पैसा बाँड्ने उम्मेदवारलाई ठाउँको ठाउँ कारबाही गर्न निर्देशन
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुनै दल र उम्मेदवारले मतदातालाई प्रभावित पार्न नगद वा जिन्सी सामान दिएको पाइएमा ठाउँको ठाउँ कारबाही गर्न निर्देशन दिएका छन् ।
चितवनमा नेपाल प्रहरी शिक्षालयका अधिकृतलाई उनले भने, ‘मतदान केन्द्रमा सही मतदाता आएका छन् या अवरोध गर्ने तत्वहरू आएका छन्, त्यसको सूक्ष्म विश्लेषण गर्नुस् । केन्द्रभन्दा बाहिरको वातावरण र सुरक्षाबारे फैलन सक्ने भ्रम चिरेर ढुक्कले मतदानमा सहभागी हुन सकिन्छ भन्ने सन्देश आम मतदातालाई सुरक्षाको प्रत्याभूति गराउनुस् ।’
मतदाता, मतपेटिका र मतगणना कार्यको सुरक्षा गरेर निर्वाचनको निष्ठा जोगाउने कार्यमा सघाउन प्रहरीलाई उनले आग्रह गरे । ‘मतपत्र र मतपेटिकामा कसैले छड्के आँखा लगाएमा, सम्झनुस्, त्यो तपार्ईँका विरुद्धको कुदृष्टि हो, त्यसलाई ठाउँको ठाउँ कारबाही गर्नुस् ।’