लघु बीमा, बीमा संस्कार उन्मुख समाज निर्माणका लागि
लघु बीमा भन्ने बितिकै हामी न्यून आय वा बचत भएका विपन्न वर्गका घरपरिवार वा ब्यक्तिहरुकालागि विशेष रुपमा लक्षित गरि गरिने बीमा सेवा सम्झन्छौ।हुन पनि लघु बीमाको मुख्य विशेषता यहि हो। तर अहिलेको परिप्रेक्ष्यमा लघु बीमा प्रतिको धारणालाई परिवर्तन गर्न आवश्यक देखिन्छ । यसलाई विपन्न वर्गकालागि मात्र नभई समाजका सबै वर्गका निम्ति कुनै विशेष आवश्यकता परिपूर्तीकालागि गरिने लघुकालिन तथा सानो बीमांक वा न्यून बीमा शुल्कको बीमालेख वा कुनै एउटा यात्रा वा कार्यक्रम वा घटनाकोलागि गरिने बीमाका रुपमा समेत हेर्नु उचित हुन्छ । यसलाई आर्थिक स्तर वा बजारको आकार वा भौगोलिक अवस्था वा व्यवशायिक अवसरको स्तरसंग मात्र दांजेर हेर्नु हुंदैन ।
अहिले वार्षिक अवधिका वा बृहत जोखिम बहन हुने बीमालेख प्रति सर्वसाधारण बीमीतको चासो कम हुंदै गएको पाईन्छ । यसलाई मानिसहरुले कुनै विशेष जोखिमबाट आफनो सुरक्षाकालागि खोजिने क्षणिक आवश्यकता समाधानकालागि उपयुक्त विशेष बीमा सेवाको रुपमा हेर्न जरुरी छ जुन आवश्यकता अनुसार ससाना प्याकेजका रुपमा सहजै किन्न सकोस । जस्तै कुनै जोखिमपूर्ण पैदल वा हवाई वा सवारीसाधनमा गरिने यात्रा अवधिकोलागि दुर्घटना बीमा, मौसमी रुपमा देखिने बीमारी जस्तै डेंगु वा हैजा वा कालाजारको उक्त मौसम अवधिकालागि मात्र औषधोपचार बीमा, मौसमी बालीकालागि बाली अवधिकोलागि कुनै खास जोखिमकालागि मात्र गरिने बीमा, घरपालुवा पशुपन्छिकोलागि जंगली जनावरले मार्ने विशेष जोखिमकालागि मात्र गरिने बीमा, सम्पती वा सरसामानको कुनै खास जोखिमबाट सुरक्षाकालागि गरिने बीमा, मृत्यू पश्चात गरिने काजकृयाको खर्चकोलागि मात्र गरिने बीमा आदि ईत्यादि ।
लघु बीमाको प्रमुख गुण भनेको यो सर्वसाधारण व्यक्तिले सजिलै बुझ्ने सरल तथा धेरै शर्त तथा अपवादहरु नभएको न्यूनतम जटिल शब्दावलीमा लेखिएको हुनुपर्दछ । यस्मा बढि भन्दा बढि मानिसको सहज पहूंच हुनु जरुरी छ । बीमीतहरुलाई बीमालेख किने पछि यस्को महत्व वा मूल्य होस, बीमालेख र बीमक प्रति ढुक्क भएर भरोसा गर्न सक्ने होस र नोक्सानी भएको समयमा दाबी भुक्तानी प्रकृया झन्झत रहित एवं छिटोछरिटो कुशल होस । लघु बीमकले बीमांकिमा श्रोत बढि खर्च नगरि बीमा दाबी भुक्तानीमा बढि भन्दा बढि श्रोत लगाई छिटोछरिटो रुपमा सेवा दिन आवश्यक हुन्छ ।
भविष्यमा बीमा संस्कार उन्मुख समाज निर्माणकालागि लघु बीमा एउटा राम्रो साधन हुन सक्छ किन भने यस्ले कहिल्यै बीमा नगरेका वा गर्न नखोजेका बीमाका पहूंच भन्दा टाढा रहेका धेरै ठुलो जनसमुदायलाई आप्mनो जीवनकालको पहिलो बीमालेख खरिद गर्न आकर्षित गरेर बीमा गर्ने बानी बसाल्न मद्दत गर्दछ र साथै यो सामाजिक सुरक्षाको एउटा बलियो आधार पनि हो।
नेपालको परिप्रेक्ष्यमा लघु बीमा अझ बढि महत्वपूर्ण देखिन्छ । यहाँ बीमा गर्ने संस्कारको विकास भई सकेको छैन । स्वैच्छिक रुपमा बीमा प्रति अग्रसरता बिरलै पाईन्छ । बीमामा सहज पहूंच भएका शिक्षित एवं आर्थिक रुपमा सबल समुदायमा पनि बाध्यात्मक परिस्थितीमा मात्र बीमा गर्ने प्रचलन बढि छ जस्तै सवारीसाधन दर्ता गर्नकालागि सवारी साधनको तश्रोपक्ष बीमा, बैदेशिक भ्रमण भिसाको आवेदनकालागि यात्रा औषधोपचार बीमा, बैंकबाट ऋण लिनकालागि गरिने सम्पती वा सामानको मार्गस्थ बीमा आदि । नेपालमा अझै धेरै ठुलो समुदायको बीमामा पहूंच पुगेको छैन ।
तसर्थ, बीमकले लक्षित समुदायको आवश्यकता समाधान हुने बीमालेखमा सहज रुपमा पहूंच दिन सक्ने हो भने यहाँ लघु बीमाको लागि प्रचुर मात्रामा बजार उपलब्ध छ । नेपालमा लघु बीमाको बजार भनेको ग्रामिण र आर्थिक रुपमा विपन्न समुदाय मात्र होईन, त्यस बाहेक सहरी क्षेत्रका शिक्षित एवं हुनेखाने युवा समुदाय पनि हो। ग्रामिण समुदायकालागि लघु बीमा सामाजिक सुरक्षाको एउटा भरपर्दो साधनका रुपमा उपयोग गर्न सकिन्छ । हाम्रो ग्रामिण समाजमा समुदायका कसैलाई भवितब्यपरी कुनै हानी नोक्सान भएमा समाजको सामूहिक प्रयासमा आर्थिक सहयोग गर्ने प्रचलन रहेको पाईन्छ । यहि संस्कारलाई निरन्तरता दिन लघु बीमाले समुदायलाई सहयोग गर्दछ । समुदायका हरेक सदस्यले लघु बीमा गरेमा थोरै थोरै बीमा शुल्क भुक्तानी गरेर आप्mना जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्न सकिन्छ र बीमीत जोखिमका कारण क्षती भएको अवस्थामा बीमा कम्पनीबाट क्षतीपूर्ति प्राप्त गरि हानीनोक्सानीबाट हुने आर्थिक भारबाट मुक्ति पाउन सकिन्छ ।
यसबाट नोक्सानीको अवस्थामा समुदायका सदस्यहरुलाई सहयोगकालागि आवश्यक आर्थिक भारबाट मुक्त गर्दछ र सुरक्षित समाज निर्माणमा मद्दत गर्दछ । साथै विपत्तिबाट हुने हानीनोक्सानी पश्चातको जीवनयापनलाई पनि सहज बनाउन मद्दत गर्दछ । हामी कहाँ विपत्तिका कारण भएको क्षतीको पुनर्निमाण गर्न नसकेर सरकारको सहयोगकोलागि मुख ताकेर बसेका जनसमुदायको थुप्रै उदाहरणहरु छन । सायद समुदाय स्तरबाट नै बीमा गरेका भए उनीहरुको जीवन सहज भईसक्ने थियो। लघु बीमाले समुदायलाई लाभ हुने गरि परिवर्तन ल्याउन समाजमा सकारात्मक असर पुर्याउंदछ ।
तुरुन्त मुनाफा कमाउनु भन्दा यस्ता सामाजिक सकारात्मक असरलाई लघु बीमाले आत्मसात गरेको हुनु पर्दछ । लघु बीमाबाट तत्काल मुनाफा गर्न नसकिएला तर दिर्घकालिन सोचका साथ निरन्तर रुपमा लागिरहेमा यस बाट पक्कै लाभ लिन सकिन्छ । बिना झन्झ्ट दाबी भुक्तानीले सकारात्मक सामाजिक असर पुर्याउँछ नै साथै बीमा सेवा खरिद गरेर समुदायका मानिसहरु पनि आत्मनिर्भर हुनेछन, विपत्ति पर्दा समाज वा सरकारको मुख ताक्न पर्दैन । आप्mना जोखिम बीमाले बहन गर्ने भए पछि उनीहरुको आत्मविश्वास पनि बढ्न गई उनीहरुको व्यवसाय तथा पेशामा प्रगति हुनजान्छ ।
कसैले बीमा सेवा खरिद गर्दैमा उसमाथि विपत्ति आईपरोस भन्ने सोच्दैनन्। यो त भवितव्यबाट केहि भएमा त्यसबाट हुने आर्थिक नोक्सानीकालागि मात्र हो। धेरै संख्यामा लघु बीमालेखहरु एकदम न्यून शुल्कमा बेचिन्छन भने केहि बीमालेखमा मात्र दाबी पर्दछ । वास्तवमा भन्ने हो भने बीमा शुल्कबाट उठेको रकम बीमा गर्ने मध्येका केहि अभागी जस्को नोक्सानी भएका छन् लाई भुक्तानी गरिन्छ । यस अर्थमा लघु बीमा खरिद पनि एक किसिमको समाजको लागि योगदान नै हो। त्यसैले बीमालेख खरिदकर्ताहरुलाई पनि उनीहरुले तिरेको बीमा शुल्क बापत उठेको रकमले समुदायमा विपत्ति पर्दा सहयोग पुर्याउंदछ भन्ने महसुस दिलाउन आवश्यक छ । यस्तै सहरी क्षेत्रका युवाहरुकालागि पनि उनीहरुको आवश्यकता अनुकुल लघु बीमा सेवा प्रदान गर्न आवश्यक छ ।
उनीहरु सदैव झन्झट रहित प्रकृयाबाट वस्तु वा सेवा खरिद गर्न चाहिरहेका हुन्छन र साथै दिर्घकालकालागि भार लिन चाहदैनन्। उनीहरु आफना तत्कालका आवश्यकताहरु पूरा गर्ने समाधानका उपाय चाहन्छन । उनीहरु आफना हातमा भएको स्मार्टफोनका माध्यमबाट आफूलाई चाहिने हरेक सेवा सुविधामा पहूँच पाउन लालायित हुन्छन । तसर्थ उनीहरुको आवश्यकता अनुकुल तयार गरिएका लघु बीमाहरु डिजिटल माध्यमबाट बिना झन्झ्ट सहजै उपलब्ध गराउन सकेमा उनीहरुको बीमामा पहूँच बढ्ने छन ।
लघु बीमाको बीमा शुल्क न्यून हुने भएकोले यस्को स्थायित्वकालागि ठुलो बजार ओगट्न जरुरी हुन्छ जस्को लागि डिजिटल माध्यम वा स्थानिय सहकारी वा लघु वित्त संस्था वा स्थानिय उपभोक्ता वा आमा वा महिला समूहसंग सहकार्य गरि बीमा सेवा एवं दाबी भुक्तानी सेवा सहज रुपमा उपलब्ध गराउनु पर्ने हुन्छ । लघु बीमालेखहरु बजारमा ल्याउन अगाडि समुदायहरुको आवश्यकताको राम्ररी जाँचबुझ गर्नु पर्दछ । उनीहरुले किन बीमालेख किन्न हिच्किचाई रहेका छन् भन्ने बुझेर उनीहरुको आवश्यकता र अवस्था अनुकुल भरपर्दो सहज रुपमा किन्न सकिने र नोक्सानी हुंदा सजिलै दाबी पाउने बीमालेख बनाई उपलब्ध गराउन आवश्यक छ । निष्कर्षमा भन्ने हो भने लघु बीमाले ग्रामिण एवं सहरी क्षेत्रमा बीमा गर्ने संस्कारको विकास गरि भविष्यमा बीमा उन्मुख समाज निर्माण गर्न मद्दत गर्दछ जस्ले देशको बलियो, सुरक्षित तथा दिगो अर्थतन्त्र निर्माणमा टेवा पुर्याउंदछ ।