एक आर्थिक वर्षको लेखापरिक्षण नै नगरी सूर्या र ज्योति लाइफ मर्जरमा, अख्तियारमा पर्यो उजुरी
काठमाडौं । मर्जर प्रक्रियामा रहेका ज्योति लाइफ र सूर्या लाइफले एक आर्थिक वर्षको लेखा परिक्षण नै नगरी एकीकृत कारोबार सुरु गर्न लागेपछि लगानीकर्ताहरु असन्तुष्ट बनेका छन् । दुई कम्पनीले आगामी पुस ७ गते एकीकृत कारोबार गर्दैछन् । दुई जीवन बीमा कम्पनीहरुले आव २०७७।०७८ को सम्मको मात्रै बार्षिक वित्तीय विवरण पारित गराई मर्जरमा जान लागेको भन्दै सेबोन र भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
पुस २८ गतेको मितिमा अख्तियारमा दर्ता भएको सि ०२९७२७ नम्बरको उजुरीमा सूर्या लाइफ र ज्योति लाइफले धितोपत्र बोर्डको नियम विपरित तथा वित्तीय मूल्य मान्यता विपरित आव २०७८।०७९ को लेखा परिक्षण समेत नगराई, वित्तीय विवरण नै तयार नगरी तथा बीमाङ्कीय मूल्याङ्कन समेत नगरी मर्जरमा जान लागेको भन्दै उजुरी परेको हो । आयोगमा दर्ता गरिएको उजुरीमा सार्वजनिक निकाय भनेर चिनिएको क्षेत्रमा नियामक निकायबाट अनुमति दिँदा समेत वेवास्ता गरिएकोले कारवाहीको समेत माग गरिएको छ ।
उजुरीमा एकीकृत कारोबार सुरु हुँदा हाल कायम रहेका दुई बीमा कम्पनीको एकीकृत सञ्चालक समिति हुने, पुरानो कम्पनीको वित्तीय विवरण कुन नैतिकता र कानुनी आधारमा नयाँ कम्पनीले पारित गर्दछन ? भनेर प्रश्न उठाउँदै अनैतिक तरिकाले गरिएको भन्दै कारवाहीको माग गरिएको छ । यद्यपि बीमा कम्पनीभित्रको अनियमितता तथा वित्तीय मूल्य, मान्यता विरुद्धको कार्य आयोगको क्षेत्राधिकार भित्र पर्दैन । तर, नेपाल धितोपत्र बोर्ड, र बीमा प्राधिकरण तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति लिनुपर्ने विषय भएकोले आयोगले नियामकीय दायित्व र कर्तव्य पूरा गरे नगरेको विषयमा भने छानविन गर्न सक्नेछ ।
सूर्य श्रेष्ठले दर्ता गराएको उजुरीको कपि हिजै बीमा प्राधिकरणमा समेत बोधार्थ पठाइएको छ । एक आर्थिक वर्षको बार्षिक साधारणसभा, लेखा परिक्षण र वित्तीय विवरण समेत तयार गरी मर्जरमा जान अनुमति दिएको बीमा प्राधिकरण र सेबोनल स्वीकार गरेको छ । सेबोनका एक अधिकारीले बीमापोष्ट समक्ष आंशिक रुपमा त्रुटी भएको स्वीकार गरेका छन् । बीमा प्राधिकरणका अधिकारीहरु भने त्रुटी नभएको बताउँदै आएका छन् ।
आयोगमा दर्ता उजुरीमा भनिएको छ, ‘दुवै कम्पनीको आव २०७७।०७८ सम्मको लेखा परिक्षण तथा वित्तीय विवरण बार्षिक साधारणसभाबाट पारित गरिएको छ । आव २०७८।०७९ को लेखा परिक्षण प्रतिवेदन र वित्तीय विवरण तयार पारिएकै छैन । साथै चालु आवको छ महिना व्यतित हुन लागिसकेको छ । १८ महिनाको वित्तीय विवरण तयार नपारी १००ः८२.४५ स्वाप रेसियो निर्धारण गरिएको छ । जुन अनैतिक र त्रुटीपूर्ण छ । दुवै कम्पनीको डिडिए २०७८ असार मसान्तसम्मको कारोबारलाई आधार मानेर गरिएको छ । त्यसयताको कुनै हिसाब किताब हेरिएको छैन । मर्जरका लागि गरिएको भनिएको डिडिए समेत त्रुटीपूर्ण र व्यवसायिक हिसाबले अनैतिक छ ।’