पहिलो त्रैमासमा नेपाल लाइफको प्रगति, मुनाफा १७ करोड, १४२ अर्बको शक्तिशाली जीवन बीमा कोष, यस्तो छ अन्य सूचांंक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तीन महिनामा १७ करोड भन्दा बढि मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवमा घाटामा देखिएको कम्पनीले चालु आवको पहिलो त्रैमासमा १७ करोड मुनाफा आर्जन गर्न सफल भएको हो । बीमा प्राधिकरणले फ्युचर बोनसका लागि प्रोभजनिङ गर्नुपर्ने व्यवस्था लागू गरेका कारण मुनाफा प्रभावित भएको कम्पनीकोको चालु आवमा मुनाफामा देखिएको हो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुुनसक्नेछ ।
नेपालकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले जीवन बीमा कोषमा एक खर्ब ४१ अर्ब रुपैयाँ संचिती गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोष १९.६४ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै जगेडा कोष र महाविपत्ति कोष सहित नेपाल लाइफको कोषमा एक खर्ब ४४ अर्ब ९० करोड ९१ लाख आठ हजार ८४७ रुपैयाँ संचिती भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आवको तीन महिने अवधीमा कम्पनीको खुद बीमा शुल्क आम्दानी २ प्रतिशतले बृद्धि भई नौ अर्ब ७४ करोडबाट बढेर नौ अर्ब ९३ करोड ९६ लाख सात हजार ३५७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको दावी भुक्तानी सामान्य अंकले बढेर चार अर्ब २६ करोड १२ लाख ३५ हजारबाट बढेर चार अर्ब ३५ करोड ६१ लाख २३ हजार ८६४ रुपैयाँ पुगेको छ ।
कम्पनीको कर्जा लगानी, बीमालेख धितामा कर्जा, अन्य लगानीबाट प्राप्त कूल आम्दानी ३२ प्रतिशतले बृद्धि भएको छ । गत आवको तीन महिने अवधीमा तीन अर्ब १० करोड २४ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आवको समीक्षा अवधीमा कम्पनीले उल्लेख्य बृद्धि गरी चार अर्ब आठ करोड ६० लाख एक हजार ८४४ रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
त्यस्तै, कम्पनीबाट बीमा अभिकर्ताले पाउँदै आएको कमिशन भारीमा मात्रामा घटेको छ । गत आवको तीन महिनामा तीन अर्ब ५२ करोड रुपैयाँ अभिकर्तालाई कमिशन वितरण गरेको कम्पनीले चालु आवको तीन महिनामा ८३ करोड १५ लाख ५२ हजार ७९३ रुपैयाँ वितरण गरेको छ ।
कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या १४ लाख २५ हजार ३८३ वटा रहेको छ । मुनाफा बढेको कारण कम्पनीको प्रतिशेयर आम्दानी ८.५६ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ १३४.३९ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १९४० रुपैयाँ रहेको छ ।