देशका ९ क्षेत्रमा मत गणना सुरु, ५ स्थानमा एमालेको अग्रता, घण्टी र कांग्रेस २ क्षेत्रमा लिड गर्दै
काठमाडौं । देशैभरिका मत गणना सुरु हुँदैछ । हिजो मतदान स्थगित भएको क्षेत्र बाहेक सबै क्षेत्रमा अबको केहीबेरपछि मत गणना सुरु हुनेछ ।
आज विहान १० बजेसम्मको ताजा परिणाम अनुसार मत गणना सुरु भएको ९ स्थान मध्ये सबैभन्दा अगाडि एमालेले लिड गरेको छ । एमाले ५ स्थानमा अगाडि हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी र नेपाली कांग्रेस २–२ स्थानमा अगाडि रहेका छन् ।
गणना सुरू भएका काठमाडौं, ललितपुर, भक्तपुर, झापा, धनुषा, कास्की र मुस्ताङका ९ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले ५ स्थानमा, अग्रता लिइरहेको छ । झापा क्षेत्र नं २, धनुषा ३, ललितपर १, २ र ३ गरी कूल पाँच क्षेत्रमा अग्रता लिएको हो ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ७ र कास्की २ मा अग्रता लिइरहेको छ भने सत्ता गठबन्धनको कांग्रेसले भक्तपुर २ र मुस्ताङमा अग्रता लिइरहेको छ ।
काठमाडौं क्षेत्र नम्बर ७ मा घण्टी चिन्हका उम्मेदवार गणेश पराजुली अग्रता लिँदा एमालेका श्याम घिमिरे दोस्रोमा छन् भने ललितपुरका तीन वटै क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता छ ।
त्यस्तै कास्की २ मा स्वतन्त्र पार्टीका माधव कडेलले अग्रता लिँदा एमालेकी विद्या भट्टराई दोस्रो स्थानमा छिन् भने मुस्ताङमा कांग्रेसका योगेश गौचनले अग्रता लिइरहँदा एमालेका प्रेम तुलाचन दोस्रो स्थानमा छन् । भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले एमालेका महेश बस्नेत पराजित गर्ने गरी अघि बढेका छन् ।