सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको आजबाट एकीकृत कारोबार शुभारम्भ, मर्जर पछि कम्पनीको चुक्ता पूँजी साढे ४ अर्ब
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले आजबाट एकीकृत कारोबार शुभारम्भ हुने भएको छ। हिजो एकिकृत कारोबारको लागि दुबै कम्पनीले सम्पूर्ण सेवा अवरुद्ध राखेको थियो ।दुई कम्पनीलाई एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा अन्तिम स्वीकृति पाईसकेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणबाट मंसिर २ गते प्रारम्भिक स्वीकृति तथा नेपाल धितोपत्र बोर्डबाट मंसिर २५ गते स्वीकृति पाएको थियो ।
यसअघि कार्तिक २८ गते सम्पन्न भएको दुबै कम्पनीको छुट्टाछुट्टै साधारण सभाले सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता सेयर बराबर ज्योति लाइफको ०.८२४५ कित्ता अनुपातमा मर्जरमा जाने र एकीकृत जीवन बीमा कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कायम गर्ने प्रस्ताव पारित गरेको थियो ।
जीवन बीमा कम्पनीतर्फ यो पहिलो सम्पन्न भएको मर्जर हो । निर्जीवन बीमा कम्पनीतर्फ भने दुई वटा सफल मर्जर सम्पन्न भएर चार वटा कम्पनी दुई वटामा कायम भइसकेका छन् । जीवन बीमा कम्पनीतर्फ अन्य कम्पनीहरु पनि मर्जरमा रहेको भएपनि एकीकृत कारोबार गरिसकेका छैनन् ।
हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । त्यस्तै ज्योतिको २ अर्ब ४२ करोड रुपैयाँ छ । स्वाप रेसियोका आधारमा ज्योति लाइफको चुक्ता पूँजी एक अर्ब ९९ करोड ५२ लाख ९० हजार कायम हुनेछ । स्वाप रेसियोका आधारमा मर्जर पछि बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ ।