सुनिश्चिततामात्रै प्रदान नगरेर सामाजिक सुरक्षा कार्यक्रमहरुको दिगोपनाको लागि पनि स्रोतको सुनिश्चितता प्रदान गर्दै आएको छ ।
वीमा विमक र विमितवीच हुने एउटा संझौता हो जहाँ विमकले विमितको संभावित जोखिमबाट हुन सक्ने हानी नोक्सानीको क्षतिपूर्ति दिने गर्दछ ।यस्का लागि विमितले नियमीत रुपमा विमकलाई निश्चित शुल्क प्रिमियम बुझाउनु पर्दछ । यही नै वीमा व्यवसाय हो। व्यवसायको प्रकृतिको आधारमा धेरै खालका वीमा कार्यक्रमहरु सञ्चालनमा रहेको पाइन्छ ।
मुख्यत : जीवन वीमा, स्वास्थ वीमा, आगलागी वीमा, सवारी साधन वीमा, दुर्घटना वीमा, आय वीमा, निक्षेप वीमा, कर्जा वीमा, यात्रु वीमा, सामुद्रिक वीमा आदि हुन । वीमाले जोखिमलाई बाँडफाँड गर्ने कार्य गर्दछ ।
विमितबाट हुन सक्ने ठूलो दाबीको व्यवस्थापन गर्न विमकले अन्य वीमकसंग संझौता गरी जोखिम बाँडफाँड गर्ने कार्यलाई पुनर्वीमा भनिन्छ । यस्ले वीमा व्यवसायमा सुशासन र विश्वसनियता कायम गर्न महत्वपूर्ण योगदान गरेको छ । समग्र समाज र बातावरणमा आएको परिवर्तनको प्रभाव वा असर वीमा क्षेत्रमा नपर्ने कुरै भएन । वर्तमान समयमा वीमा व्यवसायमा देखिएका समसामयिक प्रवृत्तिहरुलाई तल उल्लेख गर्ने गरिएको छ :
१. वातावरण, समाज र सुशासन
विश्व वातावरणमा आएको परिवर्तनले वीमा व्यवसायलाई प्रत्यक्ष असर गरिरहेको छ । अनावृष्टि, अतिवृष्टि, तापमान वृद्धि, सामुद्रिक आधि, बाढी पहिरो, ठूला ठूला जंगल आगलागि आदि जस्ता वातावरणीय परिवर्तनले वीमा व्यवसायको जोखिम बहन गर्ने क्षमता मै प्रश्न खडा गरिदिएको छ । आर्थिक उदारीकरणले विश्व आज एक गाउँ भएको सन्दर्भमा फरक फरक भुगोलबाट आएर बसोबासर गर्ने मानिसहरुको कारण सामजिक संस्कार र बनोटमा परिवर्तन हुदै गएको छ ।
बसाई सराईको कारण हिजोको जस्तो एकल रितीरिवाज, परम्परा, धर्म संस्कार, वर्ण, जात जातिको समाज नभई विभिन्न जात जाति, धर्म संस्कार, वर्ण आदि मिश्रित समाज बन्दै गएको कारण परिवर्तित समाजमा गरिने व्यवसायको स्वभावमा परिवर्तन आएको छ । असल शासनको अभावमा कुनै पनि व्यवस्थाको सफलताको अपेक्षा गर्न सकिदैन । संसारभर अहिले सुशासनको विषय पेचीलो हुदै गएको छ ।
सुशासनको अभावमा व्यवसायीक जगतमा विश्वासको संकट सृजना हुन्छ । इमान्दारिता र विश्वसनियतामा नै वीमा व्यवसाय आधारित छ । समाजमा पैसाको लागि मानिसको जीवनै दुर्घटनामा पारि वा पार्ने कार्य गर्ने प्रवृत्ति बढ्दो छ ।
कानूनका छिद्रहरु पत्ता लगायर व्यक्तिगत फाइदाको लागि जे पनि गर्न तयार हुने संस्कारलाई परिवर्तन गरी इमान्दारिता, सर्वे भवन्तु सुखिना, सर्वजन हिताय, सर्वजन सुखायको असल संस्कारमा समाजलाई रुपान्तरण गर्नु चुनौतिपूर्ण बन्दै गएको छ । वातावरण, समाज र सुशासनकै दीगोपनाको आवस्यकता बढ्दै गएको छ । बातावरणको मात्रै दीगो विकास होइन समाज र सुशासनको पनि दीगोपनाको कारणले वीमा व्यवसायमा असर परी रहेको छ ।
२. कोभिड—१९ को प्रभाव
सन् २०१९ को डिसेम्बरबाट संसारभर फैलिएको कोभिडले विश्वलाई नै एकै पटक ठप्प पार्दा त्यस्को प्रभाव वीमा व्यवसायमा अधिक पर्न गयो। वीमा व्यवसायको विश्वसनियता माथि पनि कति पय अवस्थामा प्रश्न खडा गरिदियो।
जोखिम आंकलन र क्षतिपूर्तिको विषय एक्चुअरीहरुले लिएका मान्यता र आंकलन गरेको अंकभन्दा धेरै फरक हुन गयो। यस विषयले विषय विज्ञहरुलाई थप सोच्न र अध्ययन गर्न वाध्य बनाएको छ । कोभिडले वीमा व्यवसायलाई धेरै शिक्षा दिएको छ । वीमाको पनि सिमा हुन्छ भन्ने बुझ्न र व्यवहार गर्न वाध्य बनाएको छ ।
वर्क फ्रम होम, अनलाइन कक्षा, अनलाइन व्यापार, सवारी साधनको ग्यारेजीड.र सवारी दुर्घटना जस्ता विषयहरुले वीमा व्यवसायको स्वरुपमा नै परिवर्तन गर्न पर्ने अवस्था ल्याइ दिएको छ ।One shoe size doesn‘t fit for all भन्ने मान्यतालाई आत्मसाथ गर्नु पर्ने भएको छ । एकै पटक लाखौ मानिसको मृत्यु, स्वास्थ उपचार, सम्पूर्ण व्यवसाय र कारखाना बन्दा बन्दी तथा राज्यहरुकै औपचारिक घोषणा अनुरुपको बन्दा बन्दी अवस्थाको हानी नोक्सानीको आंकलन गर्ने विषय अकल्पनिय रहेकाले आगामी दिनमा पोलिसीहरु डिजाइन गर्दा यस्ता विषयलाई कसरी व्यवस्थीत रुपमा सम्बोधन गर्न पर्दछ भन्ने विषय थप अध्ययन अनुसन्धान गर्नु पर्ने भएको छ ।
३. सूचना प्रविधि
संसारमा भएको सञ्चार क्षेत्रको विकासले मानव जीबनलाई अझ बढी सहज र व्यवस्थीत बनाउन मद्धत गरिरहेको छ । प्रविधिमा भएको विकासले जीवनमा अवसर मात्रै नभई चुनौतिहरु पनि साथै लिएर आएको छ । सूचना संकलन र विश्लेषणमा सहजता ल्याएको छ । मानव विहिन रोवोटिक्स प्रोसेस अटोमेसन सेवा सञ्चालनका लागि Chatbots, Artificial Inteligence को प्रयोग बढ्दै गएको छ । सेवाग्राहीसंग हुने सञ्चार र अन्तरक्रिया सन् २०२५ पश्चात ९५ प्रतिशत अजबतदयतक बाट हुने अध्ययनहरुले देखाएको छ । यसले समय र लागतलाई घटाउन उल्लेखनिय योगदान गर्ने छ ।
वीमा व्यवसायको शुरुवाती लागत बढाएता पनि सञ्चालन खर्च धेरै घटाउने अवस्थाको सृजना हुदै गएकोछ । स्वचालित प्रणालीको विकासले ग्राहकहरुको दावी भुक्तानी विना झन्झट रियल टायममा हुने अवस्थाले वीमा व्यवसायलाई लाग्दै आएको ढिलो दावी भुक्तानीको गुनासो सम्बोधन भई ग्राहक सन्तुष्टि बढ्ने भएको छ । सूचना प्रविधिको कारण जटिल खालका जोखिम विश्लेषण, जोखिमको आंकलन र प्रक्षेपण गर्न सहज भएको छ । डाटाहरु र सूचनाहरु रियल टाइममा प्राप्त गर्न सकिने अवस्थाले सर्वेअरहरुको कामलाई सरल बनाउनुका साथै त्रुटीरहित दावी भुक्तानी हुने प्रणालीको विकास हुदै गएको छ । साइवर क्राइमबाट वीमा व्यवसायका डाटा तथा कारोबारहरु सुरक्षित राख्ने कार्य चुनौतिपूर्ण बन्दै गएको छ । यसका लागि वर्षेनी ठूलो धन राशीको खर्चहुने गरेको छ ।
४. सेवाग्राही सम्बन्ध
सन्तुष्ट सेवाग्राही विनाको व्यवसाय दिगो हुनै सक्दैन । सेवाग्राहीको आधारमा नै व्यवसायको सफलता निर्भरता हुने भएकोले सेवाग्राहीको पहिचान, भइरहेका सेवाग्राहीहरुको विश्लेषण, सेवाग्राहीको निरन्तरता, ग्राहकको अपेक्षाको विश्लेषण गरी सोहि अनुरुपको व्यवहार गर्न सक्ने मात्र बजारमा टिकीरहन सक्छन । वीमा व्यवसायमा सेवाग्राहीसंग गरिने व्यवहारलाई लिएर विभिन्न मोडेलहरु विकास भएका छन्। तिनै मोडेलहरु मध्ये CARE based model (Convenience, Advice, Reach) पनि एक हो।
सेवाग्राहीलाई सर्वसुलव, दुर्घटनास्थलमै, दुर्घटना भएकै समयमा विना कुनै झन्झट सेवा सुविधा उपलब्ध हुने सुनिश्चितताको अपेक्षा सेवाग्राहीले राख्दछन्। सोहि अनुरुपको सेवा प्रवाह गर्ने तर्फ अवको वीमा व्यवसाय केन्द्रीत हुन आवस्यक छ । सेवाग्राहीलाई उपयुक्त सल्लाह दिने सल्लाहकारको भूमिका निर्वाह गरी असहज अवस्थामा मेरो। हाम्रो कोहि छैन भन्ने एक्लोपनालाई केही भएमा वीमा छदै छ नि भन्ने आत्मविश्वास दिलाउनु पनि वीमकको कर्तव्य भएको छ । हरेक क्षेत्रमा वीमाको पहुँच, हरेक घटना, हरेक पल, आपत विपतको जुनसुकै समयमा सेवाग्राहीको पहुँचमा वीमा हुनु पर्दछ भन्ने मान्यताको विकास भएको छ । यो ऋब्च्भ् मोडललाई नेपाली वीमकहरुले पनि ढिला नगरी अवलम्बन गर्न जरुरी छ ।
५. क्रिप्टोकरेन्सी
क्रिप्टोकरेन्सी अथवा भरचुअल करेन्सीको प्रयोग औपचारिक वा अनौपचारिक रुपमा संसारभर दिन प्रतिदिन बढ्दै गइरहेको छ । यो मुद्राको कारण वीमा व्यवसायको प्रकृति र कार्यक्षेत्रमा समेत असर पर्ने देखिन्छ । विकसीत देशका वीमा विज्ञहरुले यस विषयमा अध्ययन अनुसन्धान गरिरहेका छन्। नेपाल जस्तो देशले पनि यो नयाँ क्षेत्रका विषयमा समयमै आवश्यक तयारी गर्न ढिला गर्न हुदैन ।
६. ब्लकचेन डाटा
सूचना, जानकारी वा डाटाहरुलाई परिवर्तन गर्न नसक्ने, ह्याक गर्न नसक्ने, मेट्न वा चोर्न नसकिने गरी भरचुअल्ली डाटा सुरक्षित राख्न तयार गरिएको प्रविधिमा आधारित प्रणाली नै ब्लक चेन डाटा प्रणाली हो। यस्लाई कारोबारको डिजिटल लेजर पनि भनिन्छ । यस्ले वीमा व्यवसायको प्रोसेसिङमा कार्यदक्षता ल्याउने, दाबी भुक्तानीलाई छिटो छरितो बनाउने, गलत दावीको पहिचान र रोकथाम गर्न सहयोग गर्ने र सेवाग्राहीको विश्वास बढाउने कार्यमा ठूलो योगदान दिनेछ ।
७. सामाजिक सञ्जालको प्रयोग
सामाजिक सञ्चालको व्यापक प्रयोगले सेवाग्राहीसंगको पहुँच बढाउनुका साथै वीमाका कार्यक्रमहरुको बजारीकरण गर्न, छिटो छरितो रुपमा दावी भुक्तानी गर्न, गलत दाबीहरुको पहिचान र रोकथाम गर्न सेवाग्राहीको व्यवहारको अध्ययन गर्न सजिलो भएको छ । सामाजिक सञ्चालबाट सेवाग्राहीको व्यवहारको अध्ययन गरी सोहि अनुरुपको वीमा पोलिसीहरु डिजाइन गर्न पनि सहयोग पुग्ने देखिन्छ । सामाजिक सञ्चालले तुरुन्तै पृष्ठपोषण दिने भएकाले कार्यक्रमहरुमा सेवाग्राहीको अपेक्षा अनुसार सुधार गर्न सकिन्छ ।
८. बैकल्पिक लगानीका अवसरहरु
कोभिड १९ तथा रसिया युक्रेन युद्धका कारण संसारकै अर्थ व्यवस्था प्रतिकुलताबीच अगाडि बढी रहेको छ । संसारभर मुद्रास्प्रिति अधिक बढन गएको छ । बैक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने व्याजदरमा उल्लेख्य वृद्धि भएका कारण वीमा व्यवसायको लागि लगानीको राम्रो विकल्प विकास भएको छ ।
९. हाइव्रिड कार्यवातावरण
सूचना प्रविधिको विकास र कोभिड १९ ले सृजना गरेको वाध्यताले घरबाटै सेवाग्राहीलाई सेवा प्रवाह गर्ने अवस्थाले कोभिड पश्चातको समयमा पनि निरन्तरता पाई वीमा व्यवसायको कार्य घर र कार्यालय दुबै स्थानबाट प्रवाह भई कार्य वातावरण हाइव्रिड हुन गएको छ । यस्ले गर्दा सेवाग्राहीलाई लचिलो कार्य समय प्राप्त भएको छ । कार्यालयहरुले न्यूनतम लागतमा चौविसै घण्टा सेवा दिन सक्ने अवस्थाको सृजना भएको छ । वीमा व्यवसायमा दक्ष जनशक्तिलाई टिकाइ राख्न सहज भएको छ ।
१०. युवा जनशक्ति
संसारभर नै वीमा व्यवसायमा युवा जनशक्तिको अभाव बढ्दो छ । दक्ष जनशक्तिलाई आकर्षित गर्न र लामो समयसम्म सेवामा टिकाई राख्नु चुनौति बन्दै गएको छ । नेपाल जस्तो देशमा त अझ बढी दक्ष जनशक्तिको अभाव हुने अवस्था छ । यस्का लागि समयमै दिर्घकालिन सोच र जनशक्ति योजनाको तयार गरी कार्यान्वयन गर्नु पर्ने देखिन्छ ।
११. अनुसन्धान र विकास
सूचना प्रविधि, सेवाग्राहीहरुको चाल चलन, समाज व्यवस्था एवम् सामाजिक व्यवहार, अर्थतन्त्र, राजनितीक व्यवस्था, जलवायु, मानिसको जीवन पद्धति र जीवनशैलि आदिमा आएको परिवर्तनको विश्लेषण तथा सोका कारण वढ्दै गएको जोखिम र अनिश्चितताहरुको सहि आंकलन, विश्लेषण र वीमा व्यवसायकै दिगोपनाको लागि वीमा क्षेत्रमानिरन्तर अध्ययन अनुसन्धानको अपरिहार्यता रहन्छ । यो अत्यन्तै खर्चिलो हुदै गएको छ । विश्वव्यापीकरणले आज संसार एउटा गाउँ जस्तो भएको छ ।
संसारको कुनै कुनामा घट्ने घटनाको असर बांकी विश्वमा तुरुन्तै पर्ने गर्दछ । माथि उल्लेख गरिएका प्रवृत्तिहरु नेपालका वीमा व्यवसायमा पनि ढिलो चाडो धेर थोर पर्ने नै छ । यस विषयलाई मध्यनजर राखी सम्बन्धित व्यवसायी, नीति निर्माताहरुको ध्यान त्यस तर्फ समयमै जानु पर्दछ । जोखिम र अनिश्चितताबाट मानिसलाई चिन्तारहित बनाउन, अर्थतन्त्रलाई सबल र मजबुद बनाई राख्न, व्यवसायीक वातावरणलाई दिगो र भरपर्दो बनाई बाह्य लगानी आकर्षित गर्न, क्षतिपूर्तिको सहि मूल्य र समयमैव्यवस्थापन गरी सेवाग्राहीको मन जित्न, कोभिडको समयमा दाबीको शिघ्र भुक्तानी नगर्दा गुमेको विश्वसनियतालाई फर्काउन वीमा व्यवसाय र सोसंग सम्बन्धित सबैले समयमै सोच्नु पर्ने भएकोछ ।
वीमा विनाको संसार कल्पना गर्न सकिदैन । बातावरणको दीगोपन भने जस्तै वीमा व्यवसायको दीगोपनको पनि सुनिश्चितता गर्नु पर्दछ । नेपाल पुनर्वीमा कम्पनी लिमिटेडको नवौं वार्षिकोत्सवको अवसरमा पुनर्वीमा परिवार र यस्का सेवाग्राहीहरुको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु ।
शान्ता गौतम, बरिष्ठ प्रबन्धक, कर्मचारी सञ्चय कोष