१८ निर्जिवन बीमा कम्पनीले व्यवस्थापनमा खर्चिए एक अर्ब ३८ करोड, कुनको कति ? (तथ्याङ्कसहित)
काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले व्यवस्थापनमा कुल एक अर्ब ३८ करोड ८० लाख ९२ हजार रुपैयाँ खर्चिएका छन् । निर्जिवन बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विववरणअनुसार गत आवको तुलनामा कम्पनीहरुको व्यवस्थापन खर्च १७.७५ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको यसै अवधिसम्म निर्जिवन बीमा कम्पनीहरुले एक अर्ब १७ करोड ८७ लाख ९८ हजार रुपैयाँ व्यवस्थापनमा खर्चिएका थिए ।
चालु आर्थिक वर्ष २०७९।८० को तीन महिनासम्ममा सबैभन्दा बढी व्यवस्थापन खर्च बढ्ने कम्पनीमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीको गत आवको तुलनामा यस आवमा व्यवस्थापन खर्च मात्रै ७५.४० प्रतिशत बढेर ४ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्म कम्पनीले व्यवस्थापनमा जम्मा २ करोड ८० लाख रुपैयाँ मात्रै खर्चेको थियो ।
त्यस्तै, निर्जिवन बीमा ब्यवसायमा उल्लेख्य विस्तारसँगै अजोड इन्स्योरेन्सले पनि सो अवधिसम्म व्यवस्थापन खर्च बढाएको छ । कम्पनीले गत आवको तुलनामा व्यवस्थापनमा ४७.२४ प्रतिशत बढीले व्यवस्थापनमा खर्चेको छ । यस अवधिसम्म कम्पनीले ७ करोड ८५ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएको छ । गत आवको यसै अवधिसम्म कम्पनीले व्यवस्थानमा जम्मा ५ करोड ३३ लाख रुपैयाँ मात्रै खर्चेको थियो ।
यता गत आर्थिक वर्षमा ८ करोड ९० लाख रुपैयाँ मात्रै व्यवस्थापन खर्च सीमित राखेको नेको इन्स्योरेन्सको पनि चालु आवको तीन महिनामा यस्तो खर्च ४२.३२ प्रतिशत बढेर १२ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, प्रिमियर इन्स्योरेन्सको ३५.८३ प्रतिशतले बढेर ७ करोड १७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको ३०.१८ प्रतिशत बढेर ६ करोड ५३ लाख, शिखर इन्स्योरेन्सको २२.४८ प्रतिशतले बढेर ११ करोड ४१ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको २०.४४ प्रतिशत बढेर ६ करोड ५४ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १७.५७ प्रतिशत बढेर १२ करोड ६८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १७.४० प्रतिशत बढेर ९ करोड ५ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सको १६.६२ प्रतिशत बढेर १० करोड १५ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको ७.१९ प्रतिशत बढेर ७ करोड २० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ६.४९ प्रतिशत बढेर ७ करोड १० लाख रुपैयाँ, जिआइसीको ९.४४ प्रतिशत बढेर ५करोड ३६ लाख, प्रुडेन्सियल इन्स्योरेन्सको ०.७२ प्रतिशत बढेर ५ करोड ४७ लाख र सगरमाथा इन्स्योरेन्सको १.५५ प्रतिशत बढेर ८ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
व्यवस्थापन खर्च घटाउने कम्पनी
चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा व्यवस्थापन खर्च घटाउनेमा दुईवटा कम्पनी मात्रै रहेका छन् । १८ निर्जिवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी र ओरियन्टल इन्स्योरेन्सको मात्रै व्यवस्थापन खर्च घटेको छ ।
सो अवधिसम्म राष्ट्रिय बीमा कम्पनीको व्यवस्थापन खर्च १७.५३ प्रतिशतले घटेर ५ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ भने ओरियन्टल इन्स्योरेन्सको १.३२ प्रतिशतले घटेर ३ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ ।
१८ निर्जिवन बीमा कम्पनीले असोज मसान्तसम्म व्यवस्थापनमा खर्चिएको रकम :