बीमा प्राधिकरणद्धारा सूर्या र ज्योति लाइफलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान, पुस ७ गतेबाट एकीकृत कारोबार
काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई आपसमा मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । प्राधिकरणले आज सूर्या ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको रुपमा एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । बीमा प्राधिकरणले आजै अन्तिम स्वीकृति प्रदान गरेको हो । हिजो दुवै कम्पनीले संयुुक्त रुपमा अन्तिम स्वीकृतिका लागि निवेदन दिएका थिए ।
नियामक निकायबाट अन्तिम स्वीकृति प्राप्त गरेसँगै अब आगामी पुस ७ गतेबाट दुवै कम्पनीले एकीकृत कारोबार गर्ने भएका छन् । सूर्या लाइफ इन्स्योरेन्सका एक सञ्चालकले अब सबै प्रक्रिया पुरा भएको र एकीकृत कारोबार गर्ने मिति ७ गतेका लागि तोकिएको पुष्टि गरेका छन् ।
दुवै कम्पनीले नेपाली जीवन बीमा कम्पनीहरुको क्षेत्रमा पहिलो मर्जरको अभ्यास गर्दैछन् । सूर्या लाइफ र ज्योति लाइफका बीच कम्पनीको डिडिए र एक्चुरियल भ्याजुएशनको आधारमा तय भएको स्वाप रेसियो १००ः८२।४५ कायम भइसकेको छ । जस अनुसार सूर्या लाइफको शेयर १०० कित्ता बराबर ज्योति लाइफको ८२.४५ कित्ता हुनेछ । दुवै कम्पनीले सूर्या ज्योति लाइफको रुपमा एकीकृत कारोबार गर्न अनुमति प्राप्त गरेका छन् । नयाँ कम्पनीको अध्यक्ष केशव प्रसाद भट्टराई हुनेछन् । त्यस्तै, सिईओ प्रकाशविक्रम खत्री बनेका छन् ।
मर्जरपछि कम्पनीको चुक्ता पुँजि चार अर्ब ५५ करोड हुनेछ ।