सानिमा जिआईसी इन्स्योरेन्सको सल्लाहकारमा लामिछाने र गौतम नियुक्त
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा दुई जना सल्लाहकार नियुक्त भएका छन् । कम्पनीको यही कार्तिक २१ गते बसेको सञ्चालक समितिकोे बैठकमा दुवै जना सल्लाहकारहरुले भाग लिएका छन् ।
कम्पनीले मर्जरअघि सानिमा जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष खेमराज लामिछानेलाई सल्लाहकारमा नियुक्त गरेको छ ।
त्यसैगरी, कुमारी बैंकको प्रतिनिधित्व हुने गरी सरस्वती गौतम ज्ञवालीलाई सल्लाहकारमा नियुक्त गरिएको छ । दुवै जना सञ्चालकले भत्ता पाउनेछन् ।
सानिमा जिआईसी इन्स्योरेन्सले यही कार्तिक ७ गतेबाट एकीकृत कारोबार सुरु गरेको थियो । एकीकृत कारोबारपछि कम्पनीले निर्जीवन बीमा व्यवसायमा अझै दरिलो उपस्थिति जनाउने विश्वास लिइएको छ । सानिमा जिआईसी इन्स्योरेन्स नेपाली निर्जीवन बीमा क्षेत्रको दोस्रो मर्जर हो ।