कात्तिक महिनामा आधा जीवन बीमा कम्पनीको ब्यवसाय घट्यो, कुनको कति ? (तथ्याङ्कसहित)
काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले कात्तिम महिनामा कुल १० अर्ब २३ करोड ४६ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन एक महिनामा ५.१५ प्रतिशतले बढेको हो ।
अघिल्लो महिनामा असोजमा जीवन बीमा कम्पनीहरुले ९ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ टोटल प्रिमियम कलेक्शन गरेको थियो । सार्वजनिक विवरणअनुसार आधा जीवन बीमा कम्पनीहरुको बीमा ब्यवसाय एक महिनाको अन्तरालमा घट्न पुगेको देखिएको छ ।
विवरणअनुसार कात्तिक महिनामा सबैभन्दा प्रिमियम कलेक्शन बृद्धिदर गर्ने कम्पनीमा राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले कात्तिक महिनामा ३६ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन यो असोज महिनाको तुलनामा ३१.२० प्रतिशतले बढी हो ।असोज महिनामा कम्पनीले २७ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै, दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । असोज महिनामा २ अर्ब ४१ करोड २३ लाख रुपैयाँ प्रिमियम कलेक्शन गरेको नेपाल लाइफले कात्तिक महिनामा १८.८० प्रतिशत बृद्धि गरी २ अर्ब ८६ करोड ५८ लाख रुपैयाँ प्रिमियम कलेक्शन गरेको छ ।
त्यस्तै, असोज महिनाको तुलनामा कात्तिक महिनामा प्रगति गर्ने कम्पनीमा गुराँस लाइफले १६.९१ प्रतिशत, आइएमई लाइफले १६.७५ प्रतिशत, युनियन लाइफले १४.२४ प्रतिशत, सन नेपाल लाइफले ११.९१ प्रतिशत, सानिमा लाइफले १०.०३ प्रतिशत, सूर्या लाइफले ९.९८ प्रतिशत र एशियन लाइफले १.६४ प्रतिशतले कुल बीमाशुल्क आर्जन बढाएको छ ।
एक महिनाको अन्तरालमा कुल बीमा शुल्क घट्ने कम्पनी
असोज महिनाको तुलनामा कात्तिक महिनामा १० जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन घट्न पुगेको छ । संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये आधा जीवन बीमा कम्पनीहरुको बीमा ब्यवसाय खस्किन पुगेको हो ।
सर्वाधिक रिलायबल नेपाल लाइफको बीमा ब्यवसाय १७.१८ प्रतिशतले घट्न पुगेको छ । असोज महिनामा ३० करोड २५ लाख रुपैयाँ प्रिमियम कलेक्शन गरेको यस कम्पनीले कात्तिक महिनामा जम्मा २५ करोड ५ लाख रुपैयाँ प्रिमियम कलेक्शन गरेको छ ।
त्यस्तै, सिटिजन लाइफको ११.५६ प्रतिशत, रिलायन्स लाइफको ९.९७ प्रतिशत, ज्योति लाइफको ८.५१ प्रतिशत, एलआइसी नेपालको ५.३७ प्रतिशत, नेशनल लाइफको ३.४८ प्रतिशत, महालक्ष्मी लाइफको ३.१८ प्रतिशत, मेट लाइफको २.४७ प्रतिशत, प्रभु लाइफको २.३५ प्रतिशत र प्राइम लाइफको २.१८ प्रतिशतले कुल बीमा शुल्क आर्जन घटेको छ ।