न्यूजप्रिन्ट पेपर घुस सेटिङमा संलग्न प्रिन्टसेललाई राजश्वको स्टीकर छाप्ने जिम्मा, काम चलाउ प्रम देउवा र अर्थमन्त्री शर्माको अर्को सेटिङ !

२७ मंसिर २०७९, मंगलवार १४:१६

काठमाडौं । विवाद नै विवादका बीचमा १६ महिने कार्यकाल विताएका अर्थमन्त्री जनार्दन शर्माले जाँदा जाँदै अर्को सेटिङ गरेका छन् । उनले पत्रपत्रिका छपाई गर्ने न्यूजप्रिन्ट पेपरमा घुस सेटिङ गर्दै आएको कुपण्डोलस्थित पिन्टसेललाई राजश्व सम्बन्धी स्टीकर छपाईको लागि महत्वपूर्ण काम सुम्पिएको छ ।

सरकारी मुखपत्र गोरखापत्रको कागज खरिदमा घोटाला गर्ने, नेपालमा न्यूजप्रिन्ट पेपर आयातमा आफ्नो एकाधिकार कायम गरेर सञ्चार माध्यमहरुलाई समेत महंगो मूल्यमा कागज बिक्री गर्दै आएको प्रिन्टसेलले बियरमा टाँस्ने अन्तःशुल्क स्टिकर छपाईको काम पाएको छ । नागरिकता समेत शंकास्पद रहेको प्रिन्टसेलका मालिकले सो काम पाएसँगै अब राजश्वका स्टीकरहरु बजारमा कौडीका भाउमा बिक्री हुने भन्दै व्यवसायीहरु आतंकित बनेका छन् ।

प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको डिजाईनमा र अर्थमन्त्री जनार्दन शर्माको चर्को दवावमा स्टीकर छपाईको लागि प्रिन्ट सेल प्रालि ललितपुरलाई छनोट गरिएको स्रोतले जनाएको छ । राजश्व विभागले सरकारको यस्तो निर्णयले अन्तशुल्क स्टीकरको धन्दा झनै मौलाउने भन्दै अत्तालिन थालेका छन् ।

सुरक्षण मुद्रण केन्द्रले स्टिकर छपाईका लागि आवश्यक पर्ने मसी र कागजका लागि बोलपत्र २०७९ असोज ६ गते खुलाएकोमा सेटिङमा सबैभन्दा कम बोलकबोल गर्ने प्रिन्टसेललाई ठेक्का मिलाइएको हो ।

काभ्रेमा आफ्नै अत्याधुनिक सुरक्षण प्रेस राखेकोमा सोही प्रेसमा त्यस सम्बन्धी छपाई हुने भएपनि मन्त्री शर्मासँगको सेटिङमा प्रिन्ससेललाई दिइएको हो । केही समय पहिले मन्त्री शर्माले काभ्रेमा नै पुगेर सो मेसिनको अनुगमन गर्दै अर्थमन्त्री जनार्दन शर्माले मदिरामा टाँस्ने स्टिकर छपाई गर्न निर्देशन दिएका थिए ।

तस्विर सौजन्य: बिजमाण्डु

 

हाल आन्तरिक राजस्व विभाग र सुरक्षण मुद्रण केन्द्रबीच ४४ करोड थान बियरमा टाँस्ने स्टिकर छपाईको लागि सहमति भएको छ । यो सरकार–सरकार (जीटुजी) प्रणाली भएकोले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयकै बजेटबाट खर्च व्यावस्थापन गरिनेछ । सो स्टीकरको लागि आवश्यक मसी नै अत्याधिक महंगोमा खरिद गरिएको र सेटिङ भएको सम्बद्ध अधिकारीहरुको गुनासो छ ।

नेपालमा न्यूजप्रिन्ट पेपर आयात गर्दै आएको प्रिन्टसेलले चार वर्ष पहिले १२० रुपैँया हाराहारी रहेको पेपरको मूल्य अहिले बृद्धि गरी झण्डै २०० पुर्याइसकेको छ । त्यस्तै मसीको मूल्यमा समेत उच्च बृद्धि गर्दै लगेको छ । यस अघि कर छलीमा समेत परेको सो कम्पनीको कारोबार शंकास्पद र विवादित छ ।

2 thoughts on “न्यूजप्रिन्ट पेपर घुस सेटिङमा संलग्न प्रिन्टसेललाई राजश्वको स्टीकर छाप्ने जिम्मा, काम चलाउ प्रम देउवा र अर्थमन्त्री शर्माको अर्को सेटिङ !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*