नयाँ बीमा प्राधिकरणका अध्यक्ष सिलवालको सन्देशः कटपेष्ट पोलिसी निषेध, पुरस्कार–दण्ड सजाय र काम गर्न नसक्नेको पोर्टफोलियो रोक्का
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कपिपेष्ट बीमा पोलिसी ल्याएर बीमा बजारमा व्यवसाय गर्ने प्रवृत्ति रोक्ने स्पष्ट पारेको छ । हिजोबाट अस्तित्वमा आएको बीमा प्राधिकरणको औपचारिक रुपमा सुरुवात गर्दै अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले नयाँ बीमा पोलिसी जारी गर्न अनिवार्य गरिने बताए ।
अध्यक्ष सिलवालले भने, ‘अबको कम्पनीले कटपेष्ट गरेर बीमाको पोलिसी ल्याउने होइन, कम्तीमा एउटा बीमा पोलिसी ल्याउनैपर्छ । त्यसको अर्थ बीमा कम्पनीहरु इन्नोभेशनमा जाुनपर्छ र लगानी गरेर रिसर्च गर्नुपर्दछ ।’ अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले आफू बीमा कम्पनी भएको पुष्टि गर्न पनि नयाँ बीमा पोलिसी जारी गर्न सक्नुपर्ने बताउँदै नयाँ बीमा पोलिसी डिजाइन गर्ने कम्पनीहरुको पनि छुट्टै मूल्याङ्कन हुने बताए ।
पुरस्कृत तथा दण्डितको व्यवस्था
अध्यक्ष सिलवालले कम्पनीहरुलाई पुरस्कार र दण्ड दिँदा नयाँ पोलिसीलाई समेत आधार मानिने बताएका छन् । बीमा प्राधिकरणले बीमा कम्पनीहरुले राम्रो काम गरेको क्षेत्रमा पुरस्कृत समेत गर्ने नीति अघि बढाउने जनाएको छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्दै प्रोत्साहन गर्ने नीति अघि बढाइनेछ भने गडबढ गर्नेलाई दण्डित पनि गरिनेछ ।
सूचना प्रविधिमा आधारित नियम
नयाँ बनेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमा प्राधिकरणले जथाभावी नियमनग नगर्ने स्पष्ट पार्दै नयाँ कानुन अनुसार बीमा प्राधिकरण समेत जवाफदेही बन्ने स्पष्ट पारेका छन् । बीमा प्राधिकरणमा आयोजित कार्यक्रममा सिलवालले भने, ‘प्राधिकरण भनेको नै प्राधिकार प्राप्त निकाय हो । हामीले यसको अभ्यास अराजक भएर गर्दैनौं । हामीले अब सूचना प्रविधिमा आधारित भएर नियमन गछौ ।’
स्वायत्तता र सरकारी हस्तक्षेप
अध्यक्ष सिलवालले नयाँ ऐन अनुसार बीमा प्राधिकरणलाई सरकारले विगतमा जस्तो जथाभावी निर्देशन दिन नसक्ने बताउँदै अब स्वायत्त भएर नियमन हुने बताए । उनले भने ‘विगतमा जस्तो सरकारले निर्देशन दिन सक्दैन । दुर्ई वटा कुरमामा मात्रै निर्देशन दिन सक्छ । एउटा बीमाको बजार व्यवस्थापन, अर्को कुनै समस्याको समाधानमा केही लागेको छ भने सरकारले निर्देशन दिन सक्छ । यही हो स्वायत्तता ।’
बीमा सूचना केन्द्र स्थापना र सूचना प्रविधिमा लगानी बृद्धि
बीमा प्राधिकरणले आगामी केही वर्ष ठूलो मात्रामा सूचना प्रविधिमा लगानी गर्ने स्पष्ट पारेको छ । अध्यक्ष सिलवालले बीमा सूचना केन्द्र स्थापना गरेर अघि बढ्ने बताए ।
अध्यक्ष सिलवालले आगामी दिनमा बीमा प्राधिकरणमा सूचना प्रविधिमा लगानी बृद्धि गर्न आश्वक रहेको बताए । क्षमता अभिबृद्धि, सूचना प्रविधि सम्बन्धी लगानी आवश्यक रहेको बताए । बीमा प्राधिकरणलाई डिजिटाईज्ड गरेर अत्याधुनिक र सुविधा सम्पन्न बनाउन आवश्यक रहेको बताए ।
दावी भुक्तानीका कर्मचारी, बीमा सर्भेयर सबै जिम्मेवार
भर्खरै अस्तित्वमा आएको नयाँ प्राधिकरणले दावी भुक्तानीलाई मुख्य रुपमा ध्यान दिएर बीमितको हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ । बीमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमक कम्पनीको दावी भुक्तानीमा काम गर्ने कर्मचारी, बीमा सर्भेयर सबैले आफ्नो दायित्व पूरा नगरे कारवाहीको भागिदार हुने बताए । अध्यक्ष सिलवालले स्पष्ट शब्दमा उल्लेख त गरेनन् तर नयाँ ऐन कार्यान्वयनको क्रममा दावी भुक्तानीमा शून्य सहनशिलता अपनाउने सन्देश बीमा कम्पनीहरुलाई दिएका छन् ।
अध्यक्ष सिलवालका अनुसार अब बीमा कम्पनी मात्रै नभएर दावी भुक्तानीमा ढिलाई गर्ने को हो ? बीमा कर्मचारी हो कि ? सर्भेयर हो कि को हो ? कारवाहीको भागिदार हुन्छ । अर्को कुरा बीमितले पनि आफ्नो हुँदै नभएको क्षति दावी गर्न पाउदैन । त्यसरी हुँदै नभएको क्षति दावी गरेको पाइएमा बीमितमाथि पनि कारवाही हुने व्यवस्था नयाँ ऐनले गरेकोले दावी भुक्तानी विभागहरुको नयाँ ऐनमा ध्यान जानु आवश्यक भएको अध्यक्ष सिलवालले बताए ।
काम गर्न नसक्नेको पोर्टफोलियो हटाउने व्यवस्था
बीमा प्राधिकरणले काम गर्न नसक्ने कम्पनीको पोर्टफोलियो हटाउन सक्ने व्यवस्था नयाँ ऐनमा भएकोले स्मरण गराउँदै काम गर्नै नसक्ने कम्पनीहरुलाई पोर्टफोलियो दिइरहन आवश्यक नभएको जनाएको छ । अध्यक्ष सिलवालले भने, ‘कम्पनीहरुले सक्ने पोर्टफोलियो लिएर जानुपर्छ । सक्दै नसक्ने पोर्टफोलियो बनाएर किन लैजानु ?’
https://www.facebook.com/watch?v=806403387113008