कोरोना बीमा दाबीको सम्पूर्ण कागजात नबुझाएका बीमितहरुलाई बीमक संघको आग्रह, आवश्यक कागजात नबुझाए फाइल बन्द
काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमा दाबीको जानकारी दिएका बीमितहरुलाई आवश्यक कागजात बुझाउन आग्रह गरेको छ। संघले यस्तो अवस्थामा बीमितहरुलाई १५ दिनभित्र कागजात बुझाउन आग्रह गरेको छ।
बीमक संघले सूचना जारी गर्दै दाबी भुक्तानीका लागि हालसम्म पनि आवश्यक कागजात नबुझाएका बीमितहरुलाई यस सूचना जारी भएको १५ दिनभित्र अथवा कम्पनीहरुमा सम्पर्क गरी आवश्यक कागजात बुझाउन आग्रह गरेको छ । यदि आवश्यक डकुमेन्ट नआएको खण्डमा उक्त फाइल बन्द गर्ने व्यहोरा समेत जानकारी गराएको छ ।
संघले जारी गरेको सूचनामा ‘कोरोना बीमा गरी पीसीआर पोजेटिभ भै निर्जीवन बीमा कम्पनीहरुमा दाबीको जानकारी गराई हालसम्म पनि आवश्यक कागजातहरु नबुझाएका दाबीकर्ताहरुलाई बीमा कम्पनीहरुले बारम्बार ताकेता गर्दा समेत आवश्यक कागजात नबुझाएको हुँदा यो सूचना जारी भएको मितिले १५ दिनभित्र आफूले दाबी गरेका कम्पनीहरुमा सम्पर्क गरी सम्पूर्ण कागजात बुझाउन हुन जानकारी गराउँछौं,’भनेको छ ।
दाबीकर्ताहरुले आफुले दाबी गरेको आ-आफ्ना बीमा कम्पनीहरुमा सम्पर्क गरी दाबी सम्बन्धी जानकारी लिई आवश्यक कागजातहरु बुझाउन १५ दिने अन्तिम सार्वजनिक सूचना जारी गरिएको संघले जनाएको छ ।
सरकारले निकासा गरेको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानि नेपाल पुनर्बीमा कम्पनीबाट १२ प्रतिशत, बीमा कम्पनीबाट २५ प्रतिशत र बीमा प्राधिकरणबाट ८ प्रतिशत रकम भुक्तानी गर्ने मोडालिटि बनेको थियो ।
नेपालमा कोरोना संक्रमण फैलिएसँगै १७ लाखभन्दा बढीले कोरोना बीमा गरेका थिए।
यसमध्ये विभिन्न २० इन्स्योरेन्स कम्पनीमा एक लाख ६२ हजार तीन सय ४६ जनाले १५ अर्ब ३५ करोड ६८ लाख २६ हजार ६ सय २३ रुपैयाँको बीमा रकम दाबी परेको थियो। अब एक लाख १३ हजारभन्दा बढी दाबी भुक्तानी बाँकी छ।
कम्पनीले पछिल्लो समय कोरोना बीमा दाबी रकम नामावली सार्वजनिक गर्दै दिन थालेको छ । जसमा दाबी गरेको र आवश्यक डकुमेन्ट नबुझाएकाहरुलाई यस्तो सूचना जारी गरेको हो ।