आम निर्वाचनको अन्तिम तयारी पूरा, भोलि विहान ७ बजेदेखि ५ बजेसम्म मतदान

३ मंसिर २०७९, शनिबार १८:५६

काठमाडौं । निर्वाचन आयोग नेपालले भोलि मंसिर ४ गते हुने आम निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन् ।

आयोगमा आज आयोजित पत्रकार सम्मेलनमार्फत् उनले संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत् शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले वैधता र सुनिश्चितता प्रदान गर्ने भएकाले आफ्नो मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट शुरू भएको प्रचारप्रसार निषेधको अवधिमा कानून पालनामा आयोगले विशेष सजगता अपनाएको बताए । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदानकार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट सूक्ष्म अनुगमन भइरहेको उनको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवम् परिचालित हुने वातावरण बनाउन दृढ सङ्कल्पित रहेकाले सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ मा विश्वास व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*