निर्जीवन बीमा कम्पनीहरुले लगानी ५४ अर्ब माथि, ८१ प्रतिशत रकम मुद्धतीमा निक्षेपमा, शेयर बजारमा कति ?

राजन कठायत
४ मंसिर २०७९, आईतवार १५:४७

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले कुल ५४ अर्ब २० करोड रुपैयाँ बैंक तथा विविध क्षेत्रमा लगानी गरेका छन् । हाल संचालनमा रहेका १९ वटा निर्जीवन बीमा कम्पनीहरुले प्रथम त्रैमासको अवधिसम्ममा ५४ अर्ब २० करोड १९ लाख रुपैयाँ लगानी गरेका हुन् ।

बीमा कम्पनीहरुले कुल लगानी मध्ये ८१ प्रतिशत अर्थात ४३ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ राष्ट्र बैंकबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका छन् ।
’क’ वर्गको वाणिज्य बैंकमा ३७ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ, ’ख’ वर्गको विकास बैंकमा ५ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ र ’ग’ वर्गको फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ९४ करोड ३३ लाख रुपैयाँ गरी सो बराबरको रकम लागनी गरेका हुन् ।

यस्तै कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा कुल लगानीको ०.५६ प्रतिशत अर्थात ३० करोड ६९ लाख रुपैयाँ र अन्य लगानी अन्तर्गत ५.६१ प्रतिशत अर्थात ३ अर्ब ३४ करोड ८२ लाख रुपैयाँ लगानी गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुको कुल लगानी भएको रकम मध्ये ६ अर्ब ९७ करोड ३० लाख रुपैयाँ शेयर बजारमा भित्रिएको छ । बीमा कम्पनीहरुले गरेको कुल लगानी ५४ अर्ब २० करोड १९ लाख रुपैयाँको यो १२.६९ प्रतिशत मात्रै हो ।

निर्जीवन बीमा कम्पनीहरुले सूचीृकत पब्लिक कम्पनीको साधारण शेयरमा २ अर्ब ८० करोड २१ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको डिबेन्चर एक अर्ब ७३ करोड ४४ लाख रुपैयाँ, सरकारको बचतपत्र २९ करोड ३ लाख रुपैयाँ, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ५८ करोड २२ लाख रुपैयाँ र ’क’, ’ख’, ’ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्रमा १ अर्ब ५६ करोड ३९ लाख गरी शेयर बजारमा सो बराबरको रकम लगानी गरेका हुन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले ५४ अर्ब २० करोड १९ लाख रुपैयाँ लगानी गरेका भएपनि घरजग्गा तथा पूर्वाधार विकास बैंकको निक्षेपमा भने लगानी गरेका छैनन् ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिका अनुसार बीमा कम्पनीहरुले कुल टेक्निकल रिजर्भको २० प्रतिशत डिबेञ्चरमा, २० प्रतिशत कृषि, पर्यटन र जलस्रोत वा ऋणपत्रमा, ५ प्रतिशत नागरिक लगानी कोष र म्यूचुअल फण्डमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

बीमा समितिले कृषि तथा पर्यटन र जलस्रोतमा लगानी गर्न प्रोत्साहित गरे पनि बीमा कम्पनीहरु आकर्षित हुन सकेका छैनन् । नेपालमा लगानीको उपयुक्त वातावरण नभएको, बीमाबाट सिर्जना भएको ठूलो पुँजिले आम जनताको जीवनको जोखिमसँग सम्बन्धित रहेकोले जहाँपायो त्यही लगानी गर्न नमिल्ने व्यवस्थाका कारण कम्पनीहरुले क बर्गको बाणिज्य बैंकको मुद्दति निक्षेप नै पहिलो रोजाई बन्ने गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*