लगानी निर्देशिका परिवर्तन गर्दै बीमा प्राधिकरण, थप विस्तार गर्न छलफल

१ पुष २०७९, शुक्रबार १६:४२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमक लगानी निर्देशिका २०७५ लाई परिमार्जन गर्ने भएको छ । बीमा कम्पनीहरुको पूर्वधारमा लगानीको दायरमा चासो नदेखिएसँगै प्राधिकरणले यस निर्देशिकालाई नै परिमार्जन गर्ने तयारीमा लागेको हो ।

यसअघि नै प्राधिकरणले यस बिषयमा अध्ययन गरिहरहेको थियो । लगानी निर्देशिकालाई कुन रुपबाट अघि बढाउने भन्ने बिषयमा अध्ययन गर्दा पूर्वधारको लगानीको दायरा विस्तार गर्ने व्यवस्था गर्न लागेको हो । पूर्वाधारमा लगानी विस्तार गर्दा देशको समृद्धि हुने र बीमक कम्पनीहरुलाई दीर्घकालिन लगानीको सम्भावना भेटिने भएकोेले यसतर्फ नियामक निकायले ध्यान दिएको हो ।

चालू आर्थिक वर्ष २०७९/०८० बजेटमा सरकारले बीमाा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधार परियोजनामा लगानी गर्नुपर्ने व्यवस्था गरेपछि प्राधिकरणले निर्देशिका परिमार्जन गर्न लागेको हो।पूर्वाधार क्षेत्रमा बीमा कम्पनीले गरेको लगानी सीमा नपुगेको हुनाले यसमा लगानीको क्षेत्र विस्तार हुने गरी निर्देशिका परिमार्जन गर्न लागिएको बीमा प्राधिकरणले जनाएको छ। हाललाई केही सिमित क्षेत्रमा पूर्वधारमा लगानी गर्ने गरि निर्देशिका परिमार्जन गर्न लागेको जनाएको छ ।

पूर्वाधारमा बीमा कम्पनीको लगानीे दायरा फराकिलो बनाई अन्तिम निष्कर्ष दिने तयारीमा रहेको बीमा प्राधिकरणको भनाई छ । निर्देशिका– २०७५ मा बीमा कम्पनीहरूले विभिन्न आठ क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ । निर्देशिकामा सरकारको बचतपत्र र ऋणपत्रमा कम्पनीको कूल टेक्निकल रिजर्भको ५ प्रतिशत, पूर्वाधार बैंकको मुद्दतिमा ४० प्रतिशत, घरजग्गा व्यवसायमा ५ प्रतिशत र सूचिकृत कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न सक्ने प्रावधान छ।

यसैगरी बीमाकम्पनीहरूले अग्राधिकार सेयरमा २० प्रतिशत, सूचीकृत कम्पनीका ऋणपत्रमा २० प्रतिशत, कृषि, पर्यटन र ऊर्जालगायतका पूर्वाधारमा २० प्रतिशत, नागरिक लगानी कोष र म्युचुअल फण्डमा ५ प्रतिशत, विकास बैंकको मुद्दती निक्षेपमा २० प्रतिशत र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।

तर, बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थाको अधिकांश पैसा मुद्दती निक्षेपमा लगानी भएकोले प्राधिकरणले थप विस्तार गर्न सम्भाव्यताको खोजी गर्न लागेको हो । यद्यपि प्राधिकरणले लगानीको लागि सुरक्षित क्षेत्रको खोजीमा छ ।

बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मद्दती निक्षेपमा तीन खर्ब ८५ अर्ब रुपैयाँ लगानी गरेका छन् । यो रकम कम्पनीहरूले लगानी गरेको कुल रकमको ७७ प्रतिशत हो । सो अवधिमा जीवन बिमा कम्पनीहरूले चार खर्ब ९७ अर्ब रुपैयाँ लगानी गरेका छन् । जीवन बीमा कम्पनीले वाणिज्य बैंकको मद्दती निक्षेपमा मात्र करिब तीन खर्ब ८५ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

बीमा कम्पनीले पूर्वाधार क्षेत्रमा भने लगानी न्यून छ । वाणिज्य बैंक र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत लगानी गर्न सकिने व्यवस्था गरेको छ । तर, जीवन बीमा कम्पनीले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ६७ प्रतिशत लगानी गरेका छन् ।यस्तै पूर्वाधार बैंकमा १ प्रतिशत पनि लगानी गरेका छैन । विकास बैंकको मुद्दती निक्षेपमा ४३ अर्ब १२ करोड र वित्तीय संस्थाको मुद्दती निक्षेपमा ५ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेको प्राधिकरणले जनाएको छ ।

जीवनबीमा कम्पनीले पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा २५ करोड लगानी गरेका छन् । नेपाल पूर्वाधार विकास बैंकमा भने पाँचवटा बीमा कम्पनीहरूले मात्रै लगानी गरेका छन्। त्यस्तै, कम्पनीहरूले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा नौ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयरमा ३१ अर्ब ७४ करोड, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चरमा २२ अर्ब ९७ करोड, कृषि, पर्यटन र जलस्रोतलगायतका पूर्वाधारमा ७ अर्ब १९ करोड रुपैयाँ लगानी भएको छ ।म्युचुअल फण्ड र नागरिक लगानी कोषमा कम्पनीहरुले एक अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा तरलता समस्या बढेसँगै निक्षेप र कर्जाको ब्याज बढेको छ ।

निक्षेपको ब्याज बढेपछि बीमा कम्पनीको लगानी बैंक तथा वित्तीय संस्थामा भएको देखिन्छ । ब्याजदर बढेकाले बीमा कम्पनीको आम्दानीमा थप सुधार आउने देखिएको छ । यसले गर्दा सेयरधनीले पाउने लाभांश पनि बढ्ने छ ।

अन्य क्षेत्र जोखिम हुने भन्दै लगानी गर्न नचाहने कम्पनीको लागि मुद्दती खाता उपयुक्त भएको छ । पूर्वाधार क्षेत्रमा भएको लगानीको प्रतिफल तत्काल नआउने हुँदा कम्पनीहरु लगानी गर्न नचाहाने जानकार बताउँछन् ।

नियामक निकायले कृषि पर्यटन तथा अन्य क्षेत्रमा लगानी गर्न बीमक कम्पनीहरुलाई आह्वान गर्दै आएको भएपनि बीमा बापत संकलन भएको रकम सर्वसाधारणको सम्पत्ति भएकोले जोखिमयुक्त क्षेत्रमा लगानी गर्न बीमा कम्पनीहरु तयार छैनन् । जोखिम विविधिरणका लागि लगानीमा समेत विविधिकरण गर्नुपर्ने बीमा कम्पनीहरुको बाध्यता छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*