कात्तिक महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन दुई अर्बमाथि, अधिकांशको घट्दा ५ कम्पनीको मात्रै बढ्यो (तथ्याङ्कसहित)

२१ मंसिर २०७९, बुधबार १६:५५

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा २ अर्ब २ करोड १७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १९ जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क असोज महिनाको तुलनामा ११.३२ प्रतिशतले घटेको छ ।

१९ कम्पनीमध्ये पाँच जीवन बीमा कम्पनीले मात्रै कात्तिक महिनामा प्रथक बीमा शुल्क आर्जनमा बृद्धि गरेको छ । अधिकांश बीमा कम्पनीको प्रथम प्रिमियक कलेक्शन घट्दा राष्ट्रिय बीमा संस्थान, सन नेपाल लाइफ, युनियन लाइफ, आइएमई लाइफ र नेपाल लाइफ इन्स्योरेन्सको मात्रै प्रथम बीमा शुल्क आर्जन बढेको छ ।

कात्तिक महिनामा प्रथम बीमा शुल्क आर्जनमा सबैभन्दा बढी सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थाले ३३.८० प्रतिशतले प्रगति गरेको छ । असोज महिनामा ३ करोड १२ लाख रुपैयाँ मात्रै प्रथम बीमाशुल्क आर्जन गरेको कम्पनीले कात्तिक महिनामा ४ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सन नेपाल लाइफले पनि असोज महिनाको तुलनामा कात्तिक महिनामा प्रथम बीमाशुल्क आर्जन ६.४४ प्रतिशतले बढाएको छ । साथै युनियन लाइफले ४.४४ प्रतिशत, आइएमई लाइफले १.५२ प्रतिशत र नेपाल लाइफले ०.९४ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बढाएको छ ।
यसबाहेक बाँकी १४ जीवन बीमा कम्पनीहरुको असोज महिनाको तुलनामा कात्तिक महिनामा प्रथम बीमा शुल्क आर्जन घट्न पुगेको छ । सर्वाधिक प्राइम लाइफ इन्स्योरेन्सको ५१.११ प्रतिशतले प्रथम बीमाशुल्क आर्जन घट्न पुगेको छ ।

असोज महिनामा ९ करोड ३५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको प्राइम लाइफले कात्तिक महिनामा ४ करोड ५७ लाख रुपैयाँमात्रै प्रथम बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, मेट लाइफको ४०.९३ प्रतिशत, महालक्ष्मी लाइफको ३१.१२ प्रतिशत, एशियन लाइफको २७.३५ प्रतिशत, एलआइसी नेपालको २०.२१ प्रतिशत, ज्योति लाइफको १७.४७ प्रतिशत, सिटिजन लाइफको १७.४२ प्रतिशत, रिलायबल नेपालको १५.२२ प्रतिशत, रिलायन्स लाइफको १४.२२ प्रतिशत, नेशनल लाइफको १३.२६ प्रतिशत, प्रभु लाइफको ६.६८ प्रतिशत, गुराँस लाइफको ५.८७ प्रतिशत, सानिमा लाइफको ५.८५ प्रतिशत र सूर्या लाइफको ०.८७ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*