कार्तिक २२ गतेबाट नयाँ बीमा ऐन प्रारम्भ हुन्छ, नयाँ ऐन लागु गर्न सबै तयार रहनुस्: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले यही कार्तिक २२ गतेबाट नेपालमा नयाँ बीमा ऐन प्रारम्भव हुने भएकोले नयाँ ऐन कार्यान्वयनको तयारीमा जुट्न सबैलाई आह्वान गरेका छन् ।
अध्यक्ष सिलवालले आज काठमाडौंमा आयोजित कार्यक्रममा भने, बीमा ऐन लागू भएसँगै बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ । बीमा समितिको नाम फेरिएर बीमा प्राधिकरण बन्न लागेको उल्लेख गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले नयाँ ऐन पालना गर्न तयार रहन सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।
बीमा समिति समेत बीमा प्राधिकरणमा रुपान्तरण हुने भएकोले नयाँ परिस्थितिका लागि तयार रहन कम्पनीहरुलाई निर्देशन दिएका हुन् । अध्यक्ष सिलवालले बीमा ऐन सबै क्षेत्रको सामूहिक प्रयत्नपछि आएको बताउँदै सिंगो बीमा क्षेत्रको साझा सम्पत्तिको रुपमा नयाँ बीमा ऐनलाई लिइनुपर्ने बताए ।
अध्यक्ष सिलवालले हाल बीमा समितिले निर्देशिकामार्फत लागू गरेका कतिपय कुराहरु बीमा ऐनमा समेटिएको बताउँदै अब बीमा कम्पनीहरुले बीमा ऐनको अक्षरसः पालना गर्नुपर्ने बताए । अध्यक्ष सिलवालले भने, ‘पहिलो बीमा ऐनमा व्यवस्था नभएका कतिपय कुराहरु हामीले निर्देशिकामार्फत अघि बढाएका थियौं । निर्देशिकामा भएका कुराहरु पालना नहुँदा बीमा समिति लचिलो समेत हुने गरेको थियो होला । अब त्यस्तो हुँदैन । सबै सचेत हुनुहोला । बीमा ऐन २०७९ को कार्यान्वयन अक्षरस हुनेछ ।’