बीमा पोलिसी धितोमा ऋण लिई बैंकमा मुद्दति निक्षेप राख्ने क्रम बढ्दै, बैंकले ऋण ठप्प बनाएपछि बीमा कम्पनीमा चाप
काठमाडौं । पछिल्लो समय बैंकले अत्याधिक मात्रामा ब्याज बृद्धि गरेपछि त्यसको प्रत्यक्ष असर जीवन बीमा कम्पनीहरुमा परेको छ । जीवन बीमा कम्पनीहरुमा पछिल्लो समय बीमालेख धितोमा कर्जा लिनेहरुको संख्या ह्वात्तै बृद्धि भएको छ ।
बीमा कम्पनीहरुले बीमालेख धितोमा बार्षिक १० प्रतिशत ब्याजदरमा ऋण दिने गरेका थिए । तर, पछिल्लो समय बैंकहरुले ब्याजदर बृद्धि गरी १४ प्रतिशतसम्म दिन थालेपछि १० प्रतिशतमा बीमा कम्पनीबाट ऋण लिई बैंकमा मुद्दति निक्षेप राख्ने प्रवृत्ति बढ्दै गएको हो ।
बीमितहरुले चलाखी गर्न थालेपछि बीमा कम्पनीहरुलाई कठिन अवस्था आउन सक्ने एक बीमा कम्पनीका उच्च अधिकारीले बताए । पछिल्लो समय चार प्रतिशतसम्म बढि ब्याज पाउने भएपछि त्यस्तो क्रम बढेको हो । बीमा अभिकर्ता दीपक कुमार बरालले बैंकमा ऋण लिने अवस्था नै नरहेकोले बीमितहरुले आफ्नो समस्या समाधान गर्न बीमा कम्पनीबाट बीमा पोलिसी धितोमा कर्जा लिने क्रम बढेको बताउँछन् ।
बैंकमा धितो राख्ने प्रयोजनको तीन वर्ष पुगेका पोलिसीहरुको समर्पण मूल्य गणना गरी ऋण लिन पाईन्छ । त्यसरी ऋण लिँदा बार्षिक ब्याज तिर्नुपर्दछ । बीमाशुल्क बापत बुझाएको रकम बीमितको जोखिम बहनका साथै बचत समेत भएकोले तोकिएको अवधी अघि बचत फिर्ता गर्न नपाइने भएपनि ऋण लिन भने पाइन्छ । त्यसैले बीमा कम्पनीहरुले सोही अवसरको उपयोग गर्न थालेका छन्।
बीमा कम्पनीहरुमा ऋण लिनेहरुको संख्या बृद्धि हुन थालेपछि बीमा कम्पनीहरुले ब्याजदर बढाउन थालेका छन् । बीमा कम्पनीहरुले बैंकले मुद्दति निक्षेपमा दिने ब्याजदरसम्म नपुर्याई केही बृद्धि गर्नेबारे छलफल भइरहेको एक बीमा कम्पनीका सिईओले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बीमापोष्टलाई बताए ।