सात निर्जिवन बीमा कम्पनीद्धारा लाभांश प्रस्ताव, कुनको कति ?

५ पुष २०७९, मंगलवार १४:५४

काठमाडौं । हालसम्म सातवटा निर्जिवन बीमा कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । १९ निर्जिवन बीमा कम्पनीमध्ये ७ कम्पनीले मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश बाँड्ने निर्णय गरेका हुन् ।

सो मध्ये युनाइटेड इन्स्योरेन्सको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइसकेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश पारितका लागि पुष २७ गते बार्षिक साधारण सभा समेत आह्वान गरिसकेको छ ।

लाभांश प्रस्ताव गर्ने अन्य ६ कम्पनीको गत आर्थिक वर्षको वित्तीय विवरण भने बीमा प्राधिकरणबाट स्वीकृत हुनै बाँकी छ । गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा बढी लाभांश प्रस्ताव गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स लिमिटेड रहेको छ । कम्पनीले सो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर र ०.८४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, निर्जिवन बीमा क्षेत्रमा उत्कृष्ट व्यवसाय गर्ने नेको इन्स्योरेन्सले पनि सोही आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल १५.७५ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको छ । जसमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश रहेको छ ।

त्यस्तै, प्रिमियर इन्स्योरेन्सले पनि सोही आवको मुनाफाबाट १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ ।

साथै एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रशित नगद लाभांश, सिद्धार्थ इन्स्योेरेन्सको ५.४७३७ प्रतिशत नगद लाभांश मात्रै, आइएमई जनरल इन्स्योरेन्सको ६.५ प्रतिशत बोनस शेयर र ०.३४ प्रतिशत नगद लाभांश र युनाइटेड इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ ।

सातवटा निर्जिवन बीमा कम्पनीले लाभांश घोषणा गर्दा १२ कम्पनीले भने लाभांश घोषण गर्न बाँकी छ । ७ मध्येपनि युनाइटेड इन्स्योरेन्सले वित्तीय विवरण स्वीकृत पाएर साधारण सभा आह्वान गरिसकेको छ भने अन्य ६ कम्पनीको वित्तीय विवरण स्वीकृत हुन बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*