बीमा प्राधिकरणको मधेस प्रदेश कार्यालय उद्घाटन (फोटो फिचर सहित)
काठमाडौं । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालय उद्घाटन गरेका छन् ।विरगन्जस्थित टाउन हलमा बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको विशेष आतित्थ्यमा र बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका हुन् ।
बीमा प्राधिकरणले एक कार्यक्रमका बीचमा पहिलो प्रादेशिक कार्यालयको शुभारम्भ गरेको हो । प्राधिकरणले गत बर्षदेखि नै उपनिर्देशक कुसुम शर्माको नेतृत्वमा कार्यालय सञ्चालनमा ल्याएको थियो । तर औपचारिक रुपमा भने आज उद्घाटन गरेको छ ।
कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, जीवन नेपाल बीमक संघका अध्यक्ष पोषकराज पौडललगायतको उपस्थिति थियो ।प्राधिकरणले एकै पटक तीन वटा प्रादेशिक कार्यालयको स्थापना गरेको छ । जसमध्ये औपचारिक रुपमा पहिलो उद्घाटन गर्न मधेस प्रदेश कार्यालय भएको जनाइएको छ ।
प्रादेशिक कार्यालयले मध्यप्रदेशभरिका अभिकर्तालाई लाइसेन्स दिने तथा तालिम दिनेछ । त्यस्तै सर्भेयरको लाइसेन्स नविकरण पनि गर्न पाउनेछ ।बीमितले प्रादेशिक कार्यालयमा आफ्ना गुनासो राख्न पाउनेछन् । उनीहरुको गुनासोलाई प्रादेशिक कार्यालयले नै सहजिकरण गर्न पाउनेछ ।
समितिको प्रादेशिक कार्यालयले यस क्षेत्रभित्र रहेका बीमाकम्पनीका शाखा कार्यालयको नियमन र सुपरीवेक्षण गर्नुका साथै कम्पनीहरुले के के गरिरहेका छन् भन्ने प्रत्यक्ष सुपरीवेक्षण गर्ने जनाइएको छ ।देशका सात वटै प्रदेशमा बीमा प्राधिकरणको उपस्थिति दर्शाउन गत आवदेखि नै सञ्चालनमा आएको प्राधिकरणको प्रदेश कार्यालयको आज उद्धघाटन भएको हो ।
बीमा प्राधिकरणले मधेश प्रदेशको राजधानी जनकपुर भएपनि सबैभन्दा धेरै बीमा कारोबार हुने भएकोले बीरगन्जमा प्रदेश कार्यालय स्थापना गरिएको हो । सो प्रदेश कार्यालयले मधेश प्रदेशभरिका बीमा कम्पनीको शाखा कार्यालयहरुसँग समन्वय गरेर काम गर्नेछ ।
बीमा प्राधिकरणले बीमाको पहुँच ग्रामिण तहमा पुर्याउन प्रदेशमा शाखा कार्यालय खोल्ने निर्णय गरेको थियो । सो अनुसार कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा शाखा कार्यालय स्थापना भइसकेको छ । अझै लुम्बिनी, गण्डकी र प्रदेश नं १ मा शाखा कार्यालय खोल्न बाँकी छ ।
बीमा प्राधिकरणकी मधेश प्रदेश प्रमुख कुुसुम शर्मा रहेकी छिन् ।