सूर्या लाइफको जीवन बीमा कोषमा झण्डै १५ अर्ब, ८२% ले बढ्यो मुनाफा, आम्दानी सहितका अन्य सूचांकमा यस्तो प्रगति

२८ कार्तिक २०७९, सोमबार ०७:२९

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार सूर्या लाइफले व्यवसायमा उछाल आउने गरी अघि बढेको देखिएको छ । कम्पनीको जीवन बीमा कोष २९.६५ प्रतिशतले बृद्धि भएको छ भने मुनाफा ८२.५४ प्रतिशतले बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब ९२ करोड ५६ लाख ५१ हजार रुपैयाँ संचिती रहेको छ । गत आवको यसै अवधीमा ११ अर्ब ५१ अर्ब रुपैयाँ रहेको जीवन बीमा कोषको आकार करिब १५ अर्ब पुर्याउन सफल भएको छ । कम्पनीले जगेडा कोष, महाविपत्ति कोषसहित कूल कोषको आकार १५ अर्ब ८१ करोड नाघेको छ ।

त्यस्तै कम्पनीको व्यवसाय बढेको छ । गत आवको तुलनामा खुद बीमा शुल्क आम्दानी १३ प्रतिशतले बृद्धि भई एक अर्ब २६ करोड ४९ लाख ५२ हजार रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीले एक अर्ब ११ करोड रुपैयाँ यस्तो शुल्क आम्दानी गरेको थियो । त्यस्तै, व्यवस्थापन खर्च ३०.४२ प्रतिशतले बृद्धि भई ११ करोड ३९ लाखबाट १४ करोड ८५ लाख पुगेको छ ।

कम्पनीको आम्दानी २३ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधीमा कर्जा लगानी, लगानी, बीमालेख धितोमा लगानीबापत कूल ३३ करोड ६५ लाख आम्दानी गरेकोमा यस आवको तीन महिनामा उल्लेख्य बृद्धि भभ्ई ४१ करोड ४९ लाख सात हजार पुगेको हो ।

कम्पनीले आफ्ना अभिकर्तालाई दिने कमिशनमा गिरावट आएको छ । गत आवको तीन महिने अवधीमा १३ करोड रुपैयाँ वितरण गरेकोमा चालु आवको तीन महिनामा ११ करोड ८१ लाख ५१ हजारमा सीमित हुन पुगेको छ ।

 

कम्पनीको खुद नाफामा उछाल आएको छ । गत आवको तीन महिने अवधीमा जम्मा ११ करोड ३५ लाख रुपैयाँ कमाएको कम्पनीले चालु आवको तीन महिनामा २० करोड ७३ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीमा हालसम्म कायम बीमापोलिसी संख्या सामान्य बृद्धि भई तीन लाख ८९ हजारबाट चार लाख नौ हजार ५९३ पुगेको छ ।
त्यस्तै, प्रतिशेयर आम्दानी बढेर ३२.५२ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात ११.९० छ भने प्रतिशेयर नेटवर्थ १२६.२२ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ७४३.४३ रुपैयाँ रहेको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आजै बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आजै ज्योति लाइफसँगको मर्जरको अन्तिम सम्झौता बार्षिक साधारणसभाबाट पारित गर्दैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*