निर्वाचनमा हेटौडाबासीले खोजे विमानस्थलको एजेण्डा, एमालेभित्र छलफल सुरु

१२ कार्तिक २०७९, शनिबार १७:२१

काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा हेटौडाबासीले विमानस्थलको एजेण्डाबारे दलहरुको प्रतिबद्धता खोज्न थालेका छन् । यही सन्दर्भमा नेकपा एमालेभित्र छलफल सुरु भएको छ ।
प्रदेश राजधानी तथा यसअघि नारायणी अञ्चल सदरमुकाम भएर पनि हेटौडामा एउटा पनि विमानस्थल छैन । आफ्नै विमानस्थल नहुँदा बिरामी पर्दा तथा हतारोमा गरिने हवाई यात्राको लागि बाराको सिमरा तथा चितवनको भरतपुर पुग्नुपर्ने बाध्यता छ ।

राजधानी काठमाडौंबाट नजिकै तर सधैं कष्टपूर्ण यात्रा व्यहोर्न बाध्य हुँदै आएका हेटौडाबासीहरुले यस पटकको निर्वाचनमा दलहरुलाई विमानस्थलको एजेण्डा लिएर अघि बढ्न आह्वान गर्न थालेका छन् । सामाजिक अभियान्ता तथा पत्रकारहरुले हेटौडामा विमानस्थलबारे चासो दिन दलहरुलाई अपिल गरिरहेका छन् । विमानस्थल नहुँदा उद्धार, राहत वितरणमा मात्रै समस्या भएको छैन दैनिक रुपमा ३९ किमी सडक यात्रा गरी सिमरा पुगेर मात्रै जहाज यात्रा गर्न बाध्य हुँदै आएका छन् ।

नेपालका सबै प्रदेश राजधानीमा विमानस्थल रहेको छ । तर, बागमति प्रदेशको राजधानी हैटौडामा आन्तरिक विमानस्थल समेत छैन । जहाजमार्फत् राजधानी काठमाडौं वा देशको अन्य शहरहरुमा जानु पर्दा ३९ किमीको दुरीमा रहेको बाराको सिमरा वा ७२ किमीको दुरीमा रहेको भरतपुर पुग्नुपर्ने बाध्यता छ । अथवा चार घण्टाको दुरी सडक यात्रामार्फत् काठमाडौं नै पुग्नुपर्ने अवस्था विद्यमान छ ।

बिरामी पर्दा वा आपतकालिन उद्धार तथा राहतमा विमानस्थलको अभावमा महंगो शुल्क तिरेर हेलिकोप्टर चार्टर्ड गर्नु मकवानपुरबासीको नियती बनिरहेको सन्दर्भमा मकवानपुरबासीले सबै राजनीतिक पार्टीहरुलाई विमानस्थलको एजेण्डा अघि बढाउन आह्वान गरेका छन् ।

विमानस्थलबारे जनताले चासो दिन थालेपछि एमालेभित्र अनौपचारिक रुपमा छलफल सुरु भएको अर्थसमितिका सभापति तथा एमालेको तर्फबाट प्रतिनिधिसभाका सांसद कृष्ण प्रसाद दाहालले बताए । उनले भने, ‘यसअघि हामीले पहल पनि गरेको हो, अबका दिनमा पनि थप पहल गरेर अघि बढ्नुपर्दछ ।’ नेता दाहालले प्रेदश राजधानी भएकोले हटौडामा एउटा विमानस्थल नभई नभएको तर विस्तारै स्थान अभाव हुँदै गएर कठिन बन्दै गएको बताए ।

हेटौडामा विमानस्थलको आवश्यकताबारे सबै दलहरुले स्वीकार गरेपनि चुनावी एजेण्डा भने बनाइसकेका छैनन् । यद्यपि हेटौडाको कुन क्षेत्रमा विमानस्थल बनाउने भन्ने अर्को समस्या छ । बस्तीपुर, मयुरधाप पदमपोखरी, हटिया आदि ठाउँ मध्ये उपयुक्त स्थान हेरेर विमानस्थल बनाउनुपर्ने बाध्यता छ । हेटौडाको हटियामा रहेको शिवम् सिमेन्टका कारण विमानस्थल बनाए पनि प्रदुषणका कारण सञ्चलान गर्न कठिन हुने र अग्लो संरचनाका कारण कठिन हुने अर्को समस्या छ । तर, स्थानीयबासीले भने हटियामा रहेको शिवम सिमेन्टलाई हटाएरै भएपनि विमानस्थल बनाउनुपर्ने भन्दै दलहरुलाई लविङ गर्न थालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*