सूर्या लाइफ र ज्योति लाइफको मर्जर अन्तिम स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश, एकीकृत कारोबार छिट्टै
काठमाडौं । आपसी मर्जरमा जाने सम्झौता गरी प्रक्रिया अन्तिम चरणमा पुर्याएका सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार सुरु गर्न अन्तिम स्वीकृतिको लागि बीमा प्राधिकरणमा निवेदन दिएका छन् ।
दुवै कम्पनीहरुले नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई नियामक निकाय बीमा प्राधिकरणमा अन्तिम स्वीकृतिका लागि आज आवेदन दिएका हुन् । दुवै कम्पनीले बीमा प्राधिकरणबाट स्वीकृति लिएपछि एकीकृत कारोबार सुरु गर्नेछन् । नेपालकै पहिलो जीवन बीमा कम्पनीको रुपमा एकीकृत कारोबार सुरु गर्न लागेका दुवै कम्पनीले सूर्या ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको रुपमा जीवन बीमा सेवा प्रारम्भ गर्नेछन् ।
सूर्या लाइफ र ज्योति लाइफका बीच कम्पनीको डिडिए र एक्चुरियल भ्याजुएशनको आधारमा तय भएको स्वाप रेसियो १००ः८२।४५ कायम भइसकेको छ । त्यस्तै, नयाँ बन्ने कम्पनीको अध्यक्ष सूर्या लाइफका केशव प्रसाद भट्टराई बन्नेछन् भने सिईओ ज्योति लाइफबाट प्रकाशविक्रम खत्री बन्नेछन् । दुवै कम्पनीबाट तीन–तीन जना सञ्चालकहरु नयाँ कम्पनीको सञ्चालकक बन्नेछन् ।
मर्जरपछि कम्पनीको चुक्ता पुँजि चार अर्ब ५५ करोड हुनेछ । कम्पनीले हकप्रद वा बोनस शेयर जारी गरी पाँच अर्ब चुक्ता पुँजि पुर्याउनेछ ।
बीमा प्राधिकरणबाट आवश्यक अध्ययन पश्चात छिट्टै अनुमति दिइने जनाइएको छ ।