बीमा क्षेत्रमै पहिलो मर्जर गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको वित्तीय विवरण निराशाजनक, व्यवसाय र नाफा दुवै घट्यो

३० कार्तिक २०७९, बुधबार १४:५२

काठमाडौं । बीमा क्षेत्रकै पहिलो मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय विवरणमा खासै उत्साह देखिएको छैन ।

मर्जरपछि कम्पनीले कर्मचारीको सही व्यवस्थापन गर्न नसक्दा व्यवसायमा उत्साह आउन नसकेको हो । अप्ठेरो अवस्थाबाट लयमा फर्कदै गरेका एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले मर्जरपछि खासै नतिजामुखी व्यवसाय गर्न नसकेपछि मर्जरमा रहेका कम्पनीहरु समेत सशंकित हुन पुगेका छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले जम्मा ७३ करोड २५ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा कूल बीमा शुल्क ४.२४ प्रतिशतले घटेको छ । त्यस्तै, त्यस्तै खुद बीमा शुल्क आम्दानी समेत घटेर २२ करोडमा झरेको छ । अघिल्लो वर्ष खुद बीमा शुल्क आम्दानी २४ करोड १० लाख ४८ हजार थियो ।

त्यस्तै कम्पनीको मुनाफा ३४.५७ प्रतिशतले घटेर पाँच करोड ७९ लाखबाट तीन करोड ७८ लाख रुपैयाँमा झरेको छ । कम्पनीको कर्जा लगानी तथा अन्य लगानीबाट प्राप्त आम्दानी समेत घटेको छ । बैंकहरुमा ब्याजदर उच्च हुँदा समेत लगानीबाट प्राप्त आम्दानी घट्नुलाई सामान्य रुपमा लिन सकिदैन । त्यस्तै, कम्पनीको व्यवस्थापन खर्च १७.५७ प्रतिशतले बृद्धि भएर १२ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको खुद दावी भुक्तानी ३८.८३ प्रतिशतले घटेको छ । कम्पनीले गत आवमा १० करोड ६० लाख २२ हजार रुपैयाँ तीन महिनाको अवधीमा भुक्तानी गरेकोमा चालु आवको तीन महिनामा छ करोड ४८ लाख ५४ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीहरुले जोखिमयुक्त बीमा व्यवसाय लिन छोडेकोले दावी भुक्तानी घटेको हो ।

कूल चुक्ता पुँजि दुई अर्ब २३ करोड ९९ लाख ३७ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ६.८६ रुपैयाँ, प्रतिशेयर कूल सम्पत्तिको मूल्य २६५.५१ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १७८.०६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*