नेशनल लाइफ इन्स्योरेन्सको व्यवसाय २१ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ५३ अर्ब संचिती, मुनाफा ३५% ले बृद्धि
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तीन महिनाको अवधीमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोषको आकार ५३ अर्बभन्दा माथि बनाउन सफल भएको छ भने कम्पनीको मुनाफामा उल्लेख्य सुधाई ११ करोड पुर्याउन सफल भएको छ ।
आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषको आकार १९.७८ प्रतिशतले बृद्धि गरी ५३ अर्ब ७७ करोड छ लाख १३ हजार ३८१ रुपैयाँको बनाउन सफल भएको छ । कम्पनीको व्यवसायमा आएको बृद्धि र लगानीबाट प्राप्त आम्दानीले यस्तो बृद्धि सम्भव भएको हो । महाविपत्ति कोष र जगेडा कोष सहित कूल कोषको आकार ५४ अर्ब ९० करोडभन्दा बढि पुगेको छ । कम्पनीको समग्र कोषको आकार १९ प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कोषका लागि सबैभन्दा महत्वपूर्ण भनेको जीवन बीमा कोष हो ।
कम्पनीको व्यवसाय २१.२५ प्रतिशतले बृद्धि भएको तथ्याङ्कमा देखिएको छ । गत आवको यसै अवधीमा तीन अर्ब ४४ करोड रुपैयाँ व्यवसाय गरेको कम्पनीले यस आवको तीन महिनामा चार अर्ब १८ करोड १० लाख ६० हजार ४३८ रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।
त्यस्तै, कम्पनीको खुद दावी भुक्तानी ५६ प्रतिशतले बृद्धि भएको छ । गत आवको तुलनामा कम्पनीको खुद दावी भुक्तानी बढेको हो । कम्पनीको खुद दावी भुक्तानी एक अर्ब ३५ करोड ५२ लाखबाट बढेर दुई अर्ब ११ करोड ९९ लाख नाघेको छ ।
कम्पनीले लगानी, कर्जा तथा अन्य र बीमालेख धितो कर्जाबाट प्राप्त आम्दानी ७.१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवको यसै अवधीमा एक अर्ब नौ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आवमा बृद्धि भई एक अर्ब १७ करोड ५९ लाख पुगेको छ ।
त्यस्तै कम्पनीको व्यवस्थापन खर्च घटेको छ । गत आवको तीन महिने अवधीमा २७ करोड ८० लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको तीन महिने अवधीमा २७ करोड ४३ लाख यस्तो खर्च गरेको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुलाई दिने कमिशनमा १०.१८ प्रतिशतलेबृद्धि भएको छ । कम्पनीले समीक्षा अवधीमा ४१ करोड ८४ लाख ५७ हजार १२६ रुपैयाँ आफ्ना अभिकर्ताहरुलाई कमिशन बापत वितरण गरेको छ ।
कम्पनीको खुद नाफामा व्यापक सुधार आएको छ । पहिलो त्रैमासमा कम्पनीको मुनाफा ३५.०१ प्रतिशतले बृद्धि भई आठ करोड ६७ लाखबाट बढेर ११ करोड ७१ लाख आठ हजार ९१२ रुपैयाँ पुगेको छ । नाफामा आएको सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा ११.६१ रुपैयाँ पुगेको छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य १५७०.२१ पुगेको छ । प्रतिशेय नेटवर्थ १२८.०९ रुपैयाँ रहेको छ ।
कम्पनीको बीमा पोलिसीमा उल्लेख्य बृद्धि भएको छ । गत आवको यसै अवधीसम्म नौ लाख ७० हजार ४९४ वटा बीमा पोलिसी कायम रहेकोमा चालु आवको तीन महिनाको अवधीसम्म आईपुग्दा बृद्धि भई १६ लाख ६९ हजार ६२८ पुगेको छ ।