नैतिकता त्यागेर भटाभट नयाँ निर्णय गर्दै अर्थमन्त्री शर्मा, १६ महिना मन्त्रीमा हुँदा सिन्को भाँचेनन्, अहिले साँचिलो बन्ने प्रयास !

२३ मंसिर २०७९, शुक्रबार १०:४२

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा नेपाली अर्थतन्त्रले बिर्सनै नसक्ने नाम बनिसकेको छ । नेपालको इतिहासमा सबैभन्दा धेरै आर्थिक संकट भोगेको, जनता र व्यवसायी कसैले राहत पाउन नसकेको आर्थिक दुरावस्थाका साक्षी जनार्दन शर्मा । उनको १६ महिने कार्यकाल अब धेरै बाँकी छैन ।

वर्तमान सरकार पूर्ण रुपमा काम चलाउ सरकार मात्रै हो । पुनः गठबन्धनकै सरकार बन्न सक्छ र अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै पनि आउन सक्छन् । तर, नैतिकताको कसीमा अहिलेको सरकार काम चलाउ अर्थात अप्ठेरो परेको गाँठो फुकाउने मात्रै हैसियत राख्दछ । संसारका कुनै पनि निकायले निर्वाचन सम्पन्न भईसकेर नयाँ जनादेश प्राप्त भइसकेपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कुरिरहेको समयमा नयाँ निर्णयहरु गर्दैनन् । तर, क्रान्तिकारी, कम्युनिष्ट पार्टीका जिम्मेवार सदस्य समेत रहेका जनार्दन शर्मा नैतिकता, कानुनी वैधता भुलेर धमाधम नयाँ निर्णयहरु गर्दै र गराउँदै आएका छन् । पदीय दम्भ, प्रतिशोध देखाउँदै नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेको राजिनामा माग्नेदेखि हेजिङ फण्डलाई अघि बढाउने निर्णय गरेका छन् । त्यति मात्रै होइन, राष्ट्रघाती एमसीएमसी समेत जनार्दन शर्मा नेतृत्वको अर्थमन्त्रालय मातहतमा रहेको कार्यालयले अघि बढाउने निर्णय निर्वाचन लगत्तै गरेको छ ।

अर्थविदहरुले अर्थमन्त्री जनार्दन शर्मालाई फेरियर अर्थमन्त्रीको रुपमा चर्चा गरिरहेका छन् । मन्त्री शर्मालाई अर्थतन्त्रको बारेमा राम्रो ज्ञान नभएको रुपमा चर्चा गरिरहेका छन् र वर्तमान आर्थिक संकटबाट मुलुकलाई सुधारको दिशामा अघि बढाउन उनी सफल नहुने चर्चा गरिरहेका छन् ।

वर्तमान सरकार काम चलाउ मात्रै हो । सोही अनुसार अन्य मन्त्रालयहरुले नयाँ निर्णय गरेका छैनन् । जनार्दन शर्माले २–४ वटा नयाँ निर्णयहरु गर्दैमा वर्तमान आर्थिक अवस्थामा सुधार हुनेवाला छैन । देशको बिग्रेको अर्थतन्त्रमा खास परिवर्तन गर्नै नसक्ने भएपनि मन्त्री शर्मा भटाभट निर्णयहरु गर्दै अघि बढिरहेका छन् । मन्त्री शर्माबाट भएका पछिल्ला निर्णयहरु अनैतिक हुन् । जाँदा जाँदै एमसीसी जस्तो विवादित परियोजनाको टेण्डर खोल्न अनुमति दिएर मन्त्री शर्माले अमेरिकी लवीको पृष्ठपोषण गरेका छन् । जुन उनको राजनीतिक करिअरकै त्रुटीपूर्ण निर्णय हो । यसले उनको जीवनलाई हेर्ने अन्तर्राष्ट्रिय दृष्टिकोणमा परिवर्तन आउने निश्चित छ ।

हेर्दा सामान्य लागे पनि मन्त्री शर्माले निर्वाचन आचार संहिता समेत नसकिई गरेका यस्ता अनैतिक निर्णयहरुले मन्त्री शर्मा १६ महिनासम्म सिन्को भाँच्न नसक्ने अनि अहिले आएर साँचिलो बनेर आफ्नो बिग्रेको छवि सुधार्ने प्रयत्नमा अघि बढेको देखिन्छ । पहिलो वर्ष बजेट आफूले नल्याएको भन्दै श्वेतपत्र जारी गरेर पुराना अर्थमन्त्रीलाई गाली गरेरै बिताएका मन्त्री शर्माले दोस्रो वर्षमा जनमुखी बजेट ल्याउन नसकेर असफल बने । अब जाने बेलामा गरिएका अमेरिकाको दलाली गर्ने निर्णयले देश समृद्ध बन्न सक्दैन । साथै उनको १६ महिने अर्थमन्त्रीको धमिलिएको कार्यकाल समेत संग्लिन सम्भव छैन ।

शेयर बजारमा ४५ लाख लगानीकर्तालाई निराश बनेका लगानीकर्ताको गाली खाइरहेका मन्त्री शर्माकै कारण माओवादी पार्टीप्रति वितृष्णा बढ्दो छ । बढ्दो वितृष्णा कम गर्न अर्थमन्त्रीको बाँकी कार्यकाल आफूले गरेका कामहरु सार्वजनिक गर्नको लागि श्वेतपत्र तयार पार्ने हो कि मन्त्रीज्यू !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*