घण्टीको पक्षमा अभूतपूर्व जनमत !, एमसीसी काण्डमा डुब्यो गठबन्धन
काठमाडौं । आज अपरान्ह ५ बजे सम्पन्न (लगभग) भएको आम निर्वाचन २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व जनमत प्राप्त गरेको प्रारम्भिक विश्लेषणबाट देखिएको छ । बीमापोष्ट टिमले जिल्ला तहका विभिन्न व्यक्तिसँगको समन्वयमा गरेको अध्ययनमा राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक तर्फ तेस्रो हुने निश्चित देखिएको छ । उक्त दलले प्राप्त गरेको अभूतपूर्व सफलतासँग भ्रष्टाचार विरोधी एजेण्डा र श्रमका लागि विदेश जान रोकिने मुख्य दुई एजेण्डा थिए ।
आज सम्पन्न भएको निर्वाचनमा सत्ता गठबन्धन माओवादी र कांग्रेसको गठबन्धन असफल हुनुमा एसीसीलाई मुख्य रुपमा जिम्मेवारी ठानिएको छ । विवादित एसीसी परियोजना पास गरेको कारण १० वर्ष जनयुद्ध लडेर आएको पार्टी नराम्रो पराजय व्यहोर्न बाध्य भएको छ भने नेपाली कांग्रेसले समेत समानुपातिकमा निकै कम भोट पाउने प्रारम्भिक रुपमा गरिएको विश्लेषणले औल्याएको छ ।
बीमापोष्टले बाँके, बर्दिया, सर्खेत, धनगढी, धादिङ, ललितपुर, मकवानपुर, बारा, पर्सा, रौतहट, सप्तरी, जनकपुर, झापा, सुनसरी, मोरङ, सिन्धुली, रामेछाप, ओखलढुङ्गा लगायतका क्षेत्रलाई आधार मानेर संकलन गरिको तथ्याङ्कले राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा अभूतपूर्व जनमत देखिएको हो । यद्यपि उक्त जनमत समानुपातिकमा बढि रहेको छ भने प्रत्यक्षतर्फ कम रहेको छ ।
रोचक तथ्य के फेला परेको छ भने हिमाल, पहाड र तराई मध्ये तराईमा घण्टीको पक्षमा झनै राम्रो जनलहर भेटिएको छ । तराईमा घण्टी र जनमत पार्टीको पक्षमा धेरै भोट खसेको प्राप्त तथ्याङ्कले देखाएको छ भने अन्य शहरी क्षेत्रमा प्रत्यक्षमा परम्परागत पार्टीहरुका बीचमा निकै प्रतिस्पर्धा हुने देखिएको छ ।
आजै साँझ सम्पन्न भएको निर्वाचन आजै रातिबाट मत गणना सुरु हुनेछ । भोलि विहानबाट प्रारम्भिक नतिजा नतिजा आउन थाल्नेछ । आज सम्पन्न भएको निर्वाचनमा घण्टीले देशव्यापी महोल बनाएपछि कतिपय माओवादी नेता कार्यकर्ताहरुले नै घण्टी बजाएको भन्दै स्टाटस राखेका छन् ।
सत्ता गठबन्धनले गरेको चरम भ्रष्टाचारका कारण जनता निराश देखिएर मतदान गर्नै नआएको हालसम्मकै न्यून मत खसेको तथ्यबाट स्पष्ट हुन आएको छ । त्यस्तै, अमेरिकी सहयोग परियोजना एमसीसी पास गरेर राष्ट्रघात गर्ने कांग्रेस–माओवादीको गठबन्धनलाई जनताले नराम्रोसँग सबक सिकाई दिएका छन् । २०६४ सालमा सम्पन्न भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीको पक्षमा झै यस पटक घण्टीको पक्षमा जनमत देखिएपछि सत्ताधारी तथा एमाले सम्बद्ध राजनीतिक विश्लेषक तथा पत्रकारहरुले समेत घण्टीको पक्षमा जनमत गएको र यसको जिम्मेवार दलहरुले नै लिनुपर्ने तर्क अघि सारेका छन् ।
देशव्यापी रुपमा घण्टीको पक्षमा जनमत देखिएपछि नेपालको राजनीति नयाँ मोडमा पुग्ने चर्चा समेत हुन थालेको छ । यद्यपि उक्त कुरा राष्ट्रिय स्वतन्त्र पार्टी आगामी दिनमा सरकारमा सहभागी हुन्छ वा हुँदैन ? भन्ने कुरामा निर्भर गर्दछ ।